close

‘अनलाइन हेट स्पिच र ट्रोलिङ अझै बढ्नेछ, सामना गर्न तयार हुनुपर्छ’

टेकपाना टेकपाना

बैशाख २२, २०८३ १८:३१

‘अनलाइन हेट स्पिच र ट्रोलिङ अझै बढ्नेछ, सामना गर्न तयार हुनुपर्छ’

सचिन तिमल्सिना

राजनीतिमा लाग्दा गाली खाइन्छ । आलोचना हुन्छ । चरित्रहत्याको प्रयास गरिन्छ । मेरो बुबाले राजनीति गर्नुभयो । द्वन्द्वकालमा मेरो पूरै परिवार विस्थापित भयो । यो सबै कुराबाट मलाई राजनीति पेसा नै निरन्तर प्रहार हुने, गाली खाने पेसा हो भन्ने राम्रोसँग थाहा छ । 

त्यही भएर मलाई अनलाइन ट्रोलिङले खासै फरक पर्दैन । मेरो पुर्ख्यौली घर पाँचथर हो । जहाँ जुहारी खेल्ने/भिड्ने संस्कृतिलाई सामान्य मानिन्छ । त्यही भएर म अहिले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भिड्न डराउन्न । 

कतिपय अवस्थामा त मलाई अझै प्रतिवाद गरौँ जस्तो लाग्छ । तर मेरो टिमले “दाइ, स्क्रिनशट मेट्दै हामीलाई हैरान हुन्छ” भनेर रोक्छ । सकेसम्म नभिड्न, संयमित हुन सल्लाह दिन्छन् ।

आफ्नो सक्कली अनुहार देखाउन नसक्नेहरू फेक आईडीको आडमा लुकेर मनपरी बोल्ने र अरूलाई गाली गर्दा ‘आज मैले खतरा काम गरेँ’ भन्ने सोच राख्नेहरूसँग डराउनुपर्ने कुनै कारण छैन । मेरो नजरमा यो उनीहरूको समय र जीवनको बर्बादी मात्र हो ।

म नेपाली काँग्रेसको सदस्य हुँ, किनभने मेरो र यो पार्टीको विचारधारा मिल्छ । पार्टीभित्रका कुनै व्यक्तिले गल्ती गर्लान्, तर नौ लाख सदस्य भएको पार्टीमा एक जनाले गरेको बदमासीको भारी सबैले बोक्नुपर्छ भन्ने हुँदैन । संसार यसरी चल्दैन । सामाजिक सञ्जालमा पुराना दलको सदस्य हुने बित्तिकै ‘झोले’ को ट्याग दिएर आक्रमण गरिन्छ । तर, यदि कसैले चाहन्छ भने म मेरो पूरै बैंक खाता देखाइदिन सक्छु, किनकि मेरो जीवन पारदर्शी छ । यति हुँदाहुँदै पनि कसैले मलाई ‘झोले’ भन्छ भने मलाई त्यसले केही फरक पार्दैन ।

हामी नेपाली मूलधारका मिडियाप्रति धेरै नकारात्मक छौँ, तर वास्तविकतामा नेपालको मूलधारको मिडिया दक्षिण एसियाका अन्य देशको तुलनामा धेरै राम्रो, निष्पक्ष र सन्तुलित छ । भारत र नेपालका मूलधारका मिडियालाई मात्र तुलना गर्ने हो भने पनि यो भिन्नता प्रस्ट देखिन्छ । हाम्रा मिडियाहरू कुन मुद्दालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा बढी स्पष्ट छन् ।

समाजमा समस्या हुँदा मिडियामा पनि केही समस्या देखिनु स्वाभाविक हो । तर, एउटा प्रेस कन्फरेन्सको भरमा ‘१२ भाइ’ को ट्याग दिएर नेपाली मूलधारका मिडियालाई ‘चोर’ र ‘फटाहा’ साबित गर्ने प्रयास गरियो । यसले मिडियाको विश्वसनीयतामा ठुलो धक्का पुर्याएको छ । यदि मूलधारको मिडिया कमजोर भयो भने त्यो रिक्त ठाउँ कसले भर्छ ?

अहिले त्यो ठाउँ अस्ट्रेलियामा बसेर टिकटक बनाउनेहरूले ओगट्न थालेका छन् । उदाहरणका लागि, बालेन शाहले बजेट किन खर्च गरेनन् भन्दा ‘देशको पैसा बचाइदिए’ भन्ने तर्क गरिन्छ । यस्ता कुराको पछाडि कुनै अर्थशास्त्र छैन, तर सर्वसाधारणले त्यही तर्कलाई सत्य मानिदिन्छन् । यस्तो वास्तविकता बोल्यो भने फेरि ‘पुरानो पार्टीको झोले’ को ट्याग लगाइन्छ ।

अहिले काठमाडौँको राजनीतिक वातावरण निकै हिंस्रक (भायोलेन्ट) लाग्छ । भर्खरै पदमुक्त हुनुभएका गृहमन्त्रीदेखि अन्य नेताहरूसम्म ‘ठोक्दिन्छु, हान्दिन्छु’ भन्दा बाहेक अरू बोल्दैनन् । जनताले आफ्ना नेताबाटै सिक्ने हो । जब नेतृत्व नै जिम्मेवार र जवाफदेही हुँदैन, तब अनलाइन ह्यारासमेन्ट र ‘हेट स्पिच’ झन् बढ्छ । अहिले जो शक्तिमा छन्, उनीहरूमध्ये धेरैले यही ‘हेट’ र गालीको संस्कृतिबाट फाइदा उठाएर त्यहाँ पुगेका हुन् । त्यसैले उनीहरू यो संस्कृति हटाउन चाहँदैनन् । मेरो विचारमा हेट स्पिच र ट्रोलिङ अझै बढ्नेछ र यसका लागि हामी मानसिक रूपमा तयार हुनुपर्छ ।

तर, हामी यसबाट डराउनु हुँदैन । हामीले डिजिटल साक्षरतामा काम गर्नुपर्छ र करुणा एवं सहनशीलताको राजनीतिलाई जोगाउनुपर्छ । सत्य र न्याय पाउन ढिलो हुन सक्छ, तर यो कहिल्यै हराउँदैन । ट्रोलसँग डराएर होइन, बरु यसको दृढतापूर्वक सामना गरेर र आफ्नो एजेन्डामा स्पष्ट भएर मात्र हामी अघि बढ्न सक्छौँ ।

(टेकपानाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सचिन तिमल्सिनाले व्यक्त गरेको अनुभवमा आधारित सामग्री ।)

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ १९:१०