close

बालेनको चुनावी क्षेत्रमा १२ करोड नक्कली नोट भेटिएको दाबी ‘फेक’

टेकपाना टेकपाना

फागुन १८, २०८२ १९:३८

बालेनको चुनावी क्षेत्रमा १२ करोड नक्कली नोट भेटिएको दाबी ‘फेक’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र झापा-५ बाट १२ करोड बराबरको नक्कली नोट बरामद भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएको छ । वास्तवमा, झापामा नोटको आकारमा काटिएका सादा कागजका बन्डल र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई गत १२ फागुन (२४ फेब्रुअरी) को राति प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर बालेनको चुनावी क्षेत्रबाट नक्कली नोट बरामद गरिएको भन्दै भ्रम फैलाइएको हो ।

फेसबुक पेज ‘जय माटो’ ले २७ फेब्रुअरीमा प्रहरी, भारतीय नम्बर प्लेटको गाडी, रास्वपा सभापति रवि लामिछाने र बालेन शाहको तस्बिर जोडेर तयार पारिएको एक भिडिओ पोस्ट गरेको छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, ​“पुलिस ले त कहिले झुट बोल्दैन फेरी घन्टेहरु Ai भनलान जनता ले चिनी सके के बालेन रबी दाई भोट दिदैन न् अबो दुख र मेहनत न गर अबो ?जय माटो जय देश ।”

भिडिओमा प्रहरीले पक्राउ गरिएको घटनाको बारेमा जानकारी दिँदै भनिरहेका छन्, “मिति २०८२ ११/१२ गते बेलुका १८:०० बजेको समयमा दुई ओटा भारतीय नम्बर प्लेटको सवारी साधन शङ्कास्पद रुपमा चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको अवस्थामा भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वाटर गणले चेकजाँच गर्ने क्रममा शङ्कास्पद गतिविधिदेखि तत्कालै आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गर्दा…”

भिडिओको दृश्यमा लेखिएको छ, ​ “बालेन को चुनाबी क्षेत्र मा रू १२ करोड बराबर को नक्कली नोट बरामत उक्त नोट भारतिय नागरिक र भारतिय गाडिबाट बरामत गरिएको हो ।”

यो सामग्री तयार पार्दासम्म भिडिओलाई ८२ हजारभन्दा बढी पटक हेरिएको छ भने हजारौँले प्रतिक्रिया दिएका छन् ।

यस्तै, २६ फेब्रुअरीमा ‘Pema Wangjuk Lama’ नामको फेसबुकइन्स्टाग्राम अकाउन्टबाट पनि सोही भ्रामक दाबीसहितको भिडिओ सार्वजनिक भएको छ । ​पोस्टको स्टाटसमा लेखिएको छ, “लु घन्टेको । झोले हरु । सुन्नु । हेर्नु 😆”


 

के हो त वास्तविकता ?

केही दिनअघि सोही भिडिओलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि झापामा बाँड्न ल्याएको अवैध पैसा प्रहरीले जफत गरेको भन्दै भाइरल बनाइएको थियो । टेकपाना फ्याक्टचेक डेस्कले यसअघि नै उक्त दाबीको तथ्यजाँच गरिसकेको छ । ​

तथ्यजाँचका क्रममा सरकारी छाप किर्ते गरेर ठगी धन्दामा सक्रिय सात जना सहित दुई ओटा भारतीय नम्बर प्लेटको गाडीलाई चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको अवस्थामा झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको निष्कर्ष निस्किएको छ । ​​

पक्राउ परेका व्यक्तिहरूले सादा कागजलाई नोटको आकारमा काट्थे र बन्डल बनाउँथे । प्रत्येक बन्डलको तल र माथि भने सक्कली नोट राख्थे । यसरी हेर्दा टिनका बक्सामा राखिएका ती बन्डलहरू पूरै सक्कली पैसा जस्तो देखिन्थे । 

मानिसहरूलाई विश्वास दिलाउन उनीहरूले ती नक्कली नोटका बन्डलहरूसँगै नेपाल सरकारका नक्कली पत्र, छाप र प्रहरीको नक्कली परिचयपत्रहरू समेत राख्ने गर्थे । उनीहरूले मेचीनगरस्थित एक होटलको कोठामा लगेर ती टिनका बक्सा र पैसाका बन्डलहरूको भिडिओ तथा फोटो बनाउँथे । त्यसपछि आफ्ना चिनजानका व्यक्ति वा व्यापारिक पृष्ठभूमिका मानिसहरूलाई त्यो भिडिओ पठाउँथे । 

उनीहरूले व्यापारमा लगानी गरेर कमाएको ठुलो रकम कानुनी अड्चनका कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको झुटो कथा बनाउँथे । जफत भएको सो रकम छुटाएर भारत लैजान पेनाल्टी (जरिबाना) तिर्नुपर्ने भन्दै उनीहरूले पीडितहरूसँग आर्थिक सहयोग माग्थे । अहिले जरिबाना तिर्न सहयोग गरेमा पछि सो रकम निस्किएपछि ठूलो नाफा वा प्रतिफल दिने प्रलोभन देखाएर उनीहरूले मानिसहरूलाई फसाउने गर्थे । 

सोही ठगी गिरोहमा सक्रिय सात जनालाई पक्राउ गरेको विषयको जानकारी प्रहरीले दिएको भिडिओलाई सामाजिक सञ्जालमा बालेन, रवि र केपी शर्मा ओलीसँग जोडेर भ्रम फैलाएको पाइएको हो । 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १९:४६