close

लगानी र व्यापार प्रवर्द्धनका लागि नेपाली निजी क्षेत्र सेलेक्ट यूएसए’ सम्मेलनमा

टेकपाना टेकपाना

बैशाख २२, २०८३ २१:१९

लगानी र व्यापार प्रवर्द्धनका लागि नेपाली निजी क्षेत्र सेलेक्ट यूएसए’ सम्मेलनमा

काठमाडौँ । लगानीमार्फत आर्थिक वृद्धि गर्ने उद्देश्यका साथ अमेरिकामा आयोजित ‘सेलेक्ट यूएसए’ लगानी सम्मेलनमा नेपालले पहिलो पटक निजी क्षेत्रको तर्फबाट सहभागिता जनाएको छ । मेरिल्यान्डमा ३ मेदेखि जारी सम्मेलनमा नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता, अमेरिकी सरकारी अधिकारी र आर्थिक विकास योजनाकारहरूसँग बजार पहुँच र व्यापारिक साझेदारीका लागि छलफल गरेका छन् ।

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमक्याम नेपाल) समन्वयमा संस्थाका कार्यकारी निर्देशक अमिर थापाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाएको छ । जसमा नेपालका आईटी कम्पनीहरू बिज सर्भ, स्विफ्ट फिन, कोडअभातार, ग्रीन टिक र इभेन्ट मोको रहेका छन् ।

नेपाल र अमेरिकाबिचको व्यापारिक सम्बन्धलाई थप बिस्तार गर्ने लक्ष्यका साथ आयोजना गरिएको यस भ्रमणमा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटघाट गरेको छ । भेटका क्रममा अमेरिकी डेपुटी असिस्टेन्ट सेक्रेटरी बेथानी पी.मोरिसनले नेपालको व्यावसायिक वातावरण र निजी क्षेत्रको विकासमा सहयोग गर्न अमेरिका इच्छुक रहेको बताइन् । त्यस्तै, अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद राज आरनले नेपाली उद्यमले विश्व बजारमा पाइला राख्न सक्ने विश्वास व्यक्त गरे ।

एम्क्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले यस सहभागिताले नेपाली कम्पनीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धी बन्न मद्दत पुग्ने बताए । उनले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा गरेका हालैका नीतिगत सुधारहरूको स्वागत गर्दै यसले नेपाली प्रतिभालाई विश्वस्तरमा चिनाउन सहयोग पुग्ने उल्लेख गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ ७:५३