काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक श्रम स्वीकृतिको सम्पूर्ण काम आज (आइतवार) देखि अनालाइनबाट मात्र हुने भएको छ ।
गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकाेमा आजदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगारी कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए ।
‘प्रविधिको प्रयोग गरेर सेवाग्राहीलाई पनि सहज हुने र हामीलाई डेटा संकलन लगायतका कामका लागि सहज हुने हिसाबले श्रम स्वीकृति सम्बन्धी सबै काम पुनः अनलाइनमार्फत गर्न लागेका हौं,’ उनले भने, ‘यसले भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सहज हुने विश्वास लिएका छौं ।’
पहिलेको भन्दा अहिले सफ्टवेयरमा पनि धेरै सुधार आइसकेका कारण नयाँ श्रम स्वीकृति लिने तथा नवीकरण गर्ने काम थप सहज हुने उनले दाबी गरे ।
विश्वको कुनै पनि स्थानबाट श्रम स्वीकृति नवीकरणका लागि अनलाइन मार्फत आवेदन दिन सकिने र कागजात अनलाइनबाटै लिन सकिने उनले बताए ।
‘यसका लागि अफिस नै आइरहनुपर्ने बाध्यता हटेको छ भने विदेशमा रहेका श्रमिकले पनि पुनः श्रम स्वीकृति कै लागि भनेर देशमा आइरहनु पर्ने बाध्यता हटेको छ,’ उनले भने ।