काठमाडौं । आजदेखि तिहार सुरु भएको छ । योसँगै आफ्ना साथीभाइ, दाजुभाइ, दिदीबहिनीबीच शुभकामना आदानप्रदान हुन थालेकाे छ । एकैपटक धेरैलाई सन्देश पठाउनुपर्ने अवस्थामा मोबाइलको म्यासेज प्रयोग गर्दा धेरै खर्च हुनसक्छ ।
हुन त मोबाइल म्यासेज जत्तिको भरपर्दो विकल्प अरु नहुन सक्छ । इन्टरनेटमा आधारित ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्ता ओटीटी म्यासेजिङ प्लेटर्फम प्रयोग गर्दा कोही साथी इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको खण्डमा म्यासेज समयमा नपुग्न सक्छ ।
यस्तोमा तपाईंले दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराएको ग्रुप म्यासेज प्रयोग गर्न सक्नुहुन्छ । अथवा एकैपटक ठूलो संख्यामा म्यासेज पठाउन मिल्ने सेवाप्रदायकबाट पनि सेवा लिन सक्नुहुनेछ ।
तर, यदि आफूले म्यासेज पठाउने साथीहरू निरन्तर इन्टरनेटको कनेक्सनमा छन् भने ओटीटी सेवाको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसमा तपाईंलाई म्यासेज पठाउन कुनै थप शुल्क बुझाइराख्नु पर्ने बाध्यता रहँदैन ।
त्यसैले म्यासेजिङ प्लेटर्फममध्ये पनि सबैभन्दा बढी प्रयोग हुने र सुरक्षित एपको रुपमा हेरिएको ह्वाट्सएपबाट एउटै म्यासेज धेरैलाई एकैपटक पठाउने सहज तरिका यहाँ हामी सिकाउँदै छौं । जसमार्फत तपाईंले आफ्ना साथीभाइलाई तिहारको शुभकामना सन्देश पठाउन सक्नुहुनेछ ।
ह्वाट्सएपमा एउटै म्यासेज धेरैलाई पठाउने धेर विकल्प छन् । त्यसमध्ये केही विकल्प यहाँ हामी प्रस्तुत गर्दैछौं ।
म्यासेज फरवार्ड गर्ने
एउटै म्यासेज एकैपटक धेरैलाई पठाउने विकल्पमध्ये एक म्यासेज फरवार्ड हो । त्यसका लागि सुरुमा म्यासेज लेखेर एउटा साथीलाई पठाउनुहोस् । अनि त्यही साथीलाई पठाएको म्यासेजमा क्लिक ‘फरवार्ड’ अप्सनमा क्लिक गरी पाँच जनालाई एकैपटक पठाउन सक्नुहुनेछ ।
तर, यसरी पठाएको म्यासेज प्राप्त गर्नेले उसलाई फरवार्ड गरेर पठाएको भन्ने जानकारी भने पाउने छ । यदि तपाईंले साथीले म्यासेज फरवार्ड गरेको हो भन्ने थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने यो विकल्प प्रयोग नगर्दा नै उपयुक्त हुनेछ ।
ब्रोडकास्ट लिस्ट
अर्को विकल्प भनेको ब्रोडकास्ट लिस्ट हो । एउटै म्यासेज धेरैलाई पठाउनका लागि यो विकल्प सबैभन्दा उपयुक्त हुनेछ । यसका लागि सुरुमा तपाईंले कसलाई म्यासेज पठाउने हो भने उनीहरूको एउटा ब्रोडकास्ट लिस्ट बनाउनु पर्नेहुन्छ ।
त्यति भएसँगै तपाईंले उक्त लिस्टमा भएको सबैलाई एकैपटक म्यासेज पठाउन सक्नुहुनेछ । ब्रोडकास्ट लिस्ट बनाउन ह्वाट्सएपको माथि दायाँ साइडमा रहेको ‘थ्री डट’ अप्समा क्लिक गर्नुहोस् ।
अब त्यहाँ तपाईंले ‘न्यु ब्रोडकास्ट’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी तपाईंले आफूले म्यासेज पठाउन चाहेको व्यक्तिहरूलाई जोड्दै जान सक्नुहुनेछ ।
यो लिस्ट तपाईंले आवश्यकता अनुसार परिवर्तन गर्न समेत सक्नुहुनेछ ।
ह्वाट्सएपको वेब भसर्नमा कपी पेस्ट
यो त्यति उपयुक्त विकल्प भने होइन । तर, पनि यदि तपाईं ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्नुहुन्छ भने यो विकल्प पनि उपयुक्त हुनसक्छ । किनभने सुरुमा एउटा म्यासेज लेखेर त्यसलाई कपी गर्दै कसलाई पठाउने हो उसको च्याटबक्समा पेस्ट गर्दै सेन्ड गर्न सकिन्छ । त्यो हुँदा एउटै म्यासेज पटक-पटक लेखी राख्नुपर्ने झन्झट रहँदैन ।