close

मोबाइल एपबाटै चरा गणना हुँदै, सर्वसाधारणले समेत चरा चिन्न प्रयोग गर्नसक्ने

टेकपाना टेकपाना

फागुन ७, २०७८ ९:२८

मोबाइल एपबाटै चरा गणना हुँदै, सर्वसाधारणले समेत चरा चिन्न प्रयोग गर्नसक्ने

काठमाडौं । आजदेखि नेपालमा मोबाइल एपबाटै चरा गणना सुरु हुने भएको छ । नेपालमै पहिलो पटक चरा गणनामा मोबाइल एप प्रयोग हुने भएको हो ।

‘छिमेकी चरा’ नाम दिइएको यो मोबाइल एप प्रयोग गरी सहर, गाउँघर वरपर चरा गणना गरिने गोरखापत्रमा उल्लेख छ । यसका लागि चराप्रेमी स्वयम्‌सेवक परिचालन गरिँदैछ ।

नेपालमा चरा संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) ले यो एप बनाएको हो । चरा संरक्षणमा स्थानीयवासीलाई अभिप्रेरित गर्ने, स्थानीय स्तरमा चराको महत्त्व दर्शाउने र स्थानीयवासीलाई चरामैत्री बनाउने उद्देश्यका साथ मोबाइल एपको प्रयोग गरी चरा गणना गर्न लागिएको हो ।

एपको प्रयोग गरेर इच्छुक सर्वसाधारणले पनि आफ्नो वरपरका चरा गणना गर्न सकिने सीबीएनमा कार्यरत चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए । उनका अनुसार स्वय‌ंसेवकले मोबाइल एपमा छिमेकी चरा एप डाउनलोड गरेर आआफ्नो घर वरपरका क्षेत्रमा पाइने चराको गणना गर्नेछन् ।

एपमा प्रदेश, जिल्ला र स्थानीय तह राखिएको छ । स्वयम्‌सेवकहरूले आफू बसेकै स्थानको चरा गणना गरेर एपमा प्रजाति, सङ्ख्या, अभिलेखीकरण गर्नेछन् । सहर, गाउँघर वरपर पाइने चराको फोटो पनि एपमै राखिएको छ ।

पहिलो चरणमा शनिबार स्वयम्‌सेवकमार्फत आधा घण्टा चरा गणनाको कार्य हुने डङ्गौराले बताएका छन् । त्यसको नतिजा  विश्लेषण गरेर दोस्रो चरणको गणनाको मिति तय हुने जनाइएको छ ।

मोबाइल एपमार्फत चरा गणनाका लागि एक हजारभन्दा बढी स्वयंसेवकले मोबाइल एप डाउनलोड गरेको बीसीएनले जनाएको छ । यो एपमा सहर, गाउँघर, आसपासमा पाइने विभिन्न प्रजातिका चरा पनि राखिएकाले चरा चिन्ने अवसर समेत रहेको छ ।

मोबाइल एपमा हुने चरा गणनाले स्थानीय स्तरमा चराको महत्त्वलाई अझ प्रवर्द्धन गर्ने संरक्षणकर्मी राजन चौधरीले बताए । नेपालमा हालसम्म चरा विशेषज्ञ वा जानकारहरूको सहभागितामा मात्रै चरा गणनाको कार्य हुँदै आएको छ । 

छिमेकी चरा एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२