नवप्रवर्तनात्मक अनुसन्धानका लागि आइडिया पुलिङ गर्दै बागमती प्रदेश, यसरी दिनुहोस् आवेदन
बैशाख २७, २०८३ १२:६
काठमाडौँ । बागमती प्रदेश सरकारले नवप्रवर्तनात्मक अनुसन्धान सम्बन्धी प्रथम चरणको आइडिया अवधारणा प्रस्ताव (Idea Pooling) आह्वान गरेको छ । प्रविधिमा आधारित अर्थतन्त्रको सुदृढीकरण र वैज्ञानिक नवप्रवर्तनात्मक पद्धतिको अवलम्बन गर्ने उद्देश्यका साथ शुक्रबार यससम्बन्धी सार्वजनिक सूचना जारी गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सचिवालयका अनुसार २५ जेठ २०८३ भित्र यसका लागि प्रस्ताव पेस गरिसक्नु पर्नेछ । विज्ञान र प्रविधिको क्षेत्रमा गरिने नवप्रवर्तनात्मक अनुसन्धानबाट विकसित प्रविधि र परिणाममुखी नतिजामार्फत प्रदेशको आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउनु कोषको उद्देश्य रहेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूले कोषको आधिकारिक ईमेल [email protected] मार्फत तोकिएको ढाँचामा आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ ।
कृषि, वातावरण, सूचना प्रविधि, जैविक प्रविधि, ऊर्जा, इन्जिनियरिङ लगायतका विभिन्न विषयगत क्षेत्रमा प्रस्ताव पेस गर्न सकिनेछ । प्राप्त प्रस्तावहरूको स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अन्तिम अधिकार भने कोषको सचिवालयमा नै निहित रहने उल्लेख छ । थप जानकारीका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको कोष सचिवालयमा सम्पर्क गर्न सकिने छ ।
पछिल्लो अध्यावधिक: बैशाख २७, २०८३ १२:६
