close

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

पुस ५, २०७८ १५:४८

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको छ ।

पुस ११ देखि माघ ४ गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाइएको छ । त्यस्तै माघ ५ देखि सात दिनसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ । विद्यार्थीले यो वेबसाइटमा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित काेर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो ।

अध्ययनका लागि योग्यता

यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ ।

तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् :

१. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पूरा गरेको हुनुपर्ने ।
२. सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने ।
३. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
४. त्रिविले लिने इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण हुनेपर्ने ।
५. आवश्यक सम्पूर्ण निवेदन प्रक्रिया पुरा गर्नुपर्ने ।

कोर्षमा के-के छ ?

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ ।

पौडेलका अनुसार कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

चार वर्षको अवधीमा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ । जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ भने तेस्रो बर्षबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मन पर्ने एउटा विषय छनौट गरेर पढ्न पाउँछन् ।

पौडेलका अनुसार विद्यार्थीको मूल्यांकन ग्रेडिङ सिस्टम (जीपीए) मा हुन्छ । जसमध्ये धेरैमा ८० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

तर, प्रोजेक्ट वर्क भएका विषयको हकमा ६० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कन र २० अंक प्रोजेक्ट मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

सातौं सेमेस्टरमा विद्यार्थीले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नुपर्ने हुन्छ । जसमा उत्तीर्ण हुन ४० अंक ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौं सेमेस्टरमा विद्यार्थीले २०० पूर्णाङ्कको लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ । जसमा पास हुन ८० अंक ल्याउनुपर्ने हुन्छ ।

यस्तो छ विस्तृत काेर्ष

B.Sc_.CSIT-First-Two-Years

पढेर के पाइन्छ ?

बीएससी सीएसआईटी अवसर नै अवसर भएको विषय भएको बताउँछन् पौडेल । उनी भन्छन्, ‘हाल वार्षिक रुपमा १२ सय देखी १५ सयको हाराहारीमा बीएससी सीएसआईटीबाट विद्यार्थी निस्किन्छन् । यसरी निस्किएका विद्यार्थीले बेरोजगार भएँ भनेर आजसम्म कलेजमा भन्न आएको सुनिएको छैन ।’

पढाईको हिसाबले कोर कम्प्युटर साइन्सको ज्ञानका साथै आईटीको पनि ज्ञान हुने हुँदा आफूलाई मन लागेको हरेक क्षेत्रमा वसर छ । अझ पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोगमा उल्लेख्य वृद्धि भइहरहेको छ ।

यस्तामो त झन अझ बढी अवसर सिर्जना भएका छन् । हालको अवस्थामा सबैभन्दा ठूलो बजार भनेको बैंकिङ नै हो ।

तर, आईटी क्षेत्रमा धेरै उच्च आम्दानी गर्न सकिने काम गर्न सकिन्छ । उनीहरुले आफैंले आफ्नो कम्पनी खडा गरी त्यसलाई सञ्चालन गर्ने, एप बनाएर विदेशमा बेच्ने, सरकारी कार्यालयमा काम गर्ने, आउटसोर्सिङका काम गर्ने लगायतका धेरै अवसर यसले जुटाउन सक्छ ।

करियरको हिसाबले विद्यार्थीले सिस्टम एनालिस्ट, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम म्यानेजर, प्रोजेक्ट म्यानेजर, सफ्टवेयर प्रोग्रामर, वेब डेभलपर, वेब डिजाइनर, आईटी अफिसर, इन्फरमेसन सेक्युरिटी एनालिस्ट, डेटाबेस डिजाइनर, डेटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर, ग्राफिक्स डिजाइनर, इन्फरमेशन सिस्टम अडिटर, सफ्टवेयर क्वालिटी अस्योरेन्स इन्जिनियर, टेक्निकल कन्टेन्ट राइटर, क्रिप्टोग्राफर, एप्लिकेसन डेभलपर, टेलिकम्युनिकेसन इन्जिनियरलगायतको भूमिकामा काम गर्न सक्ने पौडेल बताउँछन् ।

त्यसभन्दा पनि आफूसँग नयाँ सोच भएको खण्डमा विद्यार्थी आफै आन्ट्रप्रेनरको रुपमा काम गर्न सक्दछन् । जुन अहिलको समयमा सबैभन्दा ठुलो अवसर पनि हो ।

किन पढ्ने ?

यो विषय पढ्ने वा नपढ्ने विद्यार्थीको रुचीमा भर पर्छ । यदि कुनै विद्यार्थीलाई कम्प्युटर र आईटीमा रुची छ, अनुसन्धानमा र सफ्टवेयर डेभलपमेन्टमा रुची छ भने त्यस्ता विद्यार्थीको लागि यो सबैभन्दा उत्कृष्ट कार्यक्रम हो ।

आईटीमात्रै गर्दा सफ्टवेयर तथा कुनै कम्पनीमा काम गर्नुपर्ने हुन्छ होला । तर, यसमा विद्यार्थीले ठूलो ठूलो अध्ययन अनुसन्धानमा सहभागी हुने मौका पाउन सक्छन् ।

त्यसो भएन भने पनि सफ्टवेयर डेभलपमेन्ट लगायतका क्षेत्रमा काम गर्न सक्छन् । तर यदि कुनै विद्यार्थीलाई हार्डवेयरमा रुची छ भने त्यस्तो विद्यार्थीका लागि भने यो सही विषय होइन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२