close

यस्ता छन् विश्वका ५ उत्कृष्ट विद्युतीय कार निर्माता कम्पनी

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १६:२६

यस्ता छन् विश्वका ५ उत्कृष्ट विद्युतीय कार निर्माता कम्पनी

काठमाडौं । पछिल्लो समय विद्युतीय कारको विस्तार विश्वव्यापी रुपमा निकै तिव्र रुपमा भइरहेको छ । गत जनवरी यता मात्रै २९ लाखभन्दा बढी विद्युतीय गाडीहरू बिक्री भइसकेका छन् । कार निर्माता कम्पनीहरूले बजारमा बिक्री गरेका विद्युतीय गाडीहरूको सङ्ख्याको आधारमा आज हामी उत्कृष्ट पाँच कार निर्माता कम्पनीको बारेमा चर्चा गर्दैछौँ । 

१. टेस्लाः

धेरैलाई थाहा भएकै कुरा हो, अमेरिकी कार निर्माता कम्पनी टेस्ला विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो । तर थोरैलाई मात्र थाहा छ कि अन्य विद्युतीय कार निर्माता कम्पनीहरू सहितको दाँजोमा चाहिँ टेस्ला वास्तवमा कति ठूलो छ ।

टेस्लाले सन् २०२१ को सुरुवाती नौ महिनामा छ लाख २७ हजार ३७१ ओटा विद्युतीय गाडी बिक्री गरेको छ । जुन विश्वको पूर्णः विद्युतीय कार बजारमा २१ प्रतिशतभन्दा केही बढी हो । टेस्लाको मोडेल ३ अहिलेसम्मकै धेरै बिक्री हुने विद्युतीय कार हो ।

गत वर्ष टेस्ला मोडेल थ्री ३ लाख ६५ हजार २४० युनिट बिक्री भएको थियो । यो एउटै मोडेलले विद्युतीय कार बजारको १२ प्रतिशत शेयर ओगटेको थियो । बजारमा उत्कृष्ट प्रदर्शन गर्ने टेस्लाका अन्य मोडेलहरूमा मोडेल वाई र मोडेल एस हुन् । मोडेल वाई कम्पनीको दोस्रो धेरै बिक्री भएको कार हो । 

२. एसएआईसी मोटरः

एसएआईसी मोटर कम्पनी एसएआईसी-जीएम-वुलिङ ग्रुप कार निर्माताको सहायक कम्पनी हो । जसले ब्रिटिस कार निर्माता एमजी मोटरको समेत स्वामित्व ग्रहण गरेको छ ।

यो चाहिँ विश्वको विद्युतीय कार बजारमा दोस्रो ठूलो कम्पनी हो । एसएआईसी मोटरले जनवरी यता चार लाख ११ हजार १६४ ओटा विद्युतीय कार बिक्री गरिसकेको छ । जुन विद्युतीय कार बजारको १४ प्रतिशत हो ।

गत वर्ष एसएआईसीले एक लाख १९ हजार २५५ युनिट वुलिङ होङगोङ्ग मिनिज विद्युतीय कार बिक्री गरेको थियो । चीनमा टेस्लाको उपस्थिति भए पनि एसएआईसीको वुलिङ होङगोङ्ग मिनी निकै लोकप्रिय कारको रुपमा धेरैको रोजाईमा रहने गरेको छ । 

३. भक्सवागनः

जर्मनको कार निर्माता कम्पनी भक्सवागन विद्युतीय कारको दौडमा टेस्लासँग प्रतिस्पर्धामा उत्रिने महत्त्वाकाङ्क्षामा छ । स्कोडा, औडी, ल्याम्बोर्गिनी, बेन्ट्ले र पोर्से जस्ता ब्रान्ड भक्सवागनकै स्वामित्वमा छन् ।

यस बाहेक कम्पनी विद्युतीय कारको विश्व बजारमा तेस्रो ठूलो विद्युतीय कार निर्माता कम्पनी पनि हो । यो ग्रुपले जनवरी यता दुई लाख ९२ हजार ७६९ युनिट विद्युतीय गाडी बिक्री गरिसकेको छ ।

यद्यपि टेस्लाले यही समयमा विश्वव्यापी रुपमा बिक्री गरेका विद्युतीय कारको दाँजोमा यो निकै कम हो । यसको साथमा भक्सवागनले विद्युतीय कार बजारमा करिब १० प्रतिशत हिस्सा ओगटेको छ । 

४. बीवाईडीः

चीनको दोस्रो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडी विश्व बजारमा चौथो ठूलो विद्युतीय कार निर्माता कम्पनीको रुपमा रहेको छ । जसले यस वर्ष एक लाख ८५ हजार ७९६ ओटा विद्युतीय कार बिक्री गर्न सफल भएको छ ।

जुन करिब ६.७ प्रतिशत जति हो । यसले ब्याट्रीमा आधारित बस, ट्रक लगायतका अन्य सवारीसाधन समेत निर्माण गर्दै आएको छ । कम्पनीसँग ई सिक्स थ्री-रो इलेक्ट्रिक एमपीभी थुप्रै विद्युतीय कारका मोडेलहरू छन् । 

५. हुन्डाईः

यस वर्ष बजारमा बिक्री भएका कार सङ्ख्याको आधारमा कोरियन अटो निर्माता कम्पनी हुन्डाई मोटर विद्युतीय कारको विश्व बजारमा पाँचौँ स्थानमा छ ।

कोना इलेक्ट्रिक एसयूभी सँगै बजार प्रवेश गरेको हुन्डाईले बजारमा शेयर हिस्सा बढाउने उद्देश्यका साथ आयोनिक इलेक्ट्रिक कारको रुपमा अगाडि बढेको छ । जनवरी यता हुन्डाईले एक लाख ३९ हजार ८८९ ओटा विद्युतीय कार बिक्री गरिसकेको छ । जुन ब्याट्रीबाट चल्ने कारहरूको बजारमा करिब पाँच प्रतिशत जति हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५