स्नातकोत्तरमा ड्रोन विषय पढाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय, आवेदनको अन्तिम म्याद १४ चैत
चैत ४, २०८२ १६:१४
काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा ड्रोनसँग सम्बन्धित कोर्स सञ्चालनको तयारी गरेको छ । विश्वविद्यालयले पहिलोपटक ‘अनम्यान्ड एयरक्राफ्ट सिस्टम, एभिएसन एन्ड अपरेसन म्यानेजमेन्ट’ नामक स्नातकोत्तर कक्षा सञ्चालनका लागि फारम खुलाएको हो ।
फारम भर्न २८ मार्चसम्मको समयसीमा तोकिएको विश्वविद्यालयका ‘स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड अप्लाइड साइन्स’ का सहप्राध्यापक डा. वसन्त पौडेलले जानकारी दिए । उनका अनुसार यो कोर्समा ड्रोनको इन्जिनियरिङ, अपरेसन र म्यानेजमेन्टका पक्षलाई समावेश गरिएको छ ।
के के विषय समावेश छ ?
सहप्राध्यापक डा. पौडेलका अनुसार ६० क्रेडिट आवरमा अध्यापन हुने यो कोर्स पूरा गर्न दुई वर्ष लाग्छ । हरेक सेमेस्टरमा १५ क्रेडिट आवरसहित चार सेमेस्टरमा यो कोर्स पूरा हुन्छ ।
पहिलो सेमेस्टरमा ड्रोनको आधारभूत परिचय, मिसन, एभिएसनका आधारभूत सिद्धान्तहरू, एयरफ्रेम र ड्रोनको स्ट्रक्चर, विश्व तथा नेपाली बजारको अवस्था, नियमनकारी निकायका कानुनहरू, सेक्युरिटी अलर्ट र लो अल्टिच्युडको प्रोजेक्ट म्यानेजमेन्ट लगायतका विषय अध्यापन गराइन्छ ।
दोस्रो सेमेस्टरमा पर्यटन, विकास, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता पक्षमा ड्रोनको व्यावसायिक प्रयोग सम्बन्धी बिजनेस स्ट्राटेजी, पावर सिस्टम, फ्लाइट अपरेसन, नेभिगेसन, कन्ट्रोल र कम्युनिकेसन सिस्टम लगायतका विषयमा सिकाइन्छ ।
तेस्रो सेमेस्टर अन्तर्गत भौगोलिक सूचना प्रणाली (जीआईएस), रिमोट सेन्सिङ, डेटा प्रोसेसिङ र सेक्युरिटी, ड्रोनबाट गरिने उद्धार कार्य, सामग्री ढुवानी, लो अल्टिच्युडको पर्यटन व्यवस्थापनका बारेमा सिकाइन्छ । यस्तै, ड्रोनको इन्जिनियरिङ सम्बन्धी ड्रोन एसेम्बल तथा म्यानुफ्याक्चरिङको विषय पनि अध्यापन हुने उनले जानकारी दिए ।
चौथो सेमेस्टर भने पूर्ण रूपमा अनुसन्धान र थेसिस लेखनमा आधारित रहने उनले बताए । उनले भने, “यो सेमेस्टरमा १२ क्रेडिट आवरको नै रिसर्च हुन्छ । नेपाल तथा विदेशमा रहेका मानवरहित विमान सम्बन्धी कम्पनीहरूमा इन्टर्नसिपको अवसर पनि प्रदान गर्छौँ । यसका लागि हाम्रो विश्वविद्यालयसँग जोडिएका अन्य विश्वविद्यालय र कर्पोरेट कम्पनीहरूसँग समझदारी पनि गर्दै छौँ ।”
कस्ता विद्यार्थीले पाउँछन् ?
यो कोर्स जुनसुकै विषय पढेकाले पनि पढ्न पाउनेगरी तयार पारिएको छ । इन्जिनियरिङ पृष्ठभूमि नभएका सङ्काय अर्थात् मानविकी, व्यवस्थापन लगायत जुनसुकै सङ्कायका स्नातक उत्तीर्ण विद्यार्थीले यो पढ्न पाउनेछन् । स्नातक तहमा न्यूनतम २ जीपीए वा ५५ प्रतिशत ल्याएका विद्यार्थीले अध्ययनका लागि आवेदन दिन सक्ने उनले बताए ।
उनले भने, “यो कोर्स मानवरहित विमानका सामान्य जानकारीबाट सुरु हुन्छ । कोर्सलाई इन्जिनियरिङ र म्यानेजमेन्ट दुवै विषयवस्तु समावेश गरेर डिजाइन गरिएकोले ड्रोन उडाउन मात्र नभई यसको व्यावसायिक व्यवस्थापन गर्न चाहनेका लागि यो कोर्स उपयोगी छ ।”
यो कोर्स पूरा गरेपछि कृषि क्षेत्रमा विषादी छर्कन, उत्पादित वस्तु ढुवानी गर्न, विकट क्षेत्रमा औषधि र स्वास्थ्य सामग्री पुर्याउन, विपद्को समयमा खोजी तथा उद्धार, पर्यटन क्षेत्रको प्रवर्द्धन र म्यापिङका क्षेत्रमा काम गर्न सकिने उनले बताए ।
उनले भने, “यो विषय पढेपछि नेपालमा नै ड्रोन बनाउन सक्ने जनशक्ति उत्पादन गर्नका लागि पनि यो कोर्स सञ्चालनको तयारी गरिएको हो ।”
अनम्यान्ड एयरक्राफ्ट सिस्टम, एभिएसन एन्ड अपरेसन म्यानेजमेन्ट विषयमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्र सैद्धान्तिक विषयवस्तु समावेश गरिएको छ । यसलाई नेपालसहित फ्रान्स, चीन र भारतका विषय विज्ञहरूले अध्यापन गराउने उनले बताए । सहप्राध्यापक पौडेलले थपे, “अनलाइन र भौतिक रूपमा गरेर ब्लेन्डेड मोडेलमा अध्यापन गरिन्छ । प्रयोगात्मक कक्षाहरू विद्यार्थीले भौतिक रूपमा नै उपस्थित भएर लिनुपर्छ । सैद्धान्तिक भने अनलाइनबाट नै अध्यापन गर्न सकिन्छ ।”
एमआईटी एआई पनि यसै वर्षबाट सुरु हुँदै
विश्वविद्यालयले यही वर्षबाट स्नातकोत्तर तहमा इन्फर्मेसन टेक्नोलोजी एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एमआईटी एआई) सुरु गरेको छ । यसका लागि पनि आवेदन फारम खुलाइएको छ ।
यो कोर्सअन्तर्गत डेटा एनालिसिस, मसिन लर्निङ र सफ्टवेयर लगायतका विषय अध्यापन हुने उनले बताए । यो विषय पढ्न भने स्नातक तहमा अनिवार्य रूपमा सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेको हुनुपर्ने उनले बताए । उनले भने, “यो विषयमा पनि ६० क्रेडिट आवरमा अध्यापन हुन्छ । चौथो सेमेस्टर पूर्ण रूपमा प्रयोगात्मक हुन्छ र इन्टर्नसिपको अवसर पनि प्रदान गरिन्छ ।”
अनम्यान्ड एयरक्राफ्ट सिस्टम, एभिएसन एन्ड अपरेसन म्यानेजमेन्ट तथा एमआईटी एआईमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले लुम्बिनी बौद्ध विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
अनम्यान्ड एयरक्राफ्ट सिस्टमको पूरा कोर्सका लागि ४ लाख र आईटी एआईका लागि ३ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीहरूको आवेदनपछि अन्तर्वार्ता र प्रवेश परीक्षाबाट छनोट गरिने उनले जानकारी दिए ।
रूपन्देहीको देवदहस्थित विश्वविद्यालयको आफ्नै ९० बिघा क्षेत्रफल भएको ‘स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड अप्लाइड साइन्स’मा यी कक्षाहरू सञ्चालन हुनेछन् । हाल विश्वविद्यालयमा आवासीय सुविधा भने नरहेको सहप्राध्यापक पौडेलले बताए । उनले भने, “यी कोर्सहरू अध्ययनका लागि आवासको व्यवस्थापन विद्यार्थीहरूले नै गर्नुपर्नेछ । भविष्यमा विश्वविद्यालयमा नै यसको व्यवस्थापन गर्नेगरी भौतिक संरचना निर्माण भइरहेका छन् ।”
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १६:१४
