close

एआईद्वारा बनाएको पाइएपछि दक्षिण अफ्रिकाले फिर्ता लियो राष्ट्रिय एआई नीति

टेकपाना टेकपाना

बैशाख १७, २०८३ ११:८

एआईद्वारा बनाएको पाइएपछि दक्षिण अफ्रिकाले फिर्ता लियो राष्ट्रिय एआई नीति

काठमाडौँ । दक्षिण अफ्रिकाले आफ्नो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिको मस्यौदा फिर्ता लिने निर्णय गरेको छ । उक्त मस्यौदाका केही नियमहरू एआई प्रयोग गरेर बनाइएको र त्यसमा काल्पनिक स्रोतहरू उद्धृत गरिएको फेला परेपछि सरकारले यस्तो कदम चालेको हो ।

सञ्चार मन्त्री सोली मलात्सीले उक्त मस्यौदामा रहेका ६७ वटा प्राज्ञिक उद्धरणहरूमध्ये कम्तीमा ६ वटा एआईद्वारा सिर्जित ह्यालुसिनेसन (भ्रम) भएको पाइएपछि मस्यौदा फिर्ता लिएका हुन् । ती उद्धरणहरूमा उल्लेख गरिएका जर्नलका लेखहरू वास्तवमा अस्तित्वमै नरहेको पाइएको छ ।

मन्त्री मलात्सीले एक्स (पहिलेको ट्वीटर) मा लेख्दै भनेका छन्, "यसको सबैभन्दा तर्कसङ्गत व्याख्या यो हो कि उचित प्रमाणीकरण बिना नै एआई-सिर्जित उद्धरणहरू समावेश गरियो । यस्तो हुनु हुँदैनथ्यो ।" उनले यो असफलता केवल प्राविधिक विषय मात्र नभएर मस्यौदा नीतिको अखण्डता र विश्वसनीयतामाथि नै खेलबाड भएको बताएका छन् ।

यो मस्यौदा नीतिले देशलाई एआई इनोभेसनमा अग्रणी स्थानमा राख्ने लक्ष्य राखेको थियो । यसले एआई प्रयोगका नैतिक, सामाजिक र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्ने प्रयास गरेको थियो । मस्यौदामा राष्ट्रिय एआई आयोग, एआई नीति बोर्ड र एआई नियामक निकाय जस्ता नयाँ संस्थाहरू स्थापना गर्ने योजनाहरू समावेश थिए ।

साथै निजी क्षेत्रसँगको सहकार्यमा एआई पूर्वाधार निर्माण गर्न कर छुट, अनुदान र सहुलियतका योजनाहरू पनि अघि सारिएका थिए । सार्वजनिक प्रतिक्रियाका लागि सार्वजनिक गरिएको उक्त मस्यौदा अब परिमार्जन गरेर मात्र पुनः जारी गरिने भएको छ ।

कसरी खुल्यो रहस्य ?

यो विषय दक्षिण अफ्रिकाको न्युज-२४ ले पहिलो पटक बाहिर ल्याएको थियो । समाचार अनुसार मस्यौदामा उल्लेख गरिएका ६७ मध्ये कम्तीमा ६ वटा प्राज्ञिक सन्दर्भहरू अस्तित्वमै थिएनन् । जबकि ती लेख छापिएको भनिएका जर्नलहरू भने वास्तविक थिए ।

साउथ अफ्रिकन जर्नल अफ फिलोसोफी, एआई एण्ड सोसाइटी र जर्नल अफ एथिक्स एण्ड सोसल फिलोसोफी जस्ता जर्नलका सम्पादकहरूले ती उद्धृत गरिएका लेखहरू नक्कली भएको स्वतन्त्र रूपमा पुष्टि गरेका थिए ।

सञ्चार मन्त्रीले नीति तर्जुमा गर्ने जिम्मेवारी पाएकाहरूले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, "यो अस्वीकार्य गल्तीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा किन सतर्क मानवीय निगरानी महत्त्वपूर्ण छ भन्ने प्रमाणित गरेको छ । यो एउटा पाठ हो, जुन हामी नम्रताका साथ लिनेछौँ ।"

यो घटनाले शिक्षा र प्रशासनमा अनुसन्धान र मस्यौदा तयार पार्न जेनेरेटिभ एआईको बढ्दो प्रयोग र त्यसका जोखिमहरूलाई उजागर गरेको छ । नेचर जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२४ मा ०.३ प्रतिशत मात्र रहेको यस्तो समस्या सन् २०२५ मा बढेर २.५ प्रतिशत पुगेको छ । यसको अर्थ सन् २०२५ मा प्रकाशित १ लाख १० हजारभन्दा बढी प्राज्ञिक शोधपत्रहरूमा एआईले सिर्जना गरेका गलत वा अवैध सन्दर्भहरू रहेका छन् ।

ओपनएआईको च्याटजीपीटी र गुगलको जेमनाई जस्ता लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) शब्दहरूको शृङ्खलामा अर्को सम्भावित शब्द भविष्यवाणी गर्न डिजाइन गरिएका हुन्, सत्यता जाँच गर्न होइन । जब एआईले कुनै क्षेत्रमा डेटाको अभाव पाउँछ, यसले सुन्दा आधिकारिक जस्तो लाग्ने तर गलत जानकारी दिएर खाली ठाउँ भर्ने गर्दछ ।

यसले प्राज्ञिक र सरकारी निकायहरूमा एआईको प्रयोग गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने आवश्यकतालाई औँल्याएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८३ ११:८