close

युट्युवलाई सदुपयोग गर्न नजानेको हाम्रो समाज

मेनुक्श मेनुक्श

पुस १, २०७८ १४:१

युट्युवलाई सदुपयोग गर्न नजानेको हाम्रो समाज

काठमाडौं । दिन प्रतिदिन प्रविधिको पहुँच सर्वसुलभ बनिरहेको छ । जसले आम सर्वसाधरणलाई सुसूचित रहन महत्वपूर्ण भूमिका खेलिरहेको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने यो अवधिमा प्रविधिले मारेको फड्कोमा कायापलट आएको छ ।

प्रविधिको विकासले मारेको छलाङसँगै आएका सकारात्मक र नकारात्मक प्रभावलाई नजरअन्दाज गरिरहन त अवश्य नै सकिँदैन । इन्टरनेटमा उपलब्ध सामग्रीलाई विश्लेषण गरेर राम्रा चिजमात्र लिन सक्नेगरी चेतनाको स्तर वृद्धि भइसकेको छैन ।

प्रविधिको आयाम र यसको प्रयोगलाई सन्तुलन गरेर अगाडि बढ्नु चुनौतिपूर्ण देखिन्छ । फलस्वरुप विशेषगरी नेपालजस्ता विकासशील देशका नागरिकमा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ ।

सामाजिक सञ्जालको सुलभताका कारण धेरैको पहुँच यसमा छ । सामाजिक सञ्जाललाई धेरैले मनोरञ्जनको साधनका रुपमा लिने गरेको पाइन्छ । फुर्सदको समयमा आनन्द प्राप्त गर्नका लागि आमदर्शक/श्रोताका लागि मनोरञ्जनको स्रोत हो, युट्युव ।

हुन त यसलाई धेरैलै सूचनाको भरपर्दो माध्यमका रुपमा लिने गरेको पाइन्छ । यद्यपि आज हाम्राे त्यो जमातमा ध्यान केन्द्रित भएको छ, जसले युट्युवलाई नितान्त मनोरञ्जन र रमाइलोका रुपमा लिने गरेका छन् ।

नेपालमा उत्पादन हुने मनोरञ्जनजन्य सामग्रीमा हामीले नजर राखेका छौं । जसमा प्र्याङ्क भिडिओ, कमेडी शाे, म्युजिक भिडिओ र रियालिटी शाे लगायत छन् । केही युट्युवरहरूले यस्तो प्लेटफर्मलाई जथाभावी सामग्रीहरू पोष्ट गर्न र नकारात्मक कन्टेन्ट फैल्याउनका लागि प्रयोग गर्ने गरेको पाइन्छ ।

समाचारका लागि युट्युवको भर पर्नेहरूका लागि भने अहिलेको युट्युव प्रचलनले गलत सूचनातर्फ डोर्‍याइरहेका छन् । दोहोरो अर्थ लाग्ने टाइटल राखेर युट्युवरहरूले दर्शकलाई झुक्याउने गरेका छन् ।

कतिपयले त सामान्य खबरलाई पनि सनसनीपूर्ण ढङ्गले प्रस्तुत गर्ने गरेका छन् । पछिल्लो समय पारिवारिक घटनालाई मिडियामा अत्यन्तै निच ढङ्गले प्रस्तुत गर्ने गरेको पाइन्छ । यसबाट समाजको सांस्कृतिक पक्ष धराशयी भइरहेको छ ।

समाजका सचेत वर्ग, यस किसिमको प्रवृत्तिबाट आजित भइसकेका छन् । दिनानुदिन बढिरहेको यस्तो किसिमको गतिविधिले साम्प्रदायिकतामा समेत मुठभेड सिर्जना गरेको छ ।

अहिले सिकाइको दायरा फराकिलो बनेको त छ नै । साथै इन्टरनेटको माध्यमबाट नयाँ पुस्तालाई आम्दानीको बाटो पनि खोलिदिएको छ । आफ्नो सीप र क्षमतालाई प्रस्तुत गरेर आम्दानी गरिरहेका छन् । यद्यपि धेरैले यसको गलत फाइदा उठाइरहेका छन् । 

थोरै, प्र्याङ्क भिडिओका विषयमा कुरा गराैं

प्र्याकंको अर्थ हुन्छ, मजाक अथवा ठट्टा । यस्ता भिडिओमा पूर्व जानकारी बिना नै कुनै व्यक्तिमाथि मजाक गरिन्छ, अत्याइन्छ । पछि प्र्याङ्क भएको जानकारी दिएर उक्त व्यक्तिलाई समेत रमाइलोको हिस्सा बनाइन्छ ।

नेपालमा कस्ता किसिमका प्र्याङ्क भिडिओहरू बनिरहेका छन् त । कतिपय प्र्याङ्क भिडिओमा नैतिकतामाथि नै प्रश्न उठाउने अवस्था छ । नियोजित ढङ्गले घटनाक्रम प्रस्तुत गरेर दर्शकहरूलाई मुर्ख बनाउने गरेका छन् ।

अश्लील गतिविधि प्रस्तुत गरेर केही युट्युवरले सामाजिक संस्कृतिमाथि कटाक्ष गरिरहेका छन् । 

हिंसाका घटना

केहि समयअघि मोरङमा एउटा यस्तो घटना भयाे, जसलाई जो कोहिले हेर्ने हिम्मत राख्दैनन् । यस्ताे दृश्य युट्युवमा केहीबेर मै भाइरल बनाइयाे । पछि उक्त भिडिओ हट्याे, तर पनि यस्ता किसिमका सामग्रीहरू बाहिरिँदा जनमानसमा पर्ने प्रभावलाई अनुमान लगाउन मुश्किल हुन्छ ।

त्यस्ता किसिमका सामग्री मानसिक स्वास्थ्यमा समस्या भएका व्यक्ति र बालबालिकाको पहुँचमा परे गहिरो चोट पर्न सक्छ ।

तर युट्युवरले झनै हाइलाइट गरेर राख्ने गरेका छन् । भ्युज र सब्सक्राइबरको लोभमा मनलाग्दी गर्ने यस्तो प्रवृत्तिबाट असीमित रूपमा मानिसहरूलाई प्रभावित तुल्याएको छ । साथै यस्ता सामग्रीले कतिपयलाई त त्यस्तै गतिविधिमा दुरुत्साहन गर्न सक्छ । 

मानसिक प्रभाव

युट्युवमा सार्वजनिक भिडिओ कन्टेन्टले भ्रामक जीवनशैलीलाई प्रसय दिएको छ । सार्वजनिक रुपमा देखिने जीवनशैलीलाई  आमदर्शकले रुचाउने गर्छन् र त्यस्तै जीवनशैली अपनाउने प्रयत्न गर्छन् । जसले गर्दा समाजमा देखावटीपन फैलिएको छ ।

यसरी देखासिखी गर्ने प्रवृत्तिले समाजको सांस्कृतिक र मौलिक पाटोमाथि गहिरो प्रहार गरेको छ । साथै ज्यादा हाइलाइटमा आउने गरेका जीवनशैलीसँग आफ्नो जीवनशैली तुलना गरेर धेरै दर्शक चिन्तित हुने गर्दछन् । परिणामतः मानसिक रुपमा नराम्रो प्रभाव पर्ने र आत्मविश्वासमा कमी आउने हुन्छ ।

गोपनीयता

ब्रेकिङ न्युज दिने होडमा युट्युवरले व्यक्तिको गोपनियतालाई ध्यान दिँदैनन् । उनीहरू व्यक्तिको नाम, ठेगाना लगायतका व्यक्तिगत विवरण सकेसम्म बाहिर ल्याउने प्रयत्नमा हुन्छन् । जसले गर्दा सम्बन्धित व्यक्तिलाई समाजमा पुनःस्थापन हुन निकै चूनौतीपूर्ण हुन्छ ।

पैसा कमाउने उद्देश्यले केहि युट्युवरले जथाभावि कन्टेन्ट प्रस्तुत गर्छन् । जसले सामाजिक संस्कार, मौलिकता, पहिचान माथि प्रश्न चिन्ह उठाएको छ । यस्ता कन्टेन्ट र क्रियटरलाई निरुत्साहित गर्न आम दर्शकहरूले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२