close

यस्तो छ नेपाली बजारमा उपलब्ध पानासोनिकको नयाँ स्मार्ट टिभी

हरिजङ्ग थापा हरिजङ्ग थापा

भदौ १९, २०७८ १४:४६

यस्तो छ नेपाली बजारमा उपलब्ध पानासोनिकको नयाँ स्मार्ट टिभी

काठमाडौं । टेलिभिजन सूचना र मनोरञ्जनको साधन मात्रै होइन, घरको शोभा पनि हो । जमानासँगै स्लिम बन्दै गइरहेका टेलिभिजनमा गज्जब गज्जबका फिचरहरु थप भइरहेका छन् । सँगै थपिएको छ, गुणस्तर पनि ।

टेकपानाको अफिसमा ५५ इन्चको पानासोनिक फोरके टिभी आइपुगेको छ, जसको मोडल नम्बर मोबाइल नम्बर जत्तिकै लामो छ, TH- 55HX750M । करिब हप्तादिन यो टिभी चलाएर हेरेको अनुभवका आधारमा आज म यसको रिभ्यु गर्दै छु ।

यो एन्ड्रोइड टिभी हो । जसमा सँगै छन् युट्युव, नेटफिल्क्स, अमेजन प्राइम लगायत दर्जनौं भिडिओ प्लेटफर्म । यसको मतलब इन्टरनेट जोड्ने बित्तिकै आफ्नो मनखुशी भिडिओ वा मुभीहरु हेर्न सकियो ।

अर्थात टिभीले जे देखाउँछ त्यो हेर्ने होइन, आफूलाई जे मन लाग्छ, टिभीमा त्यही कुरा हेर्न मिल्यो । जुन सुविधा अहिलेका अधिकांश टिभीमा पाउन सकिन्छ ।

कुरा सुरु गरौं यो टिभीको लुक्सबाट । लिभिङ रुममा राख्नका लागि यो टिभी एकदमै उपयुक्त हुन्छ । भनेको मतलब यत्तिको टिभीलाई रुम पनि अलि ठूलै हुँदा राम्रो ।

झट्ट हेर्दा टिभी स्लिम देखिन्छ। स्लिम डिजाइनतर्फ आजकल मानिसहरुको अलि बढी आकर्षण भएकाले पनि होला, यो टिभीको फ्रेमलाई पनि सकेसम्म पातलो बनाइएको छ । जसले टिभीको स्क्रिनलाई ठूलो अनि आकर्षक बनाउन सघाएको छ । स्क्रिनमा बेजल्स थाेरै हुनु टिभीको अर्को राम्रो पक्ष भयो ।

मोटाइको कुरा गर्ने हो भने जम्मा २८० एमएमको छ, यसलाई स्लिम नै भन्न मिल्यो । तर तल्लो साइडमा टिभीकाे कम्पाेनेन्ट भएकाे हुनाले मोटाइ केही बढी नै छ ।

यद्यपि यो टिभीको तौल जम्माजम्मी साढे १० किलोको छ । त्यसैले यसलाई यताउता सार्नु पर्‍यो भने खासै झन्झट पर्दैन ।

अर्को कुरा भनेको टिभीसँगै मेटालिक स्ट्याण्ड आउँछ, जसले लुक्सवाइज त राम्रो देखाउँछ नै साथमा उत्तिकै बलियो पनि छ र टिभीलाई मज्जाले अड्याएर राख्छ ।

टिभीलाई भित्तामा टाँस्न मन लागे त्यो विकल्प पनि छ, तर दुःखको कुरा टिभी किन्दा वाल माउन्ट भने आउँदो रहेनछ, छुट्टै किन्नुपर्छ ।

टेलिभिजनको पछाडि पट्टी हेर्ने हो भने जाेय स्टिकजस्तो कन्ट्रोल बटन छ । रिमोटमा अपरझट ब्याट्री सकिए यो बटनबाट सजिलै टिभी कन्ट्रोल गर्न सकिन्छ।

कनेक्टिभीटीका लागि चल्तीका HDMIऽ USB सँगै AV-in पोर्ट पनि दिइएको छ ।

इन्टरनेट कनेक्सनको लागि ल्यान पोर्ट, डिजिटल अडियो आउट, USB 2.0 दुई वटा, HDMI Port 3 वटासँगै एन्टेना कनेक्सनका लागि पनि पोर्ट दिइएको छ।

तीनवटा HDMI मध्ये एउटा चाहिँ ARC HDMI हो, जसबाट हामीले साउण्ड सिस्टममा टिभीको अडियो पठाउन सक्छौं ।

स्पेसिफिकेशन कुरा गर्ने हो भने मुख्य कुरा त यो टिभी Ultra HD अर्थात 4K रेजुलेसनको हो । जसमा उच्च गुणस्तरको भिडिओ हेर्दा रियलमै हेरिरहेको छु भन्ने फिल हुन्छ ।

कलर कम्बिनेसन अनि डिटेलिङ एकदमै मज्जाले देखिन्छ । HDR10 भिडिओहरु पनि यसमा प्ले गरेर हेर्न सकिन्छ ।

जसले टिभीमा देखिने दृश्यलाई वास्तविक जस्तै देखाउन मद्धत गर्छ। हलमा गएर फिल्म हेर्ने परिपाटी नै हराउन लागेको बेला यत्तिको टिभीले फिल्म हललाई नै बिर्स्याउन बेर छैन ।

टिभीमा हेक्जा क्रोमा ड्राइभ प्रयोग भएको छ, जसकाे मद्धतले टिभीमा कलर जसरी क्यामेराले खिचिएकाे छ, झण्डै उस्तै देखिन्छ । कलर कम्बिनेसनलाई अझै राम्रो बनाउन standard/sport/vivid/game जस्ता पिक्चर मोडहरु दिइएको छ ।

अनि User मा गएर आफुखुशी यसलाई मिलाउन पनि सकिने भयाे । टिभीकाे एउटा मुख्य विशेषता यसकाे अडियाे क्वालिटी हाे ।

सामान्य टीभीको भन्दा यो टिभिको अडियोको गुणस्तर निकै नै राम्रो र ठूलो पनि सुनिन्छ ।

मेरो अनुभवमा यो टिभीमा तपाईंले छुट्टै स्पिकर पनि राख्नु पर्दैन । स्तरीय अडियोका लागि डिटिएस र डल्बी अडियो प्रविधिकाे प्रयोग भएको छ साथै विभिन्न मोडहरु दिइएको छ। जसले टिभीको साउण्ड क्वालिटीमा समेत खोट लगाउने ठाउँ दिएको छैन ।

आवाज राम्रो छ त भनिहालें । तर एक्लै बसेर अरुलाई डिस्टर्भ नगरी बिन्दाससँग सिरिज हेर्नुपर्यो भने टेन्सन लिनुपर्दैन । टिभीको अडियो Earbuds, wireless headphones बाट पनि सुन्न सक्नुहुन्छ ।

साथै Bluetooth Audio Link कै सहायतामा तपाईंले bluetooth speaker मा Audio link गरी अझै ठूलो आवाजमा घन्काउन पनि सक्नुहुन्छ ।

त्यति मात्र होइन bluetooth बाट कनेक्ट गरेर मोबाइलका मुभी अथवा गीत टिभीमा बजाउन पनि मिल्छ । यो सबै कामको लागि टिभीमा ब्लुटुथ 5.0 अनि 2.4 गिगाहर्ज वाइफाइ ब्याण्ड सपोर्ट गर्ने सिस्टम राखिएको छ ।

२ जबी र्‍यामसँगै ८ जीबीको स्टोरेज पनि यो टिभीमा उपलब्ध छ ।

एन्ड्राेइड १० अपरेटिङ सिस्टममा चल्ने भएकाले स्मार्टफोनमा जस्तै यो टिभीमा अरु पनि थुप्रै फिचरहरु छन् । यो टिभीमा तपाईंले आफूले चाहेको भिडिओहरू ‘भ्वाइस सर्च’ मार्फत खोज्न सक्नुहुन्छ । त्यसलाई अझै सजिलो बनाउन गुगल असिस्टेन्टका लागि रिमोटमा छुट्टै बटन पनि दिइएको छ ।

यसमा भएको ईन-बिल्ट क्रोमकास्ट फिचरले टिभीलाई एउटै नेटवर्कभित्रका कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलसँग कनेक्ट गर्न सकिन्छ । जसले अन्य डिभाइसमा हेरिरहेका सामग्री टिभीको ठूलो स्क्रिनमा सजिलै हेर्न मिल्छ ।

त्यस्तै Screen Cast भन्ने फिचरको प्रयोग गरेर हामीले अन्य डिभाइसको स्क्रिन शेयर गर्न पनि सक्छौं । मोबाइलमा भएका फोटो भिडिओ ठूलो स्क्रिनमा हेर्नका लागि यो फिचर उपयोगी हुन्छ ।

यही फिचरबाट हामीले आफ्नै स्मार्ट फोनलाई नै रिमोटको रुपमा प्रयोग गर्न पनि सक्छौं । अर्को फाइदाको कुरा HDMI केबलको सहायतामा हामीले यो टिभीलाई ल्यापटप वा कम्प्युटरको सेकेन्डरी मनिटरको रुपमा प्रयोग गर्न सक्छौं ।

कुनै पावर प्वाइन्ट प्रेजेन्टेसन दिनुपर्दा पनि यसैलाई उपयोग गर्न सकिन्छ । भिडिओ इडिट गर्दा वा गेम खेल्दा ठूलो स्क्रिन चाहियो भने त्यसमा पनि यो टिभी फिट हुन्छ ।

टिभीमा नेटफिल्क्स, अमेजन प्राइम, युट्युवलगायतका केही एपहरु प्रि-इन्स्टल छन् । साथमा गुगल प्ले स्टोर पनि भएकाले आफैंले पनि कतिपय एपहरु राख्न र हटाउन सकिन्छ ।

तर यो प्ले स्टोरमा टेलिभिजनका लागि अप्टिमाइज एपहरु मात्रै उपलब्ध छन् । स्मार्टफोनका लागि मात्रै बनाइएका एप यहाँ चल्दैनन् । जसकाे मतलब टिभीमा फेकबुक, टिकटक, इन्स्टाग्राम जस्ता एपहरू इन्स्टल गर्न सक्नुहुन्न । साथै पब्जी, फ्री फायर लगायतका गेम पनि खेल्न सक्नुहुन्न ।

तर यस टिभीमा दर्जनौ गमेहरु चाहिँ छन्, जसलाई जोयस्टिकको सहायतामा खेल्न मिल्छ ।

टिभीमा वेभ ब्राउजिङ पनि गर्न मिल्छ । तर ब्राउजरका लागि क्रोमलगायत अन्य ब्राउजिङ एपहरु इन्स्टल गर्न भने मिल्दो रहेनछ ।

टिभीमा भएको ब्राउजिङ एपबाट कुनै वेबसाइट खोल्नुपर्‍यो भने ल्यापटप वा कम्प्युटरमा जस्तो सजिलो चाहिँ रहेनछ । तर, यसमा माउस र किबाेर्ड जाेड्न मिल्छ, जसबाट रिमाेट भन्दा निकै सजिलाे हुन्छ ।

यदि तपाईंले मोबाइललाई रिमोट बनाएर यो काम गर्नु भयो भने चाहिँ निकै सजिलो हुने रहेछ ।

याे टिभी Ultra HD अर्थात 4K टिभी भएका कारण यसको visual मा खोट लगाउने ठाउँ खासै भेटिएन ।

सिधा बसेर हेर्नुस् वा साइडमा बसेर टिभीमा दृश्य उस्तै नै देखिन्छ । तर समस्या कन्टेन्टमा चाहिँ हुनसक्छ। तपाईं यदि एचडी वा त्योभन्दा कम क्वालिटीका कन्टेन्टहरु यो टिभीमा हेर्दै हुनुहुन्छ भने त्यो चाहिँ गतिलो देखिदैँन ।

किनकी ठूलो स्क्रिनमा सानाे कन्टेन्ट जुम हुँदा पिक्सेलहरु फाट्छ ।

लाइभ टिभी हेर्दा पनि HD Quality मा ब्रोडकास्ट भएका च्यानलहरु राम्रै देखिन्छन् । त्योभन्दा कम क्वालिटीको टिभी हेर्दा भने खासै राम्रो देखिँदैन । तर युट्युव वा नेटफ्लिक्सबाट स्तरिय भिडिओहरु हेर्न हाे भने यो टिभीमा साह्रै नै मज्जा आउँछ ।

त्यसैले यो टिभीको फाइदा उठाउन इन्टरनेट कनेक्सन अनिवार्य जस्तै हुन्छ ।

अब कुरा गरौं रिमोटको । रिमोटले ब्लुटुथ कनेक्सनको आधारमा काम गर्छ । त्यसैले टिभीतिर देखाइरहन जरुरी पर्दैन । जुन कुरा राम्रै हो ।

गुगल असिस्टेन्टको लागि नेटफ्लिक्सको लागि डेडिकेटेड बटन हुनु पनि अर्को राम्रो कुरा हो । अझै नेपाली परिप्रेक्ष्यमा त नेटफिल्क्ससँगै युट्युवका लागि पनि यस्तो बटन भइदिएको भए अझै राम्रो हुने थियो ।

अनि यो रिमोटको स्वरुप हेर्दा भने झलझली ठूलो ढाड भएको पुरानो टिभीको याद आउँदो रहेछ । भनेको मतलब टिभी जति अपडेटेड छ, त्यो अनुसार रिमोट रहेनछ ।

एकजोडी Triple A ब्याट्रीबाट चल्ने यो रिमोटले सायद, पहिले पहिलेका टिभी चलाउँदाका यादहरु ताजा गराउन चाहिँ पक्कै मद्दत गर्छ ।

अब कुरा गरौं मुल्यको । ५५ इन्चको यो टिभीको मुल्य एक लाख १२ हजार ९३० रूपैयाँ तोकिएको छ । ठ्याक्कै यही टिभी ६५ इन्चमा पनि आउँछ । जसको मूल्य एक लाख ९३ हजार ३ सय ९० रुपैयाँ पर्छ ।

टिभी भन्ने कुरा बारम्बार किनिरहने सामान होइन। फिचरका हिसाबले टिभी एकदमै अब्बल छ । भिजुअल क्वालिटी पनि गज्जबकै छ ।

साउण्ड उस्तै राम्रो सुनिन्छ । चित्त नपरे अनेकौं विकल्पहरु पनि दिइएको छ ।

हुन त Screen Cast, Web browsing टिभीको प्राथमिकतामा पर्ने चिज होइन, तैपनि यी कुराहरु एकदमै स्लो चल्छन् । सायद फिचर अनुसार टिभीमा र्‍याम थोरै भएको हो कि भन्ने महसुस चाहिँ मलाई भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३