close

सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगर्न पार्टीपंक्तिलाई रास्वपाको अपिल

टेकपाना टेकपाना

फागुन २३, २०८२ १४:३२

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल लगायतका माध्यमहरूमा निर्वाचनलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले शनिबार एक अपिल जारी गर्दै पार्टीपंक्तिभित्र अवाञ्छित गतिविधि बढेकोमा यस्तो निर्देशन दिएको हो ।

२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा पार्टीका विभिन्न तहका सदस्यहरूबाट सामाजिक सञ्जालमा जिम्मेवारीहीन टिप्पणीहरू भइरहेको आयोगको ठहर छ ।

“निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पंक्तिहरूबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महसुस भएको हुँदा त्यस्ता अवाञ्छित कार्यहरू नगर्न नगराउन सम्पूर्ण पार्टीपंक्तिहरूमा आयोग ध्यानाकर्षणसहित निर्देश गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

आयोगले यस्ता अवाञ्छित गतिविधिहरू भएको पाइएमा पार्टीको विधान, कार्यविधि र आचारसंहिताका आधारमा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

निर्वाचनको जनादेशलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह गर्दै रास्वपाले परिणामलाई विजय उन्मादको रूपमा नलिन कार्यकर्ताहरूलाई सचेत गराएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २३, २०८२ १४:३७