काठमाडौं । विश्वविद्यालय र कलेजले स्नातक तहका लागि धमाधम भर्ना प्रक्रिया सुरु गरेका छन् । विद्यार्थीहरु पनि आफ्नो रुचिका विषय छानेर भविष्य कोर्ने ध्याउन्नमा छन् ।
यस्तो अवस्थामा प्राविधिक विषय लिएर अगाडि बढ्न चाहने विद्यार्थीको संख्या बढ्दो छ । आज हामी सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रम ‘बीएड ईन आईसीटी’ बारे चर्चा गर्दैछौं ।
याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी, बीएड आईसीटीई, बीआईसीटीई लगायतका नामले पनि प्रचार गर्ने गर्छन् । त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो ।
पछि २०७० देखि बीएड ईन आईसीटी कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि उक्त विषयको अध्यापन सानोठिमी क्याम्पसमा स्नातकाेत्तर तहमा सुरु भयो ।
हाल यो विषय त्रि.वि. अन्तर्गतका ९ वटा आङ्गिक र ८ वटा सामुदायिक क्याम्पसहरुमा अध्ययन अध्यापन भइरहेको छ ।
उच्च मावि तहमा जुनसुकै संकाय वा विषय लिएका विद्यार्थीले बीएड आईसीटी पढ्न सक्छन् । याे कार्यक्रमले विद्यार्थीहरुलाई आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर साइन्ससँग परिचित गराउँछ ।
विद्यार्थीहरुले यसमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै प्रोग्रामिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्दति (टिचिङ पेडागोजी) जस्ता शिक्षा संकायका आधारभूत ज्ञान पनि पाउन सक्छन् ।
बीएड ईन आईसीटी अध्ययन गर्न चाहने विद्यार्थीहरुले शिक्षा शास्त्र संकायबाट लिइने इन्ट्रान्स परीक्षा भने उत्तीर्ण गर्नुपर्छ । ४ वर्ष तथा ८ सेमेस्टरको यो प्रोग्राममा १३२ क्रेडिट आवरको कोर्ष समावेश छ ।
जसमा १२ क्रेडिट आवर सञ्चार तथा सीपमूलक कोर्षहरु, २४ क्रेडिट आवर एजुकेसनल कोर कोर्ष, ६० क्रेडिट आवर स्पेसलाइज मेजर सब्जेक्ट, ३० क्रेडिट आवर सामान्य विषय र ९ क्रेडिट आवर टिचिङ इन्टर्नशिप तथा प्राक्टिकल रहेका छन् ।
उक्त क्रेडिट आवरले अन्तर्राष्ट्रियस्तरमा पनि सजिलै मान्यता पाउने उनी बताउँछन् । यो विषय पढ्न त्रिविका ९ आङ्गिक क्याम्पसहरुमा २० देखि ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने अन्य सामुदायिक क्याम्पसहरुमा भने ३० हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँभन्दा माथि लाग्छ ।
बीएड ईन आईसीटीको स्कोप अन्य अध्ययन संस्थान तथा संकायमा भन्दा फरक र बढी छ । बीएड ईन आईसीटी अध्ययन गरेका विद्यार्थीहरुले माध्यमिक तहमा कम्प्युटर विज्ञान पढाउनका लागि शिक्षा सेवा आयोगबाट शिक्षण लाइसन्स प्राप्त गर्न सक्छन् । यस्तो किसिमको व्यवस्था अन्य संकाय वा संस्थामा छैन ।
क्याम्पस र विद्यार्थी काेटा
| क्र.स. | क्याम्पस | विद्यार्थी काेटा |
| १. | सानोठिमी क्याम्पस, भक्तपुर | १२० |
| २. | बुटवल मल्टिपल क्याम्प्स, रुपन्देही | ८० |
| ३. | डढेल्धुरा मल्टिपल क्याम्पस, डडेल्धुरा | ४० |
| ४. | सिराह क्याम्पस, सिराह | ४० |
| ५. | सुर्खेत शिक्षा क्याम्पस, सुर्खेत | ८० |
| ६. | महेन्द्र रत्न क्याम्पस, काठमाडौं | ८० |
| ७. | बालकुमारी क्याम्पस, चितवन | ८० |
| ८. | आदिकवि भानुभक्त क्याम्पस, तनहुँ | ४० |
| ९. | हनुमन्ते क्याम्पस, दाेलखा | ४० |
| १०. | जनज्योति बहुमुखी क्याम्पस, सर्लाही | ४० |
| ११. | सुकुना बहुमुखी क्याम्पस, मोरङ | ४० |
| १२. | त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर | ४० |
| १३. | जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैं | ४० |
| १४. | काभ्रे बहुमुखी क्याम्पस , काभ्रे | ४० |
| १५. | विरेन्द्र मल्टिपल क्याम्पस, चितवन | ४० |
| १७. | गोरखा क्याम्पस, गोरखा | ४० |
यस्ताे छ पाठ्यक्रम
ICT-Education_IIपछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
