काठमाडौं । सोमाबार गोङ्गबुस्थित नयाँ बसपार्कमा अन्य ट्याक्सी चालकले पठाओसँग आवद्ध ट्याक्सी चालकमाथि हातपात गरेको घटनाले अहिले पठाओको विषय चर्चामा छ । आज सामाजिक सञ्जाल ट्वीटरमा समेत ‘#IamWithPathao’ नेपालको ट्रेन्डिङमा छ ।
काठमाडौंजस्तो अस्तव्यस्त सार्वजनिक यातायात रहेको ठाउँमा राइड शेयरिङ सेवाले हजारौंलाई सहज आवगमनको सुविधा प्रदान गरिरहेको भन्दै पठाओमाथिको उक्त आक्रमणलाई नयाँ आविष्कार र प्रविधिमाथिको आक्रमणको रुपमा हेरिएको छ ।
त्यसैले मोबिलिटी सुविधा र रोजगारी खोस्ने कि यसलाई व्यवस्थित गर्ने भन्ने विषयमा धेरैले आफ्नो राय व्यक्त गरिरहेका छन् ।
ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै अनिल बराल लेख्छन्, ‘अस्ति विहान अस्पताल जाने क्रममा बाटोमा अस्पतालको गाडी बिग्रियो। वरीपरी ट्याक्सी पनि थिएनन् । पठाओ बोलाएँ, सजिलै धुम्बाराहीबाट पुल्चोक १६५ रुपैयाँमा पुगियो । यो सेवा बन्द कुनै हालतमा हुनु हुँदैन।’
#IAmWithPathao अस्ति बिहान अस्पताल जाने क्रममा बाटोमा अस्पतालको गाडि बिग्रियो..वरीपरी ट्याक्सी पनि थिएनन्..pathao बोलाएँ, सजिलै धुम्बाराहिबाट पुल्चोक १६५ रू मा पुगियो (मोटरसाइकल)..यो सेवा बन्द कुनै हालतमा हुनुहुदैन !!@kpsharmaoli ???
यस्तै सयाैं ट्वीट याे दुई दिनकाे अवधिमा भएको छ । सोमबार ट्याक्सी ड्राइभरले आफ्नो ग्राहक खोसेको भन्दै गोङ्गबुमा पठाओका चालकलाई कुटपिट गरेका थिए । ट्याक्सी भाडामा कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालक कुटपिटमा उत्रिएका थिए । उक्त विवाद ट्राफिक प्रहरीमा पुगेर समाधान भएको थियो ।
यसरी पठाओका चालकमाथि भइरहेको आक्रमणलाई रोक्न मंगलबार महानगरीय ट्राफिक महाशाखाले पठाओको नाम लेखिएको कपडा लगाएर सेवा दिन प्रतिबन्ध लगाएको छ । ट्राफिक प्रहरीबाट आएको उक्त निर्देशनसँगै पठाओले तत्कालै सेवा अवरुद्ध गरेर पठाओमा आवद्ध चालकलाई पठाओ अंकित कपडा नलगाउन जानकारी गराएको छ ।
पठाओ नेपालका प्रमुख असिममान सिंह बस्न्यात भन्छन, ‘हामीले सुरुमा ट्राफिक प्रहरीको निर्देशनलाई मान्दै चालकलाई जानकारी दिएरमात्रै सेवा सुरु गर्न सेवा अवरुद्ध गरेका थियौं । तर, सँगै पठाओको एप तथा सिस्टम पनि आवश्यक अपडेट गर्नुपर्ने थियो । उक्त अपडेटको काम लामो समयदेखि अड्किएर बसेको थियो । यही माहोललाई सदुपयोग गरेर अहिले सिस्टम अपडेटको काम चलिरहेको छ ।’
हिजो रातभर पनि सिस्टम अपडेटको काम भएको उनले बताए । जसले गर्दा बाइक बाहेकका अन्य सेवा पुनः सञ्चालनमा आइसकेको छ । बस्न्यातले भने, ‘अब बाइक राइडिङ सेवाकाे काम पनि अन्तिम चरणमा छ । आज दिउँसो अथवा बेलुकासम्म बाइकको सर्भिस पनि सुरु हुनेछ ।’
न पठाओ मा लगानी, न पठाओ का कर्मचारी, न पठाओ चढ्ने सबैको हैसियत! तैपनि आममानिस #IamWithPathao लेखेका छन्! कारण- पारदर्शिता र इमान्दारिता नै होला! जुन खडेरी परेको अवस्था छ! कथमकदाचित एउटा ब्यक्ति यस्तैखाले निस्किए मारिदिने रैछन् यिनीहरुले!