नेपाललाई नवप्रवर्तनको हब बनाउन ‘आर एन्ड डी’ मा जीडीपीको कम्तीमा १ प्रतिशत लगानी गर्न सुझाव
सुशासन मार्गचित्र २०८२
चैत १७, २०८२ ०:१
काठमाडौँ । नेपाललाई प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन सरकारले अनुसन्धान र विकास (आर एन्ड डी) मा विशेष लगानी गर्नुपर्ने सुझाव दिइएको छ । मुलुकमा सुशासन कायम गर्ने र जेनजी युवाको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ ले अनुसन्धानको क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को कम्तीमा एक प्रतिशत लगानी सुनिश्चित गर्न सिफारिस गरेको हो ।
मार्गचित्रको प्रतिवेदनले नेपालमा विज्ञान र प्रविधिलाई हालसम्म केवल ‘देखाउने वस्तु’ (शोभा) को रूपमा मात्र सीमित गरिएको निष्कर्ष निकालेको छ । यस क्षेत्रमा राज्यको तर्फबाट पर्याप्त लगानी र प्राथमिकता नहुँदा नयाँ प्रविधिको विकास र त्यसको व्यवहारिक प्रयोगमा नेपाल विश्वको तुलनामा निकै पछाडि परेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल रुपान्तरणमार्फत सुशासन प्रत्याभूत गर्न र नवीन सोच भएका युवाहरूलाई प्रोत्साहित गर्न राज्यले ‘आर एन्ड डी’ मा लगानी बढाउनु अबको अनिवार्य आवश्यकता रहेको औँल्याइएको छ ।
अनुसन्धानका कार्यहरू हाल छरपस्ट रूपमा भइरहेको भन्दै त्यसलाई एकीकृत र प्रभावकारी बनाउन एक शक्तिशाली ‘शक्तिशाली राष्ट्रिय अनुसन्धान कोष’ स्थापना गर्न प्रस्ताव गरिएको छ । सोही कोषमार्फत वार्षिक रूपमा जीडीपीको एक प्रतिशत बजेट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने मार्गचित्रको माग छ ।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई आगामी एक वर्षभित्र आवश्यक कार्यविधि तयार पार्न, कोष निर्माण गर्न र आवश्यक बजेट विनियोजन गर्न सुझाव दिइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार शिक्षा र विज्ञान क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी हुनुपर्ने भए पनि नेपालमा यो हाल ११ देखि १२ प्रतिशतमा मात्र खुम्चिएको छ । दुःखद पक्ष के छ भने, यसरी छुट्याइएको बजेटको पनि करिब ८० देखि ९० प्रतिशत हिस्सा अनुसन्धानमा नभई कर्मचारीको तलब र प्रशासनिक खर्चमै सकिने गरेको छ ।
तथ्याङ्क अनुसार नेपालले हाल अनुसन्धान र विकासमा जीडीपीको मात्र ०.३ प्रतिशतभन्दा कम लगानी गरिरहेको छ । राजनीतिक अस्थिरता र नेतृत्व तहमा वैज्ञानिक अनुसन्धानको महत्त्वबारे बुझाइको कमी (अपनत्वको अभाव) का कारण यो क्षेत्र सधैँ उपेक्षित रहँदै आएको प्रतिवेदनको ठम्याइ छ ।
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ ७:३०
