काठमाडौं । सपनाको सहर काठमाडौंमा अनुरोधकुमार गणेश पनि आफ्नो सपना पूरा गर्न झापाबाट आएका थिए । उनको सपना धेरै ठूलो थिएन; दुई छाक खान, राम्रो लाउन र परिवारको आर्थिक स्थिति उकास्नु थियो । यो सपनाले उनलाई विदेशसम्म पनि डोर्यायो ।
तर सोचे जस्तो कमाई नभएपछि स्वदेशमै फर्किए । गाउँमा आमाबुबासँग खेतीपाती गरेर बस्दा जुन आनन्द थियो, त्यो काठमाडौंमा छैन । तर उनको सपना काठमाडौंमै थियो, राम्रो कमाई गरेर घर धान्ने सपना । आज यही सपनाले बीचैमा विश्राम लिएको छ ।
‘म मध्यम वर्गीय परिवारमा जन्मेको मान्छे । घरको आर्थिक स्थिति खासै राम्रो थिएन र मैले कक्षा ११ भन्दा माथि पढ्न सकिनँ । हुन पनि घर धान्ने ध्याउन्नमा पढाइलाई अगाडि बढाउनुपर्ने सोच पनि आएन,’ आफ्ना पुराना दिन सम्झिँदै गणेशले भने, ‘गाउँमै बसेर गरेको खेतीपातीले पुग्ने स्थिति पनि थिएन । यस्तोमा मेरो एउटै विकल्प विदेश थियो ।’
त्यसपछि उनी दुबई गए । त्यहाँ तीन वर्षसम्म काम गरे । तर ९०० दिरामको जागिरले उनको आवश्यकता पूरा गर्न सकेन । ‘आजभन्दा भोलि राम्रो होला नि भन्ने आशमा बस्दाबस्दा तीन वर्ष बित्यो । तर भने जस्तो काम र कमाई दुवै नभएपछि म तीन वर्ष त्यहाँ बसेर फर्किएँ,’ उनले भने ।
फर्किएपछि उनीसँग अन्य कुनै विकल्प थिएन । यसैबीच उनको विवाह पनि भयो । घर परिवारको जिम्मेवारी बढ्दै गएपछि गाउँको खेतीपाती छोडेर उनले फेरी काठमाडौं आउने निर्णय गरे । त्यहीँबाट सुरु भयो उनको पठाओ यात्रा ।
‘काठमाडौंमा एकजना दाइ हुनुहुन्थ्यो । उहाँले राइड शेयरिङ सर्भिस पठाओको विषयमा बताउनु भएको थियो । त्यसपछि मैले यहाँ आएर पठाओ राइडर बन्ने निर्णय लिएँ र यहाँ आएर काम सुरु गरेँ,’ उनले सुनाए ।
यसरी अनुरोधले राइड शेयरिङ प्लेटफर्मको फूल टाइम राइडरको रुपमा काम गर्न सुरु गरेको डेढ वर्ष भयो । तर यहाँ पनि उनले आफ्नो सपनालाई विश्राम दिनुपर्ने भयो ।
२०७८ साल कात्तिक १० गतेका दिन उनी एक जना यात्रुलाई लिएर ढल्कुबाट सुन्धारा तिर आउँदै थिए । नरदेवी मन्दिर निस्किने बाटोको गल्लीबाट आउँदै गर्दा अचानक कुकरले बाटो काट्यो । उनको सन्तुलन बिग्रियो र सडकमा लड्न पुगे ।
‘गल्ली सानो थियो । म ठ्याक्कै गल्लीबाट निस्कँदा उताबाट कुकुर आयो र म आत्तिएँ । बाइक गल्लीको भित्तातिर ठोक्कियो अनि लड्यो,’ उनी त्यो दिन सम्झिन्छन्, ‘धन्न पछाडि बस्नेलाई केही भएन । मलाई पनि धेरै ठूलो चोट लागेको जस्तो थिएन ।’
‘खुट्टा थोरै दुखे जस्तो मात्रै भएको थियो । क्लाइन्टको व्यवस्था गरेर मैले अफिसमा फोन गरेँ । अफिसको सरले नजिकैको प्रहरीमा सम्पर्क गर्न भनेपछि म पुलिसको मद्दत लिएर अस्पताल पुगेँ ।’
घटना घटिसक्दा पनि आफूलाई सामान्य मात्र चोट लागेको ठानेका अनुरोधले अस्पताल पुगेपछि थाहा पाए उनको त घुडाँ नै फ्रयाक्चर भएको रहेछ । डक्टरले प्लास्टर गरेर केही हप्ता आराम गर्न सुझाए । यसपछि भने उनी केही शिथिल भए ।
‘थोरै मात्र दुखेको थियो, तर खुट्टा नै भाँचिएछ । दशा लागेको रहेछ,’ निराश हुँदै उनले दुर्घटनाको दिन सम्झिए । तर पीडा यत्तिमै रोकिएन । उपचारको १८ दिनपछि उनी फलोअपका लागि अस्पताल गएका थिए । त्यहाँ जाँदा थाहा भयो, उनको खुट्टामा त संक्रमण नै भएछ ।
‘डक्टरले खुट्टामा इन्फेक्सन भएछ फेरि अपरेसन गर्नुपर्छ भनेपछि छाँगाबाट खसेझैँ भएँ,’ उनले त्रसित मुद्रामा, ‘त्यतिबेलासम्म पनि घरमा केही भनेको थिइनँ । तर अब थप पैसा खर्च गर्नुपर्ने भएपछि गाह्रो भयो अनि घरमा सुनाएँ ।’
घरबाट अनि उनी आफैँले जम्मा गरेको अलिअलि पैसा जोरजाम हुदैँ थियो, उपचारको लागि । यसैबीच पठाओले राइडरहरूको लागि व्यवस्था गरेको बीमाको रकम पनि आयो त्यसबाट उनलाई केही राहत भने भयो ।
आफ्नो दुर्घटना भएपछि पठाओ कार्यालयमा बीमा रकम दाबी गरेर अनुरोध प्रक्रिया सुरु गरेको लगभग २५ दिनमै उनले बीमाको रकम पाए ।पठाओले यही पुस महिनादेखि आफ्ना राइडर र क्याप्टेनहरूका लागि दश लाख रुपैयाँसम्मको बीमा सुविधा लागू गरेको छ ।
यो बीमा सुविधा दुई प्रकारको छ; एक लाख रुपैयाँसम्मको बीमा र दश लाखको बीमा । दुर्घटनाका कारण ग्राहक र चालकको मृत्यु, अपाङ्गता आदि भएमा बढीमा दश लाखसम्मको बीमा पाउँछन् भने उपचार बीमाको रुपमा एक लाख रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ ।
एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको यही बीमा नीतिको आधारमा अनुरोधले आफ्नो उपचार बीमा स्वरुप एक लाख रुपैयाँको बीमाबाट ८० हजार रुपैयाँ प्राप्त गरे । ‘बीमाको पैसाले मलाई उपचारमा धेरै सजिलो भयो । उपचारको लागि डेढ देखि दुई लाख सकियो । तर अफिसले त्यति पैसा दिँदा मेरो थोरै भार भए पनि कम भएको छ । यसको लागि म आभारी छु,’ उनले पठाओप्रति आफ्नो कृतज्ञता प्रकट गरे ।
उपचार खर्च टरे पनि आफ्नो दैनिकी त उनलाई गुजार्नु थियो । खुट्टाको चोट गर्दा उनी अहिले पनि राम्रोसँग हिँड्न सक्दैनन् । डक्टरले आराम गर्न सुझाएका छन्, तर आर्थिक अवस्थाले भने उनलाई चैनको निन्द्रा परेको छैन ।
‘इन्फेक्सन भएपछि मैले ५० दिनसम्म ट्रमा सेन्टरमा बिताएँ । अहिले पनि ठिक भइसकेको छैन । बैशाखीको सहारामा हिँडिरहेको छु । आफैँ हिड्न सक्दिनँ,’ उनले दुःख पोख्दै भने, ‘तीन महिनासम्म कमाई नहुँदा खर्च मात्र भयो । अहिले पनि घरबाट पठाएको रासनले गुजारा चलिरहेको छ । तर यसरी कतिन्जेल चल्छ ?’
अनुरोध बिरामी भएपछि उनकी श्रीमती रेखदेखमा खट्छिन् । जसले गर्दा आफ्नी श्रीमती समेत काममा जान नपाएको उनले बताए । एक समय उनको जिन्दगी राम्रैसँग चलिरहेको थियो । पठाओ राइडरको रुपमा आफूले गरिरहेको आम्दानीबाट विरोध सन्तुष्ट नै थिए ।
फुल टाइम राइडरको रुपमा उनले मासिक ३०-३५ हजार रुपैयाँ आम्दानी गर्थे । कहिलेकाहीँ त त्यसभन्दा पनि बढी हुने गर्थ्यो ।
‘मेरो लागि काम उपयुक्त थियो । त्यसबाट एकदमै खुशी पनि थिएँ । कम्पनीलाई दिने पैसा कटाएर मसँग दिनकै १००० – १५०० रुपैयाँ बच्थ्यो,’ उनले भने, ‘म बिहान ६ बजेदेखि राइडमा जान्थेँ र प्रायः बेलुकी ९ बजेसम्म राइड गर्थेँ । आफूले जति राइड गर्यो, कमाई त्यति नै हुने भएकाले म त्यसरी काम गर्थेँ ।’
आफूले काम गरे कमाई हुने, नगरे नहुने किसिमको थियो, पठाओ राइडिङ । उनी आफू पनि मेहनतमा विश्वास राख्ने मान्छे । त्यसमाथि आफ्नो हिसाबले आफ्नो काम गर्न पाइने र कसैको खटनपटनमा बसेर काम गर्नु नपर्ने हुँदा अनुरोध आफ्नो साहु आफैँ जस्तो ठान्थे ।
प्रविधिले दिएको त्यो सुविधाले उनलाई अझ सन्तुष्ट बनाउँथ्यो । ‘राइड गरिरहँदाको अन्तिम दिनसम्म पनि ग्राहकहरूसँग मेरो कहिल्यै केही नराम्रो भएन । मैले राम्रैसँग काम गरिरहेको थिएँ । तर अचानक यो दुर्घटनाले सबै रोकिदियो,’ उनले दुख मनाउ गर्दै भने, ‘घरमा सामान्य चोट लागेको भनेको छु । हामीलाई उतै आउन र खेतीपातीमा लाग्न भन्नुहुन्छ । तर त्यसले जिन्दगी चल्दैन मलाई थाहा छ ।’
गाउँ गएर केही गर्न सकिन्न भन्नेमा विश्वस्त अनुरोधलाई अब अगाडि के गर्ने भन्ने कुरा पनि थाहा छैन । फेरी विदेश जाने कि, यहीँ पठाओ गर्ने अथवा अन्य कुनै नयाँ कामको खोजीमा जुट्ने भन्नेमा उनी अन्यौलमा छन् ।
बल्ल जिन्दगी राम्रो चल्दै थियो, फेरि त्यही शून्य सोचमा आएर उभिएको जस्तै महुसुस भएको उनी सुनाउँछन् । उनको चोट ठूलो नभएपनि क्षति भने धेरै भयो । घरको कमाउने मान्छे नै यसरी थलिएर बस्नुपर्दा गाह्रो भएको उनले बताए । ‘डक्टरले पूर्ण रुपमा ठीक हुन अझै सातआठ महिना लाग्ने कुरा गर्नु भएको छ । त्यसपछि के गर्ने ? कता जाने ? केही सोच्न भ्याएको छैन,’ उनले भने ।