close

सामाजिक सञ्जालले ल्याएको सूचनाको बाढीमा विश्वसनीयताको सङ्कट बढ्दै

टेकपाना टेकपाना

बैशाख २०, २०८३ २०:५१

सामाजिक सञ्जालले ल्याएको सूचनाको बाढीमा विश्वसनीयताको सङ्कट बढ्दै

 

काठमाडौँ । प्रविधिको तीव्र विकासले सूचनाको बाढी त ल्याएको छ, तर सँगसँगै यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानसिक स्वास्थ्य र नियमनका गम्भीर चुनौतीहरू पनि खडा गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ को अवसर पारेर टेकपानाले युनेस्कोसँगको सहकार्यमा ललितपुरको होटेल हिमालयमा आयोजना गरेको एक कार्यक्रममा डिजिटल युगका यिनै जटिलताको समाधान खोज्न प्रयास भएको छ ।

कार्यक्रममा युनेस्कोका प्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, कानुनविद् र एआई विज्ञहरूले सामाजिक सञ्जालको अमानवीय ट्रोलिङ, एआईले निम्त्याएको चुनौती र मूलधारका मिडिया एवं नयाँ पुस्ताका कन्टेन्ट क्रिएटरबिच बढ्दो द्वन्द्वका विषयमा आफ्ना अनुभव र विचार राखेका थिए ।

कार्यक्रममा बोल्दै युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टोइटले अहिलेको प्रेस स्वतन्त्रतालाई इन्टरनेट र डिजिटल प्रविधिको अवस्था अनुसार बुझ्नुपर्ने बताए । उनले भने, “अहिले सूचना इन्टरनेटका विभिन्न माध्यममा बन्छन् र एआई जस्ता प्रविधिबाट फैलिन्छन् । त्यसैले कुन सूचना सही हो भनेर पुष्टि गर्न र समाचारमाथिको विश्वास जोगाउन हाम्रा प्रविधि तथा सुरक्षा प्रणालीलाई अझै बलियो बनाउन आवश्यक छ ।”

कार्यक्रममा टेकपानाका फ्याक्टचेकर हिक्मत आचार्यले विगत एक वर्षको अवधिमा टेकपानामा प्रकाशित २०६ ओटा तथ्यजाँच (फ्याक्टचेक) रिपोर्टमा आधारित तथ्याङ्क प्रस्तुत गरे । उनका अनुसार जाँच गरिएका कुल समाचार तथा सूचनामध्ये ९२.२ प्रतिशत भ्रामक वा मिथ्या रहेको पाइएको छ । त्यसमध्ये ७३.३ प्रतिशत भ्रामक र ३५.५ प्रतिशत मिथ्या सूचना भेटिएको उनले जानकारी दिए ।

आचार्यका अनुसार यस्ता भ्रामक तथा मिथ्या सूचना सबैभन्दा बढी फेसबुकमा फैलिएका छन् । उनले भने, “हाम्रो अध्ययनले सबैभन्दा बढी भ्रामक सूचना फेसबुकमा रहेको देखाएको छ । त्यसपछि एक्स, टिकटक, युट्युब र इन्स्टाग्राममा यस्ता सामग्री बढी फैलिएका छन् ।”

सूचना फैलाउने प्रवृत्तिबारे प्रकाश पार्दै उनले थपे, “केही प्रयोगकर्ताले अञ्जानवश यस्ता सामग्री शेयर गरेको पाइएको छ भने कतिपय अकाउन्टले जानाजान एआई-सिर्जित भ्रामक सूचना फैलाइरहेका छन् । ती अकाउन्टको ट्रान्सप्यारेन्सी हेर्दा नेपाल बाहिरबाट सञ्चालित भएको देखिन्छ । यस्ता अकाउन्टबारे पनि सम्बन्धित निकायले विचार गर्नुपर्ने आवश्यकता छ ।”

यसैगरी व्यावसायिक भनिएका मूलधारका सञ्चार माध्यमबाट पनि समय-समयमा भ्रामक सूचना सम्प्रेषण भएको सुनाए । उनले भने, “सामाजिक सञ्जालमा स्वार्थपूर्तिका लागि भ्रम फैलाउने समूह त सक्रिय छन् नै, कहिलेकाहीँ मूलधारका सञ्चार माध्यमबाट पनि यस्तो गल्ती हुने गरेको छ । त्यसैले सञ्चारकर्मीलाई तथ्यजाँचसम्बन्धी तालिमको आवश्यकता छ र सञ्चार माध्यमले पनि आफ्नो तथ्यजाँच संयन्त्रलाई थप बलियो बनाउनुपर्छ ।”

डिजिटल स्पेसमा सार्वजनिक व्यक्तित्वहरूले भोगिरहेको नियोजित दुर्व्यवहार र त्यसले मानसिक स्वास्थ्यमा पारेको सङ्कट कार्यक्रमको प्रमुख आकर्षण बन्यो । प्रतिनिधि सभा सदस्य तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी भूमिका श्रेष्ठले सामाजिक सञ्जालमा अमानवीय गालीगलौज भोग्नु परेको नमिठो अनुभव सुनाइन् । पत्रकारहरूले जबरजस्ती प्रश्न सोधेर त्यसैको आधारमा ट्रोलिङ गराउने प्रवृत्ति रहेको भन्दै उनले राज्यबाट स्पष्ट नियमनको नीति बनाउनुपर्नेमा जोड दिइन् ।

यसैगरी नेपाली काँग्रेसका युवा नेता सचिन तिमल्सिनाले चुनावमा घरदैलो गर्दा सकारात्मक प्रतिक्रिया पाए पनि डिजिटल स्पेसमा आफूलाई भिलेन बनाइएको अनुभव साटे । प्रविधिको दुरुपयोग गरेर भ्रामक सूचना र फेक भिडिओ फैलाइएको प्रसङ्ग उप्काउँदै उनले भने, “सयौँ झुट बोलेपछि त्यो साँच्चिकै सत्य जस्तो लाग्छ । अहिले फेक आईडीबाट जवाफदेहीता बिना नै गाली गर्ने प्रवृत्ति बढेको छ ।”

अभिनेत्री एवं राजनीतिज्ञ निशा अधिकारीले सार्वजनिक जीवनमा आएपछि सहनशीलता गैँडाको छाला जस्तै बलियो हुनुपर्छ र जस्तोसुकै गाली पचाउनुपर्छ भन्ने जबर्जस्ती भाष्यलाई भत्काउनुपर्ने जिकिर गरिन् । "हामी पनि मान्छे हौँ, गालीले हामीलाई पनि दुख्छ," उनले भनिन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले ल्याएका प्राविधिक चुनौतीहरू झनै डरलाग्दा छन् । नेपाल ल क्याम्पसकी उप-प्राध्यापक रुकमणि महर्जनले एआई अनुवादका गम्भीर त्रुटिले कसरी कानुनी सङ्कट ल्याउँछ भन्ने रोचक उदाहरण दिइन् । ‘चाइल्ड कस्टडी’ (बालबालिकाको हेरचाह वा संरक्षण) लाई एआईले नेपालीमा ‘बालबालिकालाई हिरासत’ भनेर अनुवाद गरिदिने उल्लेख गर्दै उनले एआईको आउटपुट प्रयोग गर्नुअघि मानवीय प्रमाणीकरण अनिवार्य हुनुपर्नेमा सुझाव दिइन् ।

यता नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौड्यालले एआई मोडेलहरू नेपालको सन्दर्भ र बहु सांस्कृतिक तथ्याङ्कमा प्रशिक्षित नहुँदा त्यसले निकाल्ने परिणाममा पूर्वाग्रह (बायस) हुन सक्ने ‍औँल्याए ।

एआई अनुसन्धानकर्ता दोभान राईले प्रविधिको अन्धो समर्थनले समाजमा डिजिटल फासिज्म ल्याउन सक्ने चेतावनी दिइन् "हाम्रो जस्तो समाजमा एआईले के गरिरहेको छ भन्ने नबुझी यसलाई आँखा चिम्लेर प्रवर्धन गर्नु घातक हुन सक्छ," एथिकल एआई कानुनी भन्दा पनि मानवीय कुरा भएको तर्क गर्दै उनले भनिन् ।

स्मार्टफोन बोक्ने जो कोही पनि सूचना सम्प्रेषक बन्न सक्ने आजको ‘फ्लड गेट्स’ खुला भएको युगमा मूलधारका मिडिया र स्वतन्त्र क्रियटरबिचको रेखा मेटिँदै गएको छ । एआई इन्जिनियर आयुष श्रेष्ठले सूचनाको यो बाढीमा मूलधारका मिडियाले दिन सक्ने मुख्य भ्यालु विश्वसनीयता रहेको र सामग्रीमा ह्युमन इन द लुप (मानव संलग्नता) ले मात्रै सत्यता सुनिश्चित गर्ने बताए ।

तर, द नेपाली कमेन्टका सञ्चालक दीपेश त्रिपाठीले भने तथ्य जाँच गर्न लाग्ने समय र मिथ्या सूचना भाइरल हुने गतिबिचको खाडल औँल्याए । उनले क्रियटरहरूले आफ्ना दर्शक तथा श्रोतासँग एउटा ट्रस्टवर्दी (विश्वासको) सम्बन्ध निर्माण गर्नुपर्ने चुनौती रहेको बताए ।

यसप्रति मूलधारका पत्रकारहरूको भने छुट्टै गुनासो छ । उकेरा डटकमकी पत्रकार प्रजु पन्तले मिडियाले महिनौँ लगाएर गरेका खोजमूलक रिपोर्टिङलाई युट्युब वा टिकटकका कन्टेन्ट क्रिएटरले फेयर युजको नियमसमेत पालना नगरी र अनुमति नै नलिई चोरेर आफ्नो आम्दानीको बाटो बनाउने गरेको भन्दै नैतिक प्रश्न उठाइन् ।

राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झाले कन्टेन्ट क्रियटरले सम्पादकीय प्रक्रिया फलो नगरेको मात्र होइन, ठुला भनिने मिडियाले समेत आफ्ना गल्ती नस्विकार्ने र खण्डन नछाप्ने गरेको भन्दै कडा आलोचना गरे । "पाठक वा दर्शक अब कन्जुमर हुन्," झाले भने, "कुनै पनि कन्टेन्टले कसैलाई जिन्दगीभर प्रभाव पार्न सक्छ । एआईले लेखेको होस् वा मान्छेले, गल्ती सच्याउने संस्कार भएन भने त्यहाँ गम्भीर नैतिक प्रश्न उठ्छ र यसको अन्तिम जवाफदेहीता उपभोक्ताप्रति हुनुपर्छ ।"

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १८:१०