काठमाडौं । सोनी पिक्चर्स नेटवर्क इण्डियाको ओटीटी प्लेटफर्म ‘सोनी लिभ’ अब नेपालमा पनि उपलब्ध हुने भएको छ ।
टेलिनेट प्रालिसँगको सहकार्यमा कम्पनीले नेपालमा सोनी लिभको सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध गराएको छ ।
यो ओटीटी प्लेटफर्म आईओएस, एन्ड्रोइड र वेब सबैमा उपलब्ध हुनेछ । नेपालका ग्राहकले यो वेबसाइटमा गई सोनी लिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट ई सेवा, आईएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सक्नेछन् ।
सब्सक्राइबरहरुले वेबसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री आदि यही प्लेटफर्ममार्फत हेर्न सक्नुहुनेछ ।
प्रयोगकर्ताहरुले यी सामग्रीहरु मोबाइल डिभाइसका साथै टिभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले पाँच वटासम्म प्रोफाइल बनाउन सक्नेछन् ।