close

गोप्य फाइल गुगल ड्राइभ वा अन्य क्लाउडमा अपलोड गर्नुअघि यसरी पार्नुहोस् सुरक्षित

टेकपाना टेकपाना

फागुन ६, २०७८ १४:५३

गोप्य फाइल गुगल ड्राइभ वा अन्य क्लाउडमा अपलोड गर्नुअघि यसरी पार्नुहोस् सुरक्षित

काठमाडौं । तपाईँलाई संवेदनशील डेटा सुरक्षित रुपमा कतै स्टोर गर्नु पर्‍यो भने के गर्नुहुन्छ ? आउनुहोस् आज हामी तपाईँलाई यसै विषयमा जानकारी दिँदै छौँ ।

सामान्यतया तपाईँले कुनै पनि संवेदनशील निजी तथा गोप्य फाइलहरू क्लाउडमा राख्न सक्नुहुन्न । किनभने त्यहाँ तपाईंको अनलाइन अकाउन्ट ह्याक हुने सम्भावना धेरै हुन्छ ।

त्यसैले तपाईंले आफ्नो निजी जानकारी रहेका कागजात, आईडी र अन्य डेटा अफलाइनमा राख्नपर्ने हुन्छ । अब त्यसलाई सुरक्षित रुपमा अनलाइन अथवा क्लाउडमा राख्नका लागि के उपाय हुनसक्छ त ?

प्रायः धेरै मानिसहरूले जोखिम लिएरै भए पनि आफ्ना निजी जानकारीहरू गुगल ड्राइभ, आईक्लाउड वा वनड्राइभ जस्ता क्लाउड स्टोरेजमा राखिरहेका हुन्छन् । यदि तपाईँले पनि आफ्ना संवेदनशील डेटा, निजी जानकारी त्यसरी नै स्टोर गरिरहनु भएको छ भने, अब सुरक्षित रुपमा कसरी भण्डारण गर्न सकिन्छ भन्ने विषयमा बताउँदै छौँ ।

अपलोड गर्नुअघि फाइलमा पासवर्ड राख्नुहोस् धेरै मानिसहरूका लागि फाइलमा पासवर्ड राख्नुले पर्याप्त सुरक्षा प्रदान गर्दछ। फाइलमा पासवर्ड राख्ने तरिका पनि निकै सजिलो छ । त्यसका लागि सेभेन जिप (7ZIP) वा केका (Keka) एप प्रयोग गर्नुपर्ने हुन्छ ।

यसले तपाईँका धेरै फाइललाई कम्प्रेस गरेर एउटा अभिलेख बनाउन सहयोग गर्छ । जसलाई तपाईँले पासवर्ड राखेर सहजै सुरक्षित राख्न सक्नुहुन्छ। तपाईँले पासवर्डमार्फत सुरक्षित राखेका फाइलाई जुनसुकै डिभाइसमा एक्सेस गर्न सकिन्छ ।

तर त्यसका लागि पहिले राखिएको पासवर्ड थिच्नुपर्ने हुन्छ । धेरै फाइलहरू सहजै स्टोरेज गर्ने सबैभन्दा उपयुक्त उपाय यही हुन्छ। तर यदि तपाईँलाई एउटा मात्र फाइल स्टोर गर्नुपर्ने अवस्था आयो भने अर्को विधि अपनाउन पनि सक्नुहुन्छ ।

उदाहरणका लागि मानौँ तपाईं माइक्रोसफ्ट वर्डमा आफ्नो संवेदनशील जानकारी राख्दै हुनुहुन्छ भने त्यसका लागि निम्न विधि अपनाउनु होस् ।

-सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा प्रोटेक्ट गर्न चाहेको माइक्रोसफ्ट वर्ड फाइल खोल्नुहोस् ।

-त्यसपछि माथि बायाँ कुनामा रहेको फाइल अथवा अफिस बटनमा जानुहोस् ।

-इन्फो (Info) अथवा प्रिपेयर हुँदै भित्र जानुहोस् ।

-अब त्यहाँ तपाईँले प्रोटेक्ट डकुमेन्ट (Protect Document) अथवा इनक्रिप्ट डकुमेन्ट (Encrypt Document) देखिन्छ ।

-यति गरिसकेपछि पासवर्ड राखेर त्यसलाई सुरक्षित राख्नुहोस् । यसरी पनि तपाईँले एउटा निश्चित वर्ड फाइल वा अन्य फाइल सुरक्षित रुपमा स्टोर गर्न सक्नुहुनेछ । यसमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने तपाईंले राखेको पासवर्ड सम्झिरहनु पर्ने हुन्छ।

ड्रपबक्स भल्ट  (Dropbox Vault) र वनड्राइभ पर्सनल भल्ट (OneDrive Personal Vault)

ड्रपबक्स भल्ट  (Dropbox Vault) र वनड्राइभ पर्सनल भल्ट (OneDrive Personal Vault) ले तपाईँका अति महत्त्वपूर्ण फाइलहरूलाई आवश्यक सुरक्षित स्पेस तयार पार्ने सुविधा दिन्छ। अरू कुनै डिभाइसमा त्यस फोल्डरमा भण्डारण भएका फाइलमा पहुँच बनाउन तपाईँले थप पासवर्ड वा पिन नम्बर प्रयोग गर्नुपर्ने हुन्छ ।

वनड्राइभ पर्सनल भल्ट निःशुल्क उपलब्ध हुन्छ । तर त्यसमा तपाईँले मात्र तीनओटा फाइल भण्डारण गर्न सक्नुहुनेछ ।

कम्प्युटरमा इनक्रिप्टेड (encrypted) फोल्डर बनाउँनुहोस्

यदि तपाईँ इनक्रिप्शन (encryption) नहुने क्लाउड स्टोरेज सेवा प्रयोग गर्दै हुनुहुन्छ भने आफ्ना लागि निःशुल्क इन्क्रिप्टेड फोल्डर बनाउन सक्नुहुनेछ।

इनक्रिप्टेड फोल्डर बनाउन विन्डोजमा सेभेन जिप (7Zip) प्रयोग गर्नुहोस् ।  त्यसका लागि चाहेको फोल्डरमा गएर राइट क्लिक गर्नुहोस् । त्यसपछि सेभेन जिप (7Zip) सेलेक्ट गर्नुहोस् ।  

सेभेन जिप (7Zip) छनौट गरिसकेपछि एड टु अर्काइभ (Add to archive) भन्ने विकल्प आउँछ। त्यसको तल इनक्रिप्सन सेक्सन आउँछ । त्यहाँ तपाईंले आफूलाई सहज हुने पासवर्ड राखेर निश्चित गर्नुपर्ने हुन्छ ।

थर्ड पार्टी इनक्रिप्सन (encryption) एप प्रयोग गर्ने

यो विधि कम सुविधाजनक, तर सबैभन्दा भरपर्दो विधी हो।  थर्ड पार्टी एप जस्तै क्रिप्टोम्याटर (Cryptomator) र बक्सक्रिप्टर (Boxcryptor) ले तपाईँको कम्प्युटरमा सुरक्षित स्टोर गर्ने र अन्य डिभाइसबाट पहुँच बनाउने अनुमति दिन्छ ।

दुवै सेवाहरू मिल्दोजुल्दो र क्लाउड स्टोरेज सेवा जस्तै गुगल ड्राइभ, वनड्राइभ, ड्रपबक्स र आइक्लाउड ड्राइभमा निकै लोकप्रिय छन् । यसका लागि आफ्नो कम्प्युटरमा क्रिप्टोम्याटर वा बक्सक्रिप्टर इन्स्टल गरेर फोल्डरलाई आफ्नो क्लाउड स्टोरेज सेवामा इनक्रिप्ट (encrypt) गर्नुहोस् ।

उदाहरणका लागि तपाईंसँग गुगल ड्राइभमा आईडी कार्डको स्क्यान कपी भएको कुनै एउटा फोल्डर छ, त्यसलाई एपमा एड गरी पासवर्ड राखेर फोल्डर सुरक्षित बनाउन सक्नुहुन्छ। यदि यस्तो फोल्डरमा अन्य कुनै डिभाइसबाट पहुँच बनाउन पर्‍यो भने त्यस डिभाइसमा एप इन्स्टल गरेर पासवर्ड राख्न सक्नुहुन्छ ।

यो सुरक्षाका हिसाबले सबैभन्दा उपयुक्त विधी हुँदाहुँदै पनि  कहिलेकाहीँ सामान्य समस्या भोग्नुपर्ने हुनसक्छ। जस्तो कि विन्डोजमा राम्रो काम गरिरहेको भए पनि एप्पलको फाइल एप प्रयोग गर्ने क्रममा त्यसमा पहुँच बनाउने अनुमति नमिल्न सक्छ । त्यसैले अलिकति जोखिम उठाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२