काठमाडौं । कोभिड–१९ को महामारीपछि संसारभर नै चिप अभाव भइरहेको छ । चिप अभावका कारण स्मार्टफोनदेखि सवारीको उत्पादनसम्म असर परेको छ । तर, चिप निर्माता कम्पनी इन्टेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्याट गेल्सिङले भने चिप अभावको समस्या तत्काल समाधान हुने देखिन्न ।
उनले चिप अभावको समस्या कम्तीमा पनि सन् २०२३ को अन्तिमसम्म रहिरहने दाबी गरेका छन् । ‘हामी अहिले खराब अवस्थाबाट गुज्रिरहेका छौं । आगामी वर्ष यो बिस्तारै सुध्रिँदै जाला तर सन् २०२३ सम्म हामीसँग चिपको माग र आपूर्तिबीच सन्तुलन हुने छैन,’ सीएनबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले भनेका छन् ।
विश्वको चर्चित चिप निर्माता इन्टेलको नेतृत्व गरिरहेका गेल्सिङले यसो भने पनि प्रतिस्पर्धी कम्पनी एमडी भने चिप अभावको समस्या चाँडै समाधान हुनेमा आशावादी देखिन्छ ।
कोड कन्फ्रेन्समा बोल्दै एमडीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लिसा शुले भने अहिले चिप अभावको केही समस्या देखिए पनि आगामी वर्ष यो समाधान हुने धारणा राखेका थिए ।
इन्टेलको डेस्कटप र ल्यापटपको चिप निर्माण गर्ने युनिटको आय यो वर्षको तेस्रो त्रैमासिकमा दुई प्रतिशतले घटेको छ । पर्याप्त चिप नहुँदा ल्यापटप र डेस्कटप उत्पादन गर्ने कम्पनीले बजारमा पर्याप्त सामान पठाउन सकेका छैनन् ।