close

अनलाइन डेटिङ गर्ने बानी छ ? भ्यालेन्टाइन्स डेमा तपाईँमाथि हुनसक्छ गम्भिर धोका

टेकपाना टेकपाना

माघ २४, २०७८ २३:४४

अनलाइन डेटिङ गर्ने बानी छ ? भ्यालेन्टाइन्स डेमा तपाईँमाथि हुनसक्छ गम्भिर धोका

काठमाडौं । अन्तर्राष्ट्रिय प्रणय दिवस यानकी भ्यालेन्टाइन डेको सप्ताह सुरु भइसकेको छ । १४ फेब्रुअरीमा हुने भ्यालेन्टाइन डे अघिको यो समय साइबर अपराध तीव्र गतिमा बढ्नेछ ।

इन्टरनेट प्रयोगकर्तालाई निशाना बनाउनका लागि भ्यालेन्टाइन्स डे साइबर अपराधी तथा स्क्यामरहरूका लागि एउटा सुनौलो मौका हो र उनीहरू डेटिङ एपको मद्दत लिइरहेका छन् ।

धेरैजसो व्यक्तिहरू प्रेमी प्रेमिका खोज्नका लागि पछिल्लो समय टिन्डर , बम्बल , ओके क्युपिड लगायतका डेटिङ एप तथा वेबसाइटको सहयोग लिइरहेका छन् । तपाईँ पनि यी माध्यमहरू प्रयोग गर्नुहुन्छ भने तपाईँको प्रेमको यात्रा एउटा ठगीको रुपमा अन्त्य हुनसक्छ । 

झुटो पहिचानको साथमा साथी बन्छन् स्क्यामर

स्क्यामर डेटिङ एप तथा साइटमा झुटो नाम तथा फोटोको सहयोगमा प्रयोगकर्तालाई फसाउने प्रयास गर्छन् । एपमा साथी बनाएपछि यी स्क्यामरले लामो कुराकानी गर्छन् र कुनै हैरानीमा आफू फसेको बताउँछन् ।

धेरैजसो मामिलामा यस्ता स्क्यामरले केही रकम उधारोमा माग्छन् र पछि फिर्ता गर्ने बचन दिन्छन् । एक पटक पैसा ट्रान्सफर भएपछि स्क्यामर त्यस्तो अकाउन्टसँगै गायब हुन्छन् । 

तपाईँको भावनामाथि हुनसक्छ खेलबाड 

साइबर सुरक्षा फर्म बुल गार्डले यी रोमान्स स्क्यामर्सलाई ‘डेड-आइड शार्क’ नाम दिएको छ । उक्त फर्मको भनाई छ कि यी स्क्यामरले इन्टरनेट प्रयोगकर्ताको भावनाको फाइदा उठाउँने गर्छन् । 

यस्तोमा अनलाइन सम्बन्ध बनाएपछि कुनै प्रकारको सहयोग गर्नबाट जोगिनुपर्ने अथवा त्यसो गर्नु अघि उसको वास्तविकता राम्रोसँग बुझ्नुपर्ने हुन्छ । प्रेममा शङ्का नगर्ने कुरा सुन्दा त राम्रो लाग्छ । तर अनलाइन ठगीमा परेपछि नराम्रोसँग पछुताउनु पर्ने हुनसक्छ । 

कसरी जोगिने ? 

आफ्नो लक्षित शिकारको विश्वास जित्नु अनलाइन रोमान्स स्क्यामरहरूको मुख्य प्रयास हुने गर्छ । जसका लागि उनीहरू कुनै पनि तरिका अपनाउन पछि पर्दैनन् ।

उनीहरूले फुल, गिफ्ट अथवा चकलेट पठाएर समेत तपाईँको विश्वास जित्न सक्छन् र कतिपय पटक त भेटघाटको दिन समय निश्चित गर्न पछि पर्दैनन् ।

जहाँ स्क्यामरले तपाईँलाई धेरैभन्दा धेरै व्यक्तिगत जानकारी माग्छन्, त्यहाँ उनीहरूले आफ्नो बारेमा निकै थोरै कुरा मात्र शेयर गर्छन् । तपाईँलाई अनलाइन डेटिङ पार्टनरले यस्तै केही गरिरहेको छ भने सतर्क रहनुहोस् र सोच विचार गरेर मात्र कुनै कदम उठाउनुहोस् । 

व्यक्तिगत जानकारी तथा पैसा दिने गल्ती नगर्नुहोस्

व्यक्तिगत जानकारी दिनु वा रकम ट्रान्सफर गर्नु तपाईँका लागि निकै दुःखद विषय बन्न सक्छ । डेटिङ एपमा भेटिएपछि स्क्यामरले अर्को प्लेटफर्ममा च्याट वा कुराकानी गर्छन् ।

साथै ई-मेल तथा फोन नम्बर समेत माग्ने गर्दछन् । कसैमाथि भरोसा नहुँदै आफ्नो फोन नम्बर, ई-मेल एड्रेस वा अन्य सामाजिक सञ्जाल ह्यान्डल शेयर नगर्नुहोस् । आफ्नो व्यक्तिगत तथा संवेदनशिल विवरण कुनै व्यक्तिलाई पनि नदिनुहोस् ।

चाहे तपाईँलाई जस्तो सुकै कहानी सुनाइएको होस्, अनलाइन अथवा अन्य कुनै माध्यमबाट पैसा ट्रान्सफर गरेपछिको अवस्थामा उक्त व्यक्तिसँग तपाईँको भेट हुने कुरा करिब करिब असम्भव प्रायः हुन्छ । 

के अनलाइन डेटिङ नै नगर्नु ? 

यसो भन्दैमा अनलाइन डेटिङ नै गलत हो भन्न त मिल्दैन । तर पनि उच्च सतर्कता र सावधानी अपनाउने गर्नुहोस् । अनलाइनमा भेटिने जोकसैलाई झट्टै आँखा चिम्लेर विश्वास गर्ने गल्ती नगर्नुहोस् ।

डेटिङ एपमा कसैसँग म्याच हुँदा उक्त व्यक्तिसँग कुराकानी गर्नुहोस् र पर्याप्त समय लिनुहोस् । एक अर्कालाई बुझ्नुहोस् र सहज भएपछि मात्र आफ्नो बारेमा थप जानकारी दिनुहोस् ।

यस्तो जानकारीमा तपाईँको गोप्य वा संवेदनशिल डेटा (बैंकिङ  विवरण, पिन) हुनु भएन । अनलाइन डेटिङ गर्ने अर्को व्यक्तिको पहिचान सुनिश्चित भएपछि नम्बर माग्न सक्नुहुन्छ । अथवा कुनै सार्वजनिक स्थानमा भेटघाट गर्न सक्नुहुन्छ । पहिचान तय गर्नका लागि भ्वाइस वा भिडिओ कलको सहयोग लिन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२