close

यातायातका काममा पूर्णरुपमा अनलाइन प्रणाली नहुँदा सेवाग्राहीलाई सास्ती

टेकपाना टेकपाना

भदौ १७, २०७८ १९:४५

यातायातका काममा पूर्णरुपमा अनलाइन प्रणाली नहुँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं । बागमती प्रदेशले यातायात कार्यालयहरुमा हालै टीएमआईएस (यातायात व्यवस्थापन सूचना प्रणाली) सुरुवात गरेको छ । यसमार्फत सवारी साधन दर्ता तथा नवीकरणको भुक्तानी अनलाइनबाटै गर्न सकिने छ ।

साथै यस प्रणालीअन्तर्गत ब्लुबुक नवीकरण र दर्ताका लागि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।

यातायात कार्यालयमा दिनभर लाइनमा बसेर पैसा बुझाउनुपर्ने झन्झटको अन्त्य गर्ने उद्देश्यका साथ यसकाे सुरुवात गरिएकाे भनिएता पनि ग्राहकले कार्यालयमा बेहोर्नुपर्ने झन्झट भने कायमै रहेकाे छ ।

बागमती प्रदेशका सबै यातायात कार्यालयमा टीएमआईएस प्रणालीबाट भुक्तानी सुरु भइसकेकाे छ ।

सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा नजिकको कार्यालय छनौट गरी रकम भुक्तानी गर्न सक्छन् । त्याे हुँदा अनलाइनबाट रकम भुक्तानी गरेर आउने क्रम बढेको यातायात कार्यालय, गुर्जुधाराका सूचना अधिकारी सुरेश खनालले बताए ।

‘यसअघि ब्लुबुक देखाएर कति कर लाग्छ, यकिन गराउने र बैंकमा गएर लाइन बसी भौचर भर्नुपर्थ्यो । भौचर लिएर कार्यालयले रसिद काटिदिए पछि ब्लुबुक प्रमाणित गराउन पर्थ्यो’, उनले भने, ‘अब यी सबै झन्झटबाट ग्राहक मुक्त हुनेछन् । सकेसम्म अनलाइन भुक्तानीको रसिद प्रिन्ट लिएर आउने हाे भने मोबाइलमै भएको रसिद पनि प्रमाणित गरेर पठाउँछौं । तसर्थ समयको बचत हुने र १० मिनेटमा नै काम सकिन्छ ।’

तर, हालकाे अवस्थामा कार्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखलाई मात्रै सिस्टमको युजरनेम पासवर्ड उपलब्ध हुँदा कार्यालयमा पुगेर कार्यकक्ष धाउने झन्झट बाँकी नै छ ।

‘जब मन्त्रालयबाट सबै कर्मचारीलाई हुनेगरी युजरनेम र पासवर्ड आउँछ, तब अनलाइनबाट रकम भुक्तानी गरी आउने सेवाग्राहीले तोकिएको कर्मचारीबाट सजिलै सेवा प्राप्त गर्न सक्छन्,’ खनालले भने ।

कहिले काहिँ भने सिस्टममा भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) डेटा नदेखिनाले अकाउन्टको पैसा काट्ने र टीआईएमएसमा नदेखिने हुँदा सेवाग्राहीहरु आत्तिने गरेका छन् ।

खनाल भन्छन, ‘सिस्टममा सुधार भइरहेकाले यो वर्ष सेवाग्राहीले डेटा अपग्रेड गरिसकेपछि अर्को वर्षबाट घरमै बसी ढुक्कले सेवा लिन सक्नेछन् । सुरुवाती अवस्थामा आउने समस्यालाई सामान्य रुपमा लिनुपर्छ ।’

अर्कोतर्फ अहिले कनेक्ट आईपीएसबाट मात्र भुक्तानी गर्न मिल्छ । यातायात व्यवस्था मन्त्रालयका सूचना प्रविधि विज्ञ इन्जिनियर सुदिप फुयाँल भन्छन, ‘जसका कारण सबै सेवाग्राहीहरूलाई समेट्न सकिएको छैन । त्यसैले हाल अन्य भुक्तानी सेवाप्रदायकसँग जोडिनका लागि प्रक्रिया चलिरहेको छ ।

त्यतिमात्रै नभएर सिस्टममा हाल केही बीमा कम्पनीमात्र जोडिएकाले सबै सेवाग्राहीलाई सेवामा जोड्न नसकिएको फुयाँल बताउँछन् । अहिले सिस्टममा चारवटाबीमा कम्पनी जोडिएका छन् ।

उनले भने, ‘जसमा शिखर लाइफ इन्स्योरेन्स, सगरमाथा लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । यदि सेवाग्राहीले अन्य बीमा कम्पनीबाट सवारी बीमा गरेको खण्डमा तत्कालका लागि सम्बन्धित बीमा कम्पनीमा गएर रकम भुक्तानी गर्नुपर्नेछ ।’

यद्यपि एक हप्ताभित्र सबै बीमा कम्पनीहरूलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने बनाउने प्रक्रिया भइरहेको फुयाँलले बताए ।

यसरी अनलाइनमा भुक्तानी गरेको एक महिनाभित्र सेवाग्राहीले सम्बन्धित कार्यालयमा गएर ब्लुबुक प्रमाणित गराउनपर्ने हुन्छ ।

यदि एक महिनाभित्र उपस्थित हुन नसके कार्यालयले तोकेको शुल्क तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३