close

इन्टरनेटको नयाँ युग ‘वेब ३.०’ आउँदै, यसरी परिवर्तन हुँदैछ दुनियाँ

टेकपाना टेकपाना

पुस ८, २०७८ २१:६

इन्टरनेटको नयाँ युग ‘वेब ३.०’ आउँदै, यसरी परिवर्तन हुँदैछ दुनियाँ

काठमाडौं । पछिल्लो समय विश्वभर वेब ३.० को चर्चा भइरहेको छ । जुन डब्लूडब्लूडब्लू (वर्ल्ड वाइड वेब) को आगामी पुस्ता हो । जसले हालको वेब २.० को स्थान लिनेछ । बताइए अनुसार वेब ३.० मा डेटामाथिको नियन्त्रण कुनै कर्पोरेट वा सरकारको साटो स्वयम् व्यक्तिको हुनेछ ।

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

फेसबुकले आफ्नो कम्पनीको नाम मेटा राखेसँगै मेटाभर्सको खुबै चर्चा भयो । त्यसपछि अहिले आएर वेब ३.० को चर्चा त्यसैगरी भइरहेको छ । यो नयाँ शब्दले इन्टरनेट जगतलाई उत्साहित बनाएको छ । तपाईंले सोचिरहनु भएको होला, वास्तवमा यो वेब ३.० आखिर के होला ? यो अहिलेको वेब २.० को विकसित रूप हो ।

इन्टरनेटको यो भावी युगमा विभिन्न प्लेटफर्मका लागि तपाईंसँग छुट्टाछुट्टै अकाउन्ट आवश्यक पर्ने छैन । बरु त्यसको साटो एउटै इन्टरनेट अकाउन्ट हुनेछ । जसको सहयोगमा तपाईंले फेसबुक, ट्वीटर, गुगल, अनलाइन शपिङ, आदि प्रयोग गर्न सक्नुहुनेछ ।

साथै तपाईंका अनलाइन गतिविधि पनि सोही डिजिटल ब्याकबोनमा सूचीबद्ध हुनेछन्, जसमा बिटक्वाइन तथा ब्लकचेन जस्ता क्रिप्टोकरेन्सीलाई सपोर्ट गर्दछ । यसको सकारात्मक पक्ष के छ भने यसलाई कुनै केन्द्रिकृत शक्तिले नियन्त्रण गर्न सक्नेछैन ।

बरु सम्बन्धित व्यक्तिलाई नै आफ्नो डेटामा नियन्त्रण गर्ने अधिकार हुनेछ । वेब ३.० एप्लिकेसन अक्सर इथेरियम नामक प्रविधिमा आधारित हुने गर्छन् । 

यसरी बुझ्नुहोस् वेब २.० र ३.० बीचको अन्तर 

मार्च २०२० मा जब कोरोना महामारी सुरु भयो, त्यसपश्चात् अनलाइन सेवाहरू दैनिक जीवनका लागि अभिन्न अङ्ग बन्न पुगे । मानिसहरू किनमेल गर्छन्, खाना अर्डर गर्छन्, फिल्म हेर्छन्, इन्टरनेट माध्यम उपयोग गर्छन् र अनलाइनबाटै सरसामान खरिद बिक्री गर्छन् ।

ई-मेल, इन्टरनेटदेखि अनलाइन शपिङसम्मका सबै साइटहरू क्लाउडमा चल्ने गर्छन् । यसमा रिमोट डेटा स्टोरेज तथा प्रोसेसिङ सेवा इन्टरनेटको माध्यमबाट उपलब्ध हुन्छन् । अमेजन वेब सर्भिस, गुगल क्लाउड, माइक्रोसफ्ट अजुरे र अन्य क्लाउड सेवा बजारमा उपलब्ध छन् ।

यसको अर्थ यो हो कि कुनै पनि प्रयोगकर्ताहरूले यस्ता प्लेटफर्ममा शेयर गर्ने कुनै पनि जानकारी क्लाउड सेवाप्रदायक कम्पनीको सर्भर तथा डेटा सेन्टरमा स्टोर हुने गर्दछन् । इन्टरनेटको यही भर्सनलाई वेब २.० भन्ने गरिन्छ ।

जसको उपयोग हामी अहिलेको समयमा गरिरहेका छौँ । अब कुरा गरौं वेब ३.० को बारेमा, जुन वेबको आगामी पुस्ता हो । जहाँ सेवाहरू ब्लकचेन प्रविधिमा सञ्चालन हुनेछन् । यहाँनिर वेब २.० र ३.० को तुलना गरेर हेरौँ  ।

जहाँ क्लाउड प्लेटफर्म अथवा आफ्नै परिसरभित्र तयार पारिएको पूर्वाधार वेब २.० का लागि आधार तयार पार्दछन्, त्यहीँ वेब ३.० मा सबै सेवाहरू ब्लकचेनमा बनाउने गरिन्छ । यी दुवैबीचको मुख्य अन्तर भनेकै के हो भने क्लाउडलाई अमेजन, गुगल तथा माइक्रोसफ्ट जस्ता कम्पनीहरूले नियन्त्रण गर्दछन् ।

जुन केन्द्रिकृत हुने गर्छ । तर वेब ३.० मा ब्लकचेन प्रविधिको माध्यमबाट इन्टरनेटलाई विकेन्द्रित गरिन्छ । जुन सार्वजनिक ब्लकचेनमा सञ्चालन हुने गर्छ । जसको उपयोग हाल क्रिप्टोकरेन्सी लेनदेनका लागि समेत हुने गरेको छ ।

यो केन्द्रिकृत इन्टरनेट अर्थात वेब २.० भन्दा फरक हुनेछ । जहाँ मेटा, गुगल, अमेजन, एप्पल जस्ता शीर्ष कम्पनीले प्रयोगकर्ताको धेरै डेटा राखिरहेका छन् । क्रिप्टोकरेन्सीका लागि वेब ३.० महत्त्वपूर्ण छ ।

तर वेब ३.० यतिमा मात्रै सीमित छैन । यसको सबैभन्दा उपयुक्त उदाहरण भनेको एनएफटी (नन् फन्जिबल टोकन) हो । जसलाई क्रिप्टो सिक्काको उपयोग गरी खरिद गरिन्छ । 

कस्तो होला परिवर्तन ?

वेब ३.० किन महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्नु अघि इन्टरनेटको हालको भर्सन अर्थात वेब २.० को उद्देश्य याद गर्न जरुरी छ । जुन १९९० देखि अहिलेसम्म चलिरहेको छ । वेब १.० को सुरुवात स्टेटिक अर्थात पर्सनल वेब पेजबाट भएको थियो ।

गएको शताब्दीको अन्तिम दशकको सुरुवातमा सबै मानिसहरूका लागि इन्टरनेट नयाँ थियो । त्यस दौरान इन्टरनेटमा स्टेटिक अर्थात स्थिर पेज धेरै हुने गर्दथे । कुराकानी तथा अन्तरक्रियाको सम्भावना धेरै थिएन ।

त्यसपछि सन् २००० पछि वेब २.० आयो र त्यससँगै फेसबुक, युट्युव, अमेजन जस्ता ठूला कम्पनीहरू आए । यो समय प्रयोगकर्ताले इन्टरनेट सामग्री उत्पादन गर्ने अवधि रह्यो ।

जानअन्जानमा प्रयोगकर्ताले भिडिओ तथा तस्वीर खोज्ने गर्छन् । खरिद बिक्री अथवा कुनै सामग्री अनलाइनमा अपलोड गर्छन् । यसरी धेरै मात्रामा इन्टरनेट सामग्री र डेटा तयार हुन्छ ।

यी सबै डेटा त्यस्ता कम्पनीहरूको सर्भरमा स्टोर हुन्छ, जसको सहयोगमा मानिसहरू आपसमा अन्तरक्रिया गर्दछन् । यसको अर्थ यो हो कि बिचौलिया नै प्रयोगकर्ताको डेटाको संरक्षक बन्न पुगे र त्यसलाई प्रयोग गरी विज्ञापनको माध्यमबाट लाभ उठाउन थाले ।

स्टेटकाउन्टरको आँकडा अनुसार इन्टरनेट माध्यममा फेसबुकको बजार हिस्सा ७२ प्रतिशत छ । सामग्री तयार पार्न जति धेरै समय खर्च हुन्छ, कम्पनीहरूले उति नै धेरै डेटा एकत्रित गर्न सक्छन् । जसबाट उनीहरूलाई आफ्नो एआई एल्गोरिदम र विज्ञापन इन्जिन बलियो बनाउन सहयोग पुग्छ ।

यो यस्ता कम्पनीहरूका लागि आम्दानीको मुख्य तरिका हो । वेब २.० ले गोपनीयता र बौद्धिक चोरी जस्ता समस्या निम्त्याएको छ । तर अब आउने वेब ३.० मा यस किसिमको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अहिलेको इन्टरनेट दुनियाँमा मुल सामग्री कपी गर्नु र त्यसलाई इन्टरनेट माध्यममा पोस्ट गर्नु सामान्य कुरा हो । अमेरिकाको एक प्रविधि प्रत्रकार केसी न्युटनले जब सबैभन्दा धेरै हेरिने शीर्ष १९ पोस्टको विश्लेषण गरे, त्यसमा केवल चार ओटा मात्रै मुल रहेको पाइयो ।

जब कि बाँकी बौद्धिक चोरी प्रमाणित भए । वेब ३.० को माध्यमबाट यो मुद्दा हल गर्न सहयोग पुग्ने बताइन्छ । अहिले केही सीमित कम्पनीहरूले इन्टरनेट नियन्त्रण गर्छन् । तर अब नयाँ वेब ३.० मा यस्ता नयाँ इन्टरनेट नेटवर्क, सर्च इन्जिन आदि उपलब्ध हुनेछन्, जसमा त्यस्ता कम्पनीहरूको नियन्त्रण रहने छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२