close

नेपालको बजेटभन्दा बढी मूल्यमा बिक्री हुँदै म्याकफी एन्टिभाइरस कम्पनी

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ २१:५६

नेपालको बजेटभन्दा बढी मूल्यमा बिक्री हुँदै म्याकफी एन्टिभाइरस कम्पनी

काठमाडौं । साइबर सुरक्षा सफ्टवेयर कम्पनी म्याकफी नेपालको कूल बजेटभन्दा बढी मूल्यमा बिक्री हुने भएको छ । लगानीकर्ताहरूको एक निजी समूहले म्याकफीलाई १४ अर्ब अमेरिकी डलर अर्थात करिब १६ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँमा खरिद गर्ने निश्चित भएको हो ।

जब कि नेपालको चालू आर्थिक वर्ष २०७८/०७९ को कूल बजेट १६ खर्ब ४८ अर्ब मात्रै छ । कम्पनीले यसको घोषणा सोमबार मात्रै गरेको हो । जोन म्याकफीले सन् १९८७ मा स्थापना गरेको म्याकफी आफ्नो कम्प्युटर एन्टिभाइरस सफ्टवेयरका लागि परिचित छ ।

संस्थापक म्याकफीले सन् १९९४ मै कम्पनी छोडेका थिए । त्यसपछि यो कम्पनी सन् २०१० मा इन्टेलले ७.६८ अर्ब डलरमा खरिद गरेको थियो । सन् २०१४ मा इन्टेलले सेक्युरिटी सफ्टवेयरको म्याकफी ब्रान्ड फेजआउट (खारेज) गरी  इन्टेल सेक्युरिटीको रुपमा रिब्रान्डिङ गर्ने घोषणा गरेको थियो ।

गत अक्टोबरमा कम्पनी पब्लिक स्टक मार्केटमा फर्किएको थियो । म्याकफीले गत जुलाईमा आफ्नो इन्टरप्राइज व्यवसाय निजी इक्विटी फर्म सिम्फोनी टेक्नोलोजी ग्रुपलाई चार अर्ब डलरमा बिक्री गरिसकेपछिको घोषणामा भनेको थियो कि यसले ‘विशुद्ध रुपमा उपभोक्ताको साइबर सुरक्षा’ लाई निरन्तरता दिनेछ ।

कम्पनीको सोमबारको घोषणा अनुसार लगानीकर्ताको ग्रुपसँगको डिल सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिसम्ममा सम्पन्न हुनेछ । यो लगानीकर्ताको ग्रुपमा एड्भेन्ट इन्टरनेसनल कर्प, पर्मिरा एड्भाइजर्स र क्रसप्वाइन्ट क्यापिटल पार्टनर्स रहेका छन् ।

कम्पनीबाट बाहिरिएपछि जोन म्याकफी जीवनको कठीन समयबाट गुज्रिए । सन् २०१२ मा बेलिजका अधिकारीहरूले छिमेकीको हत्यामा संलग्नता रहेको प्रश्न उठाएपछि उनी भागेर ग्वाटेमाला गए ।

गत मार्चमा जोन म्याकफीमाथि ‘पम्प एन्ड डम्प’ नामक क्रिप्टो करेन्सी मुद्रा ठगीको मुद्दा लाग्यो । जसमा सरकारी अधिकारीहरूले उनी र उनका बडिगार्डले आफ्ना ट्विटर फलोअरलाई केही निश्चित क्वाइनमा लगानी गर्न उक्साएको र त्यसको मूल्य बढेपछि बिक्री गरेर ठगी गरेको आरोप लगाएका  थिए ।

पछि स्पेनले उनलाई कर छली प्रकरणमा अमेरिका समक्ष सुपुर्दगी गर्ने अनुमति दिए लगत्तै म्याकफी बार्सिलोनाको जेलमा मृत अवस्थामा भेटिएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५