close

आईफोन प्रयोगकर्ताले जान्नैपर्ने आईओएस १५ का नयाँ फिचर

टेकपाना टेकपाना

भदौ १५, २०७८ २२:५१

आईफोन प्रयोगकर्ताले जान्नैपर्ने आईओएस १५ का नयाँ फिचर

काठमाडौं । यो वर्षको अन्त्यतिर एप्पल प्रयोगकर्ताले आफ्नो आईफोन र आईप्याडमा क्रमश: आईओएस १५ र आईप्याड ओएस १५ को अपडेट पाउँदैछन् । यो अपडेटमा प्रयोगकर्ताले प्राइभेसी टुल्स, डु नट डिस्टर्ब र फेस टाइम फिचरमा धेरै परिवर्तन देख्नेछन् ।

हाललाई भने यसको बेटा भर्सन मात्र सार्वजनिक गरिएको छ । यीबाहेक आईओएस १५ का अन्य फिचरहरू पनि छन्, जसको बारेमा एप्पलले सार्वजनिक कार्यक्रममा कुनै चर्चा गरेको थिएन । 

स्क्यान 

अब तपाईंले तपाईंको आईफोनको क्यामेराबाट स्क्यानको सुविधा पनि लिन सक्नुहुन्छ । कुनै बोर्ड, पोस्टर अथवा स्क्रिनमा देखिएका शब्दहरू तपाईंले आफ्नै क्यामेराबाट स्क्यान गरेर सो शब्दहरु अक्षरमा परिवर्तन गर्न पनि सक्नुहुन्छ ।

त्यसका लागि क्यामेराबाट कुनै बोर्ड अथवा कार्डमा भएको टेक्स्टमा फोकस गरेर लामो समयसम्म स्क्रिनमा दबाउने । त्यसपछि त्यहाँ रहेका शब्दहरू कपी गरेर आफूले चाहेको फोल्डरमा पेस्ट गर्ने ।

त्यस्तै तपाईंले कुनै दस्तावेजहरु स्क्यान गरेर पनि राख्न सक्नुहुन्छ । यो फिचरले कुनै बिजनेस कार्डबाट फोन नम्बर वा ईमेल आईडी लिनका लागि पनि धेरै सहज हुनेछ । 

वर्षा र हिमपातको रियल टाइम नोटिफिकेशन 

नयाँ अपडेटसँगै अब आईफोनको ‘वेदर म्याप’ मा वर्षा र हिमपानको रियल टाइम नोटिफिकेसन पनि आउने भएको छ । आईओएस १५ अपडेट गरिसकेपछि तपाईंले पानी र हिउँ परेको थाहा पाउन यसको रियल टाइम नोटिफिकेसन अन गर्नुपर्नेहुन्छ ।

त्यसका लागि ‘वेदर एप’ अन गर्नुहोस् । अनि त्यहाँ भएको तीनवटा डटमा क्लिक गर्नुहोस् र स्क्रिनको दाहिनेपट्टि माथि भएको गोलो आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ दिएको निर्देशनअनुसार ‘माई लोकेशन’ मा गएर नोटिफिकेसन अन गर्न सक्नुहुनेछ । 

ड्रयाग एण्ड ड्रप 

आईप्याडमा मात्र भएको ‘ड्रयाग एण्ड ड्रप’ अप्सन अब आईप्याडमा पनि आउने भएको छ । आईओएस १५ को अपडेटसँगै अब तपाईले आइफोनबाट पनि डकुमेन्ट, टेक्स्ट अथवा फोटोहरू ड्रयाग गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि आफ्नो फोन अपडेट भइसकेपछि ‘फोटोज’ मा जानुहोस् । कुनै फोटोमा औंलाले लामो समयसम्म क्लिक गरेर स्क्रिन माथितिर ड्रयाग गरेर म्यासेज एपमा स्वीच गर्न सक्नुहुन्छ । 

आफ्नो आईफोनमा भएको फोटोहरूको थप जानकारी पाउनुहोस् 

हाल आईफोनमा फोटोको विवरण थाहा पाउनको लागि अर्को कुनै एप प्रयोग गर्नुपर्ने हुन्थ्यो भने अब यो नयाँ अपडेट सँगै फोटोलाई माथि स्वाइप गरेर फोटो तपाईंले नै खिच्नु भएको हो वा तपाईंले अन्य कुनै स्रोतबाट सेभ गर्नुभएको हो लगायत फोटो खिचेको समय देखि लिएर यसको लोकेसन र सटर स्पिडसम्मको विवरण पाउन सकिन्छ ।  

फरक एपको लागि फरक फन्ट साइज प्रयोग गर्ने 

अहिले यदि तपाईंलाई तपाईंको फोनको फन्ट साइज परिवर्तन गर्नुपर्यो भने तपाईंले फन्ट चेन्ज गर्दा सबै एपको फन्ट एकैपटक परिवर्तन हुन्छ । तर अब यो नयाँ अपडेट सँगै तपाईंले आफ्नो अनुकुलता अनुसार फरक फरक एपको फरक फरक फन्ट साइज राख्न सक्नुहुन्छ ।

यो फिचर प्रयोग गर्नको लागि सेटिङमा गएर कन्ट्रोल सेन्टरमा जानुहोस् । त्यहाँ तपाईंले लेभल टेक्स्ट साइज भन्ने अप्सन भेट्नुहुन्छ । त्यहाँ क्लिक गरेर आफूले चाहेको एपको मात्र फन्ट साइज परिवर्तन गर्न सक्नुहुन्छ ।

अन्य नयाँ फिचर के छन् ?

एप्पलले आईओएस १५ को साथमा आईफोनमा यस वर्ष निकै धेरै परिवर्तनहरु ल्याएको छ । एप्पलले दैनिकीलाई सहज बनाउनका लागि ससाना कुराहरुमा धेरै ध्यान दिएको छ । यसपटक नयाँ स्टिल वालपेपर तथा रिडिजाइन नोटिफिकेसनसँगै इन्टरफेसमा समेत परिवर्तन गरेको छ ।

यस वर्ष एप्पलले नोटिफिकेसनमा धेरै नै काम गरेको छ । अब प्रयोगकर्ताले डीएनडी, ड्राइभिङ, वर्क, होमको रुपमा छुट्टाछुट्टै प्रोफाइल तयार पार्न सक्छन् । यीमध्ये कुनै पनि प्रोफाइल चयन गर्दा आईफोनले त्यसमा भएका नोटिफिकेसन मात्र तपाईंलाई पठाउनेछ । जुन नोटिफिकेसन तपाईंलाई अनावश्यक लाग्छन्, त्यस्ता नोटिफिकेसन आउने छैनन् ।

साथै एकसाथ सबै नोटिफिकेसनलाई देख्न सकिने विकल्पसमेत दिइएको छ । यसपटक नोटिफिकेसन यूआईलाई एन्ड्रोइडको जस्तै बनाइएको छ । जसले गर्दा फोनमा तपाईंको नियन्त्रण बढी हुनेछ । यदि तपाईं डीएनडी इनेबल गर्नुहुन्छ भने तपाईंलाई ‘आईमेसेज’ मा म्यासेज पठाउने प्रयोगकर्तालाई तपाईंको डीएनडी अवस्थाको बारेमा स्वतः जानकारी पुग्नेछ ।

यसबाहेक फेसटाइममा पनि निकै परिवर्तन देख्न सकिन्छ । जस्तै ब्याकग्राउण्ड न्वाइज रिडक्सन, भिडियो कलिङमा पोट्रेड मोड इफेक्ट र ग्रुप कलमा ग्रिड भ्यू उपलब्ध छ । ‘शेयर प्ले’ को माध्यमबाट आईफोन प्रयोगकर्ताले भिडियो कलमार्फत एकसाथ भिडिओ हेर्न वा म्युजिक सुन्न सक्छन् ।

यसबाहेक एन्ड्रोइड प्रयोगकर्ताले वेब ब्राउजरको माध्यमबाट फेसटाइम लिङ्कमार्फत फेसटाइम कल समेत गर्न सक्छन् । यसबाहेक सफारीमा स्मार्ट ट्याप म्यामेजमेन्टमा परिवर्तन गरिएको छ । सर्च बारलाई सबैभन्दा तल राखिएको छ । जसबाट तपाईं अर्कोमा जानका लागि स्विच गर्न सक्नुहुन्छ ।

क्यामेराको कुरा गर्ने हो भने अन्य एपमा कपी गर्ने वा नोट्सको रुपमा सेभ गर्नका लागि फोटोबाट टेक्स्ट स्क्यान गर्न सकिन्छ । स्पटलाइट सर्चले अब त्यस्ता फोटो तथा वेबको जानकारी देखाउँछ, जुन तपाईंका लागि महत्वपूर्ण छन् ।

सिरीको प्रयोग अफलाइनमा समेत गर्न सकिन्छ । त्यस्तै प्राइभेसीको कुरा गर्ने हो भने तपाईंले इन्स्टल गरेका सबै एपले तपाईंको डेटा कहाँ सेभ भइरहेको छ र त्यसलाई कसरी ट्र्याक गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनेछ ।

आईओएस १५ अपडेट ‘आईफोन सिक्स एस’ पछिका नयाँ मोडेलमा उपलब्ध हुनेछ । जसमा आईफोन सेभेन सिरिज, आईफोन एट सिरिज, आईफोन एक्स, आईफोन एक्स एस सिरिज, आईफोन एक्स आर, आईफोन इलाभेन, आईफोन ट्वेल्भ, आईफोन एसई, आईफोन एसई २०२० र आईपड टच सेभेन्थ जेनेरेसन रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३