close

लाइसेन्स खारेज गर्दा के हुन्छ स्मार्ट टेलिकमका ग्राहकको भविष्य ?

टेकपाना टेकपाना

माघ १८, २०७८ १६:२३

लाइसेन्स खारेज गर्दा के हुन्छ स्मार्ट टेलिकमका ग्राहकको भविष्य ?

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टाट पल्टिएको मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । तर कम्पनीबाट अहिले पनि करिब २४ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

यस्तोमा नियामक तथा सरकारले कम्पनीको लाइसेन्स खारेज गर्दा त्यसबाट सेवा लिइरहेका ग्राहकको भविष्य के हुने भन्ने विषय चुनौतीको रुपमा खडा भएको छ । त्यही विषयमा स्पष्टता नहुँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले करिब सात अर्ब बक्यौता रहेको स्मार्ट टेलिकमको विषयमा निर्णय लिन सकेको छैन ।

त्यसैले केही दिन अघि सम्पन्न प्राधिकरण बोर्ड बैठकले स्मार्ट टेलिकमका ग्राहकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने निर्णय लिएको हो । प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले एक हप्ताभित्र सक्नेगरी ग्राहक व्यवस्थापनको विषयमा अध्ययन गर्ने निर्णय भएको जानकारी दिए ।

‘स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्दा कम्पनी अन्तर्गत सेवा लिइरहेका ग्राहकको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अबको एक हप्तामा विकल्प तयार हुन्छ,’ उनले भने, ‘त्यसपछि नै कम्पनीको लाइसेन्स खारेजका लागि स्पष्टीकरण सोध्ने कार्य अगाडि बढ्छ ।’

हुन त स्मार्ट टेलिकमको सेवा रहेको अधिकांश क्षेत्रमा नेपाल टेलिकम र एनसेलको समेत सेवा उपलब्ध छ । तर नेपाल टेलिकम र स्मार्टको नेटवर्कले त्यति राम्रोसँग काम गर्ने केही स्थान रहेको बताइन्छ । खासगरी त्यस किसिमका क्षेत्रमा रहेका ग्राहकको सेवा निरन्तर राख्ने विषय मुख्य चुनौती भएको अध्यक्ष खनालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५