युवा उद्यमीलाई प्रोत्साहन गर्न पाँचौँ संस्करणको ‘एनवाईईएफ स्टार्टअप अवार्ड’ हुँदै, आवेदन खुला
चैत १४, २०८२ ७:२८
काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ‘एनवाईईएफ स्टार्टअप अवार्ड’को पाँचौँ संस्करणका लागि आवेदन खुला गरेको छ । सम्भावना बोकेका स्टार्टअपहरूलाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस अवार्डका लागि इच्छुक कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
नवीनतम सोच भएका, भविष्यमा विस्तारको उच्च सम्भावना बोकेका, बजार क्षमता राम्रो भएका र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने स्टार्टअपहरूको पहिचानका लागि यो अवार्ड प्रदान गरिँदै आएको आयोजकले जनाएको छ ।
अवार्डका लागि आवेदन दिने अन्तिम समयसीमा २० अप्रिल २०२६ सम्म तोकिएको छ । आवेदनका लागि नेपाल सरकारमा दर्ता भएका र सन् २०२१ मार्च १२ भन्दा पछाडि स्थापना भएका स्टार्टअपहरू योग्य हुनेछन् ।
आवेदन दिने कम्पनीको आफ्नै उत्पादन वा सेवा हुनुपर्ने अनिवार्य सर्त राखिएको छ । यद्यपि, एनवाईईएफका सदस्यहरूले सञ्चालन गरेका कम्पनीहरू भने यस अवार्डका लागि योग्य हुने छैनन् । इच्छुक उद्यमीहरूले यस लिङ्क अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन प्राप्त भएपछि सुरुमा ती कम्पनीहरूको प्रारम्भिक छनोट (स्क्रिनिङ), स्टार्टअप मूल्याङ्कन र मेन्टरिङका विभिन्न सत्रहरू सञ्चालन गरिनेछ । अन्तिम चरणमा छानिएका स्टार्टअपहरूले अनुभवी उद्यमी, लगानीकर्ता, भेन्चर क्यापिटलका प्रतिनिधि र व्यावसायिक क्षेत्रका अगुवाहरू सम्मिलित विशेषज्ञ निर्णायक मण्डल (जुरी) का अगाडि आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्नुपर्नेछ ।
यस संस्करणको फिनाले २९ मे २०२६ मा आयोजना हुनेछ । कार्यक्रम हुने स्थान र पुरस्कार राशि भने चाँडै घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।
चौँथो संस्करणको ‘एनवाईईएफ स्टार्टअप अवार्ड’को उपाधि ‘डीएल अप्लोड’ले जितेको थियो । त्यसक्रममा उक्त कम्पनीले चार लाख रुपैयाँ पुरस्कार हात पारेको थियो । त्यस्तै, ‘मेल्ट डाउन’ उपविजेता (रनर अप) र ‘खेतिपाति अर्गानिक्स’ पिपल्स चोइस अवार्डबाट सम्मानित हुँदै क्रमशः दुई लाख र एक लाख रुपैयाँ प्राप्त गरेका थिए ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ ७:३७
