२४ करोडको सम्पत्तिबारे मन्त्री पोखरेलको प्रष्टीकरण- बुवा, आमा र मावलीको पनि विवरण देखाएको दाबी
चैत ३०, २०८२ २३:२४
काठमाडौँ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा धनी देखिएपछि चर्चा र विवादमा तानिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे लामो प्रष्टीकरण दिएका छन् । आइतबार सार्वजनिक विवरणमा २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिएपछि उनीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिँदै मन्त्री पोखरेलले आफूले कानुनले मागेभन्दा बढी पारदर्शी बनेर बुवा, आमा र मावलीसम्मको संयुक्त सम्पत्ति सार्वजनिक गरेको दाबी गरेका छन् ।
आफू त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थीसमेत रहेको बताउँदै पोखरेलले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र नै पारदर्शिता भएको उल्लेख गरेका छन् । "प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ," उनले लेखेका छन्, "किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाइ हुन् ।"
उनले आफ्नो विवरणमा बुवाको सवारीसाधनसमेत उल्लेख गरेको बताएका छन् ।
आफ्नो आर्थिक पृष्ठभूमिबारे उल्लेख गर्दै उनले बुवा रमेशकुमार पोखरेलले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेको र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेको जनाएका छन् । साथै, बुवा वासिङ्टन डी.सी. स्थित अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा समेत कार्यरत रहेको उल्लेख गर्दै परिवारको आर्थिक आर्जन वैध रहेको दाबी गरेका छन् ।
काठमाडौँ र अन्य क्षेत्रका जग्गाहरूको मूल्य अस्वाभाविक रूपमा धेरै देखिनुको कारणबारे उनले भनेका छन्, "जग्गा खरिद गर्दाको समयमा मूल्य निकै कम थियो । हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ । मैले खरिद मूल्य वा सरकारी मूल्याङ्कन होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको हुँ ।"
आफूलाई प्रिभिलेज्ड पृष्ठभूमिबाट आएको स्वीकार गर्दै मन्त्री पोखरेलले आधारभूत शिक्षाबाहेक कहिल्यै आमाबुवाको सम्पत्तिमा विलासिता नगरेको दाबी गरेका छन् । आफू स्नातक दोस्रो वर्षदेखि नै पार्टटाइम अनलाइन काम गर्न थालेको र आफ्नै कमाइबाट खर्च व्यवस्थापन गरेको उनले बताएका छन् । आफ्नो नाममा देखिएको ऋण पनि आमाबुवाको सहयोगबिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको उनले स्पष्ट पारेका छन् ।
प्यान नम्बर विवरणमा नराखेको विषयले सामाजिक सञ्जालमा चर्चा पाएपछि उनले उनले आफूसँग वैध प्यान नम्बर भए पनि सार्वजनिक रूपमा विवरण प्रकाशित हुने भएकाले व्यक्तिगत सुरक्षाका कारण मात्र समावेश नगरेको दाबी गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ २३:४३
