काठमाडौँ । निर्वाचन आयोग नेपालको वेबसाइट खुल्न लामो समय लाग्ने र समय समयमा डाउन हुने समस्या देखिएको छ । वेबसाइटको मुख्य पृष्ठ, प्रतिनिधि सभा सदस्य निर्वाचनको वास्तविक नमुना मतपत्र, समानुपातिकतर्फको नमुना मतपत्र तथा मतदाता नामावली सम्बन्धी पृष्ठहरू खोल्दा ढिलो लोड हुने समस्या देखिएको हो ।
कतिपय अवस्थामा साइट नै खुल्न नसक्ने अवस्था समेत देखिएको प्रयोगकर्ताहरूको गुनासो छ । निर्वाचन नजिकिँदै जाँदा वेबसाइटमा ट्राफिक बढेकाले यस्तो समस्या देखिएको निर्वाचन आयोगका सूचना प्रविधि शाखाका प्रमुख योगेश अर्यालले बताए । उनका अनुसार मत परिणाम सार्वजनिक हुने समयमा ट्राफिक झनै बढ्ने सम्भावना रहेकाले आयोगले त्यसका लागि आवश्यक तयारी गरिरहेको छ ।
“आज (आइतबार) मात्र हामीले आईडीएमसी (एकीकृत डाटा व्यवस्थापन केन्द्र) लाई आवश्यक रिसोर्स बढाउन अनुरोध गरेका छौँ । आईडीएमसीले स्रोत बढाएपछि अहिले जस्तो साइट स्लो वा डाउन हुने समस्या समाधान हुने विश्वास छ,” उनले भने ।
निर्वाचन आयोगको वेबसाइट आईडीएमसीमा होस्टिङ हुँदै आएको छ । वेबसाइट व्यवस्थापनको काम आयोग आफैँले गर्दै आए पनि होस्टिङ पूर्वाधार भने आईडीएमसीले उपलब्ध गराउँदै आएको सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियारले जानकारी दिए ।
“आयोगबाट अनुरोध आएपछि हामी प्राविधिक समस्या के हो भन्ने विश्लेषण गर्छौँ । आवश्यक देखिएमा स्रोत विस्तार गरेर सेवा स्थिर बनाउँछौँ,” उनले भने । यस्तै निर्वाचन अवधिभर वेबसाइटको साइबर सुरक्षाका लागि साइबर सुरक्षा केन्द्र पनि स्ट्यान्डबाई अवस्थामा राखिएको उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ १४:५८
