संघीय संसदमा अब विद्युतीय हाजिरी अनिवार्य, बिहीबारदेखि सांसदको बायोमेट्रिक विवरण संकलन गरिने
बैशाख २३, २०८३ २२:१९
काठमाडौँ । संघीय संसद्का सांसदहरूको उपस्थितिलाई पारदर्शी बनाउन विद्युतीय हाजिरी (ई-हाजिरी) प्रणाली लागु हुने भएको छ । यसका लागि भोलिदेखि सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
बुधबार एक सूचना जारी गर्दै सचिवालयले विभिन्न संसदीय समितिका सदस्यहरूका लागि छुट्टाछुट्टै समय र स्थान निर्धारण गरी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । बायोमेट्रिक विवरण सङ्कलनसँगै सांसदहरूको औपचारिक तस्बिर समेत लिइनेछ ।
विवरण सङ्कलन र तस्बिर खिचाउने प्रयोजनका लागि सचिवालयले सासदहरूलाई सङ्घीय संसद्को लोगो (पिन) सहित औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरेको छ ।
संसद् बैठकमा सांसदहरूको उपस्थितिको अभिलेखलाई पारदर्शी र प्रभावकारी बनाउन विद्युतीय हाजिरी प्रणाली लागु गर्न लागिएको सचिवालयले जनाएको छ । यो प्रणाली लागु भएपछि सांसदहरूको उपस्थिति रेकर्ड स्वचालित रूपमा राखिने छ ।
सांसदहरूको हाजिरी विवरण संसद्को आधिकारिक वेबसाइटमा पनि सार्वजनिक गर्ने संघीय संसद् सचिवालयको तयारी छ । यसअघि २०८० सालमा नै बायोमेट्रिक सङ्कलन सुरु भए पनि विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ ८:५७
