close

डेढ महिनामै मिदास ई-क्लासमा जोडिए १ लाख बढी विद्यार्थी 

टेकपाना टेकपाना

फागुन १०, २०७८ १५:५९

डेढ महिनामै मिदास ई-क्लासमा जोडिए १ लाख बढी विद्यार्थी 

काठमाडौं । सुरु भएको डेढ महिनाको अवधिमै मिदास ई-क्लास २.० मा एक लाख विद्यार्थीले रजिस्ट्रेसन गरेका छन् । कक्षा १ देखि प्लस टुसम्मका विद्यार्थीलाई लक्षित गर्दै मिदास ईक्लास प्रालिले सञ्चालनमा ल्याएको मिदास ई-क्लासको दोस्रो संस्करणमा सार्वजनिक भएको छोटो समयमै विद्यार्थीको उच्च आकर्षण देखिएको हो ।

विद्यार्थीले उपलब्ध सामग्रीको सहयोगमा स्वअध्ययन गर्न सक्ने तथा दक्ष शिक्षकसँग लाइभ कक्षामा समेत सहभागी हुन सक्नेगरी कम्पनीले गत माघमा मिदास ई-क्लासको वेबसाइट तथा एप सञ्चालनमा ल्याएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक छत्र कार्कीले भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षाहरूलाई विस्थापित गर्न नभई त्यस्ता कक्षाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यमा मिदास ई-क्लासको दोस्रो संस्करण केद्रित रहेको बताए ।

‘हामीले यसबाट प्रविधिलाई सहयोगी टुलको रुपमा विद्यार्थीको समग्र सिकाइमा स्तरोन्नति गर्नतर्फ बढी जोड दिएका छौँ,’ उनले टेकपानासँग भने, ‘यसले विद्यार्थीलाई सामान्य रुपमा अध्ययन कार्यमा सघाउने मात्र नभई पढ्न इच्छा जगाउने, पढ्नले कुरामा आत्मविश्वास भर्ने र प्रतिस्पर्धी भावना विकास गर्नेछ ।’

ई-लर्निङको रुपमा बजारमा उपलब्ध अन्य माध्यमभन्दा मिदास ई-क्लास २.० फरक रहेको कार्कीको दाबी छ । ‘यसलाई हामीले प्रविधि र मानव जनशक्ति संयोजन गरी हाइब्रिड रुपमा अगाडि बढाउन खोजेका छौँ,’ उनले भने, ‘जसले विस्तृत रुपमा विद्यार्थीको सिकाइमा सघाउनेछ ।’

निश्चित समयका लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने मिदास ई-क्लास २.० मा भिडिओ सामग्री, लाइभ टिचर, हबी क्लास र डेली क्विज पाउन सकिन्छ । त्यस बाहेक इन्टेलेक्चुअल थिएटर लगायतका सामग्रीहरूका लागि निश्चित शुल्क तिर्नुपर्ने कम्पनीले  जनाएको छ ।

मिदास ई-क्लास २.० मा के छ ?

१. अध्ययन सामग्रीः 

मिदास २.० मा विद्यार्थीको स्वअध्ययनका लागि २० हजारभन्दा बढी एनिमेटेड भिडिओ, दशौँ हजार भिडिओ गेम लगायत अन्य प्लेटफर्ममा भएका डिजिटल सिकाइ सामग्री राखिएका छन् ।

जुन नर्सरीदेखि प्लस टुसम्मका पाठ्यक्रममा आधारित रहेको कम्पनीले जनाएको छ । त्यस बाहेक उच्च तहमा बीबीएस र एमबीएसका सामग्री समेत यसमा पाउन सकिन्छ ।

यसका साथै मिदास ई-क्लास २.० मा उपलब्ध सामग्री हेरेर शिक्षकले आफ्ना विद्यार्थीलाई विभिन्न सीप सिकाउन र प्राविधिक विषयमा पढाउन सक्ने बताइएको छ ।

भौतिक कक्षालाई विस्थापित गर्न नभई त्यसलाई प्रविधिको माध्यमबाट सहयोग पुर्‍याउने उद्देश्य अनुरूप मिदास २.० ल्याइएको कम्पनीको दाबी छ । 

२. रिवार्ड प्वाइन्ट तथा गिफ्टः 

विद्यार्थीमा पढाइका लागि रुचि जगाउन रिवार्ड प्वाइन्टको व्यवस्था गरिएको छ । यसमा विद्यार्थीले जति धेरै सामग्री अध्ययन गर्‍यो, त्यसै आधारमा रिवार्ड क्वाइनहरू पाउन सकिन्छ ।

त्यस्ता क्वाइनहरूको आधारमा उनीहरूलाई ल्यापटप, आईफोन, ट्याब्लेट लगायत सयौँ प्रकारका गिफ्ट पाउन सकिने व्यवस्था मिलाइएको मिदास ई-क्लासले जनाएको छ । यसरी प्राप्त हुने रिवार्डले विद्यार्थीमा पढ्ने इच्छा जगाउने कम्पनीको विश्वास छ । 

३. लाइभ शिक्षकः 

मिदास ई-क्लास २.० मा सयौँ शिक्षकहरूलाई बिहान दुई घण्टा र बेलुका पाँच घण्टा लाइभ भेट्न सकिन्छ  । एप तथा वेबसाइटको भिडिओको आइकन क्लिक गर्दा विद्यार्थीले तत्कालै लाइभ शिक्षकसँग आफ्ना प्रश्न वा जिज्ञासा राख्न पाउने कम्पनीले जनाएको छ ।

विद्यार्थी र शिक्षकले एक अर्कालाई राम्रोसँग नचिन्ने भएकाले विद्यार्थीले कक्षामा सोध्न नसकेका विषयहरू मिदास ई-क्लासमा व्यक्त गर्न सक्ने कम्पनीका प्रबन्ध निर्देशक कार्कीले बताए ।

‘कक्षामा आफू कमजोर रहेको कुरामा कक्षाका अरु साथीहरू हाँस्ने वा शिक्षकले हेप्ने डरले गर्दा कतिपय विद्यार्थीले नजानेको कुरा सोध्न सकिरहेका हुँदैनन्,’ उनले भने, ‘मिदास ई-क्लासमा उपलब्ध हुने शिक्षकले त्यस्ता विषयमा विद्यार्थीहरूलाई सघाउनेछन् । यसमा कसैले कसैलाई चिन्दैन । पूर्वको शिक्षक र विद्यार्थी पश्चिमको हुनसक्छ । यस्तोमा विद्यार्थीको आत्म विश्वास बढ्न पुग्छ ।’

४. आफ्नो सिकाइ प्रगति आफैँले मूल्याङ्कन गर्न सक्नेः 

विद्यार्थीले मिदास ई-क्लासको सहयोगमा आफ्नो प्रगतिको मूल्याङ्कन आफैँ गर्न सक्ने सुविधा समेत मिदास ईक्लासमा रहेको कम्पनीले जनाएको छ । जसमा विद्यार्थीले हिजोभन्दा आज आफूले राम्रो गर्न सकेको कुरा यकिन गर्न सक्छन् ।

त्यसका लागि यसमा थुप्रै प्रकारका प्रतिस्पर्धा राखिएका छन् । जसमा डेली क्विज, विभिन्न विषयमा ओलम्पियाड सिरिज आदि रहेका छन् ।

यसमा विद्यार्थीले आफ्नो गत हप्ताको अवस्था र अहिलेको अवस्था तुलना गरेर आफूमा आइरहेको सुधार देख्न स क्छन् । यति मात्र होइन, जिल्ला, क्षेत्र वा समग्र देशमै आफ्नो र्‍याङ्किङ समेत उनीहरूले हेर्न पाउने कम्पनीले बताएको छ ।

यसले विद्यार्थी प्रतिस्पर्धी भावना विकास हुने र त्यसले पढाई प्रतिको भय समेत कमजोर हुने कार्की बताउँछन् । यसमा हुने प्रतिस्पर्धामा भाग लिन सम्बन्धित कोर्षकै अध्ययन गर्नुपर्ने हुन्छ ।

जसले विद्यार्थीलाई पाठ्यसामग्री अध्ययन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । यसका साथै मिदास ई-क्लासमा नियमित रुपमा मक एक्जाम गराइन्छ । जसले विद्यार्थीलाई परीक्षामा सहभागी हुँदा उत्पन्न हुने डर कम गर्न सहयोग मिल्नेगर्छ । 

५. हबी क्लासः 

गिटार, भायलिन, किबोर्ड, चेस, नृत्य आदि जस्ता अनेकौँ कोर्ष पनि मिदास ई-क्लास २.० मा समावेश गरिएको छ । जसका लागि भिडिओ सामग्री मात्र नभएर सम्बन्धित विषयका लाइभ शिक्षकको व्यवस्था पनि मिलाइएको छ । यसरी विद्यार्थीले आफ्नो हबीसँग सम्बन्धित कुनै पनि कोर्ष तथा तालिम सिक्न सक्छन् ।

यसका साथै एपमा इन्टेलेक्चुअल थिएटरको व्यवस्था पनि गरिएको छ । जसमा विद्यार्थीले आफूले सिकेका वा पढेका विषयहरूमा रहेर आफ्नो प्रस्तुति दिन सक्छन् ।

त्यस आधारमा राम्रो प्रस्तुति दिने विद्यार्थीलाई पुरस्कृत गरिनेछ । आधारभूत तहका विद्यार्थीले दैनिक जीवनमा गर्नुपर्ने वा सिक्नुपर्ने गतिविधि समेत यस्ता प्रस्तुतिमा राखिएको छ । जसलाई मिदास ई-क्लास २.० का शिक्षकहरूले मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ । 

६. सीपमूलक तालिमः 

मिदास ई-क्लास २.० मा अध्ययनका विषयसँग सम्बन्धित सीपमूलक अन्य तालिमहरू समेत समावेश गरिने कम्पनीले जनाएको छ । उदाहरणको लागि बीबीएस पूरा गरेपछि विद्यार्थीलाई चाहिने मार्केटिङ, अकाउन्टिङ लगायतका पेशागत सीप यसमा सिकाइन्छ ।

यो फिचर अबको एक महिनामा मिदास ई-क्लासमा उपलब्ध हुने बताइएको छ । यसका साथै देशकै महँगा स्कुलहरूमा गरिने गतिविधिहरू पनि मिदास ई-क्लास २.० मा आयोजना गरिनेछ । जसको माध्यमबाट देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरूले उन्नत स्तरको सिकाइ अनुभव प्राप्त गर्न सक्ने बताइएको छ । 

मिदास ई-क्लास २.० मा रजिस्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२