close

अनलाइन कारोबारमा बढ्दो आकर्षण, मोबाइल बैंकिङ र वालेटमा प्रतिस्पर्धा

टेकपाना टेकपाना

माघ २६, २०७८ २०:४१

अनलाइन कारोबारमा बढ्दो आकर्षण, मोबाइल बैंकिङ र वालेटमा प्रतिस्पर्धा

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा रौनकता छाइरहेको छ । एकपछि अर्को गर्दै हरेक महिना निरन्तर रुपमा अनलाइनमार्फत हुने कारोबार वृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या तथा रकम बढेको छ  ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ पुस महिनामा मात्रै कनेक्ट आईपीएसबाट ३१ लाख ४५ हजार ९५९ पटक कारोबार भएको छ । जुन मंसिर महिनाको तुलनामा झन्डै तीन लाखले बढी हो ।

मंसिर महिनामा कनेक्ट आईपीएसमार्फत २८ लाख ९५ हजार ६ सय १७ ओटा कारोबार भएको देखिन्छ । कारोबारतर्फ पुस महिनामा मात्रै कनेक्ट आईपीएसमार्फत दुई खर्ब ४७ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको छ ।

जुन अघिल्लो महिनाको तुलनामा १९ अर्बको २ करोड हाराहारीमा बढी हो । त्यस्तै इन्टरनेट बैंकिङतर्फ पुस महिनामा कूल दुई लाख ५६ हजार २ सय २८ ओटा कारोबारमार्फत १३ अर्ब ४९ करोड ६० लाखभन्दा बढी कारोबार भएको देखिन्छ । सबैभन्दा रोचक कुरा मोबाइल बैंकिङ र वालेटबाट हुने कारोबारमा देखिएको छ ।

पछिल्लो समय प्रयोगको हिसाबले यी दबै माध्यम धेरै प्रयोगकर्ताको रोजाइमा पर्दै गएका छन् । जसलाई राष्ट्र बैंकको तथ्याङ्कले पनि दर्शाउँछ ।

तथ्याङ्क अनुसार मोबाइल बैंकिङ र वालेटबाट हुने कारोबारको संख्या करिब करिब उस्तै देखिन्छ । पुस महिनामा मोबाइल बैंकिङमार्फत एक करोड ३५ लाख १८ हजार ९ सय ३६ पटक कारोबार भएको छ ।

सोही समयमा मोबाइल वालेटमार्फत एक करोड ३७ लाख १२ हजार २६ पटक कारोबार भएको छ ।

मोबाइल बैंकिङ र मोबाइल वालेटमा देखिएको यो कारोबारको संख्याले मोबाइल वालेटका लागि विस्तारै मोबाइल बैंकिङ चुनौतीको विषय बन्ने देखिएको छ ।

अर्कोतर्फ यी दुवैमार्फत हुने कारोबार रकमलाई आधारमा मान्ने हो भने त झन् वालेटको अवस्था नाजुक नै देखिन्छ । पुस महिनामा मोबाइल बैंकिङमार्फत ९४ अर्ब ४० करोडभन्दा बढीको कारोबार हुँदा मोबाइल वालेटमार्फत जम्मा १६ अर्ब २७ करोडभन्दा बढीको कारोबार भएको छ ।

यसले मोबाइल बैंकिङमार्फत वालेटको तुलनामा ठूलो रकम कारोबार हुने गरेको पनि दर्शाउँछ । 

त्यस्तै क्यूआरमार्फत हुने कारोबार संख्या र कारोबार रकम पनि पुस महिनामा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरमा क्यूआरमार्फत ६ अर्ब अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो ।

उक्त कारोबार रकम झन्डै २५ करोडले बढेर पुसमा ६ अर्ब ५२ करोड नाघेको छ । भने, कारोबार संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

मंसिरमा कूल १६ लाख ४९ हजार ३ सय ९७ पटक कारोबार भएकोमा पुसमा तीन लाखको हाराहारीमा वृद्धि हुँदै १९ लाख १८ हजार ५ सय २६ पटक कारोबार भएको छ ।

अनलाइन कारोबारको संख्या र कारोबार रकम बढेसँगै अनलाइन सपिङमा समेत वृद्धि भएको देखिएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस महिनामा ई-कर्मसमा ७१ हजार ६ सय ६६ पटकको कारोबारमा ३४ करोड नाै लाख रकम भुक्तानी भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२