close

सामाजिक सञ्जालमा हाम्रो पार्टीबारे भ्रम फैलाइयो, यसपालि आफ्नै शक्तिमा चुनाव लड्छौँ- प्रचण्ड

टेकपाना टेकपाना

फागुन १४, २०८२ १६:१२

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा आफ्ना पार्टीबारे भ्रमपूर्ण सूचना फैलिएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जालमा आउने असत्य सूचनाले पार्टीका कार्यकर्ता र आम जनतामा अन्योल पैदा गरेको धारणा राखे ।

“अहिले सामाजिक सञ्जालमा फेक न्युजको बाढी नै आएको छ । हुँदै नभएको कुरालाई हो जस्तो बनाएर प्रचार गर्ने प्रवृत्ति बढेको छ । यसप्रति सचेत र जिम्मेवार भएर सत्य समाचार मात्र सम्प्रेषण गर्न म सबैमा अपिल गर्दछु,” प्रचण्डले भने ।

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित तालमेल तथा गठबन्धन हुन लागेको चर्चा फैलिएपछि उनले यसको खण्डन गरे । “महागठबन्धनको कुरा पूर्णतः असम्भव र नियोजित भ्रम मात्र हो,” उनले भने, “यस्तो गलत प्रचारको म कडा खण्डन गर्दछु । हाम्रो पार्टी यसपटक कसैसँग मिलेर होइन, आफ्नै शक्ति, आफ्नै एजेन्डा र आफ्नै खुट्टामा उभिएर निर्वाचनमा होमिनेछ ।”

विगतको तुलनामा अहिले सूचनाको विश्वसनीयतामा चुनौती थपिएको उल्लेख गर्दै उनले मूलधारका मिडिया र पत्रकारहरूलाई तथ्य जाँच गरेर मात्र समाचार सार्वजनिक गर्न आग्रह गरे । उनले आगामी निर्वाचनलाई केवल पदको लडाइँ नभई राष्ट्रको पक्ष र अतिवादका विरुद्धको वैचारिक संघर्षका रूपमा परिभाषित गरे ।

उनले भ्रमको पछि नलागी आफ्नै शक्ति र संगठनमा विश्वास गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १६:२८