काठमाडौं । कसैले तपाईं कहाँ हुनुहुन्छ भनेर सोधेकाे खण्डमा कहिले काहिँ ठ्याक्कै आफू बसेको ठाउँको जानकारी दिन समस्या भइरहेको हुन्छ । त्यस्तोमा तपाईंको घरमा पहिलोपटक काेही आउँदै छ भने आफैं लिन जानुपर्ने हुनसक्छ ।
यदि तपाईं फुर्सदमा हुनुहुन्छ भने त लिन जान पनि सकियो । तर फुर्सद छैन भने घरैमा बसीबसी पाहुनालाई घरसम्म ल्याउनका लागि स्मार्टफोनले सजिलो गरिदिएको छ ।
त्यस्ता धेरै विकल्पमध्ये यहाँ हामी तपाईंलाई फेसबुक म्यासेन्जरको प्रयोग गरी सहजै आफ्नो लोकेसन शेयर गर्ने तरिका सिकाउँदै छौं । जसले यदि तपाईं पहिलोपटक कुनै ठाउँमा पुग्नु भएकाे छ भने उक्त स्थानकाे लाेकेसन साथीलाई शेयर गर्न सक्नुहुनेछ ।
यो फिचर आईओएस तथा एन्ड्रोइडका दुवै स्मार्टफोनमा उपलब्ध रहेको छ । जुन प्रयाेगका लागि एकदमै सहज पनि छ । तर, यसरी लोकेसन शेयर गर्दा विश्वासिलो व्यक्तिलाई मात्र शेयर गर्नुहोस् । एकपटक तपाईंले शेयर गर्नुभएको लोकेसन उक्त व्यक्तिले अन्यत्र पठाउन मिल्ने हुनाले यसक दुरुपयोग पनि हुनसक्छ ।
सबैभन्दा पहिले तपाईंले लोकेसन शेयर गर्न चाहनुभएको व्यक्ति अथवा समूहको च्याट बक्स खोल्नुहोस् ।
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने टुलबारमा भएको चारवटा डट (थोप्लो) भएको आइकनमा क्लिक गर्नुहोस् । यदि आईफोन चलाउनुहुन्छ भने सोही स्थानमा ‘प्लस’ आइकनमा क्लिक गर्नुहोस् ।
अब मेन्युमा भएको लोकेसनमा क्लिक गर्नुहोस् ।
अब तपाईंले आफ्नो लोकेसन शेयर गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो लाइभ लोकेसन पनि शेयर गर्न सक्नुहुन्छ । जसमा तपाईंको मुभमेन्ट/हलचल समेत देख्न सकिन्छ । यसका लागि तपाईंले ‘स्टार्ट शेयरिङ लाइभ लोकेसन’ अप्सन छान्नुपर्ने हुन्छ । डिफल्टबाट लाइभ लोकेसन एक घण्टाका लागि शेयर हुन्छ । यदि तपाईंलाई अगाडि नै लोकेसन शेयरिङ बन्द गर्नुपरे ‘स्टप शेयरिङ लाइभ लोकेसन’ मा क्लिक गरी बन्द गर्न सक्नुहुन्छ ।
यदि तपाईं आफ्नो लोकेसन मात्र शेयर गर्न चाहनुहुन्छ भने सँगै रहेको पिन आइकनलाई यताउता सारेर लोकेसन छान्नुहोस्, ‘सेन्ड लोकेसन’ अप्सनमा क्लिक गरी लोकेसन सेयर गर्न सक्नुहुन्छ ।