काठमाडौं । यदि तपाईँले एउटा राम्रो क्यामेरा भएको स्मार्टफोन खोजिरहनु भएको छ भने मेगापिक्सेल मात्र नभएर विभिन्न क्यामेरा सेन्सरको बारेमा पनि विचार पुर्याउनुपर्ने हुन्छ । किन भने फोनको क्यामेरालाई उत्कृष्ट बनाउन सेन्सरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
यद्यपि स्मार्टफोनको क्यामेरा इमेज सेन्सरमाथि निर्भर हुने गर्दछ । वास्तवमा इमेज सेन्सरको माध्यमबाट प्रकाश नियन्त्रण गरी डिजिटल फोटो बनाइन्छ ।
यस किसिमको लेन्सका साथै कयौँ अन्य सेन्सर स्मार्टफोनमा राखिएका हुन्छन् । जसले आकर्षक फोटो खिच्न सघाउँछन् ।
के तपाईँलाई थाहा छ, आखिर स्मार्टफोनमा कति प्रकारका क्यामेरा सेन्सर हुने गर्दछन् ? छैन भने पनि चिन्ता नगर्नुहोस् । आज हामी तपाईँलाई तिनै सेन्सरको बारेमा बताउँदै छौँ ।
१. माइक्रो सेन्सरः
माइक्रो सेन्सरले निकै छोटो दूरीमा स्पष्ट फोटो खिच्न सहयोग गर्दछ । माइक्रो सेन्सरलाई म्याक्रो मोडको रुपमा फोनमा उपलब्ध गराइएको हुन्छ ।
यसले करिब दुई सेन्टिमिटरको दूरीबाट फोटो खिच्ने सुविधा दिने गर्दछ । यसबाट गरगहना तथा पातपतिङ्गर, कीरा फट्याङ्ग्रा आदि जस्ता वस्तुको फोटो खिच्न सहज हुन्छ ।
२. टाइम अफ फाइट (टीओएफ) सेन्सरः
टाइम अफ फाइट (टीओएफ) सेन्सरले इन्फ्रारेड लाइटको सहयोगमा सूचना तथा जानकारी हासिल गर्न सघाउँछ । यसको अर्थ कुनै वस्तु कति टाढा छ भन्ने कुराको अन्दाज टीओएफ सेन्सरबाट गर्न सकिन्छ ।
यो सेन्सरको प्रयोग महँगा स्मार्टफोनमा हुने गर्दछ । जसले ब्याकग्राउन्ड डिफोकस इफेक्ट समेत उपलब्ध गराउँछ ।
३. डेप्थ सेन्सरः
डेप्थ सेन्सरको सहयोगमा प्रोफेसनल किसिमका फोटोग्राफरले जस्तै ग्रेड स्टाइल ब्लर फोटो खिच्न सकिन्छ । यसमा अग्मेन्टेड रियालिटी (एआर) प्रयोग गरिएको हुन्छ ।
यस किसिमको सेन्सर सेल्फी क्यामेरा र मेन क्यामेरा दुवैमा राखिएको हुन्छ । यस किसिमको सेन्सर सस्ता स्मार्टफोनहरूमा पनि पाउन सकिन्छ ।
४. टेलिफोटो सेन्सरः
टेलिफोटो सेन्सर क्यामेराको सहयोगमा तपाईँले फोनबाट जुम गर्न सक्नुहुन्छ । यो सेन्सरले तपाईँलाई लामो दूरीमा रहेको चिज तथा वस्तुको फोटो खिच्न सहयोग गर्दछ ।
यो सेन्सर अप्टिकल जुम सपोर्टको साथमा आउने गर्दछ । साथै यसमा डिजिटल जुमको सपोर्ट समेत रहेको हुन्छ ।
५. लिडार सेन्सरः
यो सेन्सरको प्रयोग आईफोन ट्वेल्भ, आईफोन थर्टिन जस्ता प्रो मोडेलमा गरिएको छ । यो टीओएफ सेन्सरकै अर्को रूप हो । यसको प्रयोग सेल्फ ड्राइभिङ कार तथा एरियल म्यापिङ जस्ता प्रविधिमा समेत प्रयोग गरिएको हुन्छ ।
६. अल्ट्रा वाइड सेन्सरः
यो सेन्सरले वाइड फिल्ड अफ भ्यु अर्थात क्यामेरामा फराकिलो क्षेत्रलाई समेट्ने काम गर्दछ । यस किसिमको सेन्सर ९० डिग्री, १२० डिग्री, १५० डिग्री आदिको फिल्ड अफ भ्यु उपलब्ध गराउन सक्छ ।
साधारण शब्दमा भन्दा फोटोमा तपाईँले अतिरिक्त विवरण पाउन सक्नुहुन्छ ।
७. मोनोक्रोम सेन्सरः
मोनोक्रोम सेन्सरले ब्ल्याक एन्ड ह्वाइट अर्थात सादा फोटो खिच्ने काम गर्दछ । यसबाट निकै सुस्पष्ट ब्ल्याक एन्ड ह्वाइट फोटो खिच्न सकिन्छ ।
८. फेस डिटेक्सन अटोफोकसः
यो सेन्सरले फास्ट स्पिडमा कुनै पनि अब्जेक्ट वा वस्तुलाई फोकस गर्न सहयोग गर्दछ । यसको सहयोगमा ढिलो नगरीकन स्पष्ट फोटो खिच्न सकिन्छ ।