काठमाडौं । सुरक्षा उपकरण उत्पादन गर्ने चर्चित कम्पनी दाहुवा टेक्नोलोजीले नेपाली बजारमा व्यवसाय विस्तार गरेको छ । अब नेपालका लागि मुइन इन्टरनेसनल प्रालिले दाहुवा टेक्नोलोजीको राष्ट्रिय वितरकको रुपमा कार्य गर्नेछ ।
आधुनिक प्रविधिबाट विभिन्न प्रकृतिका सीसीटिभी क्यामेराको उत्पादन तथा बिक्रीवितरण गरिरहेको दाहुवा टेक्नोलोजीले आफ्ना उत्पादनको उचित बजार व्यवस्थापन, वितरण तथा बिक्रीपछिको सेवाको सहजताको लागि मुइन इन्टरनेसनलसँग सहकार्य गरेको हो ।
दाहुवा टेक्नोलोजीका तर्फबाट नेपाल प्रतिनिधी माओ संकाई र मुइन इन्टरनेसनलका तर्फबाट महाप्रबन्धक सन्तोष गौतमले आगामी २०२२ जनवरी १ देखि लागू हुने सम्झौता गरे ।
चीनको दाहुवा ब्राण्डअन्तर्गत उपलब्ध हुने सबै उत्पादनको नेपालको लागि आधिकारिक राष्ट्रिय बिक्रेताको रुपमा मुइन इन्टरनेसनल प्रालि रहने छ ।
शनिवार आयोजित साे समारोहमा नेपालभरबाट नै थोक रुपमा विद्युतीय सुरक्षा सामग्रीको बिक्री गर्ने संस्थाका प्रतिनिधि उपस्थिति रहेका थिए ।
सन २०११ बाट नेपाली बजारमा प्रवेश गरेको मुइन इन्टरनेसनलले सीसीटिभी सर्भिलेन्स क्यामेरा, नेटवर्किङ प्रडक्ट, ई-पीएबीएक्स, अटोमेटिक सेन्सर डुअर प्रडक्ट, एक्सेस कन्ट्रोल सिस्टम, बायो मेट्रिक प्रडक्ट, फायर सेफ्टी प्रडक्ट लगायतका उत्पादन सयभन्दा बढी डिलरमार्फत विस्तार गरिरहेकाे छ ।