काठमाडौं । पेन ड्राइभ, एक्सटर्नल हार्डड्राइभ जस्ता उपकरणको प्रयोग उल्लेख्य रुपमा हुने गरेको छ । विशेषगरी आफ्ना डेटालाई आफूलाई सहज हुने स्थानमा बोकेर हिँड्न यस्ता उपकरणको प्रयोग बढिरहेको हो ।
यस्ता उपकरणलालाई रिमुभेबल मिडिया पनि भन्ने गरिन्छ । यस्ता डिभाइसमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण रिमुभेबल मिडिया तथा यसबाट हुने जोखिमको विषयलाई लिएर जानकारी उपलब्ध गराएको छ ।
त्यसका आधारमा यहाँ हामी तपाईंहरूलाई यो विषयमा जानकारी दिँदै छौ ।
रिमुभेबल मिडिया के हो ?
रिमुभेबल मिडिया (Removable Media) डेटा भण्डारण गर्ने एउटा यस्तो उपकरण हो, जसलाई चालू अवस्थामा रहेका कम्प्युटर सिस्टममा सजिलै जोड्न सकिन्छ ।
उदाहरणका लागि यूएसबी फ्ल्यास ड्राइभ, रिमुभेबल डिक्स (ब्लु-रे डिक्स, डीभीडी, सीडी-रोम), मेमोरी कार्ड, एक्सटर्नल हार्ड ड्राइभ, डिजिटल क्यामेरा, अडियो रेकर्डर लगायत छन् ।
रिमुभेबल मिडिया सेक्युरिटी के हो ?
रिमुभेबल मिडियाबाट कम्प्युटरमा डेटा ट्रान्सफर गर्दा कम्प्युटर प्रणाली माल्वेयरबाट संक्रमित हुन सक्छ त्यस्तै कम्प्युटर प्रणालीबाट रिमुभेबल मिडियामा डेटा ट्रान्सफर गर्दा ती डिभाइस पनि संक्रमित हुन सक्छन् ।
यसरी हुन सक्ने सङ्क्रमणबाट सुरक्षित राख्न अपनाइने उपायहरू नै रिमुभेबल मिडिया सुरक्षा हो ।
रिमुभेबल मिडियाबाट हुनसक्ने जोखिमहरू के के हुन ?
असुरक्षित रिमुभेबल मिडिया प्रयोग गर्दा निम्न बमोजिमका जोखिमहरू हुन सक्छन्:
रिमुभेबल मिडिया कम्प्युटर तथा नेटवर्कमा माल्वेयर प्रवेश गर्न सक्ने ।
रिमुभेबल मिडिया तथा कम्प्युटर प्रणालीको संवेदनशील तथा महत्वपूर्ण डाटा गुम्न सक्छ ।
संस्थाको प्रतिष्ठामा क्षति पुग्न सक्छ ।
आर्थिक क्षति हुन सक्छ ।
रिमुवेवल मिडियाको सुरक्षा कसरी गर्ने ?
रिमुभेबल मिडियाको सुरक्षाको लागि निम्न उपायहरू अपनाऔं:
१. यूएसबी ड्राइभ, मेमोरी स्टिक्स, स्मार्टफोन, एसडी कार्ड एक्सटरनल हार्ड ड्राइभ, डीभीडीलगायतका रिमुभेबल मिडियालाई अरुको पहुँच नहुने गरी गोप्य स्थानमा राखौ ।
२. सामान्यतया संवेदनशील डाटालाई रिमुभेबल मिडियामा नराखौं ।
३. रिमुभेबल मिडियामा संवेदनशील डेटा राख्नै पर्ने भए होल डिक्सलाई सधै इन्क्रिप्सन गरेर राखौं ।
४. रिमुभेबल मिडियाको इन्क्रिप्सन पासवर्ड वा पासफ्रेज कसैलाई शेयर नगरौं ।
५. रिमुभेबल मिडियाको व्यक्तिगत कन्टेन्ट डिलिट गरेर मात्र अरुलाई प्रयोग गर्न दिने गरौं ।
६. आफ्नो कम्प्युटर/ल्यापटप/मोबाइल उपकरणमा विश्वसनीय एन्टिभाइरसको प्रयोग गरौं ।
७. रिमुभेबल मिडियालाई नियमित रुपमा स्क्यान गर्ने गरौं ।
८. असुरक्षित तथा सार्वजनिक कम्प्युटरमा आफ्नो रिमुभेबल मिडियालाई प्रयोग नगरौं ।
९. भेटाएको वा अपरिचित व्यक्तिबाट प्राप्त शंकास्पद रिमुभेबल मिडियालाई आफ्नो कम्प्युटरमा सिधै प्रयोग नगरौं ।
१०. रिमुभेबल मिडियामा भएका विवरणलाई ब्याकअप गरी राख्ने गरौं ।
११. कम्प्युटर प्रणालीको अटो प्ले/अटो-रन फिचरलाई डिसेवल गरेर राखौं ।
१२. संवेदनशील डेटा भएको रिमुभेबल मिडियालाई सुरक्षित साथ अरुले विवरण निकाल्न नमिल्ने गरी डिस्पोज गरौं ।