close

श्रीलंकामा देशभर कर्फ्यु, सामाजिक सञ्जाल प्रयोग गर्न समेत रोक

टेकपाना टेकपाना

चैत २०, २०७८ १३:२२

श्रीलंकामा देशभर कर्फ्यु, सामाजिक सञ्जाल प्रयोग गर्न समेत रोक

काठमाडौं । श्रीलंकामा बिग्रँदै गएको आर्थिक सङ्कटलाई लिएर विरोध बढ्न थालेपछि त्यहाँकाे सरकारले सामाजिक सञ्जालमा रोक लगाएको छ । सर्वसाधारणले खराब आर्थिक संकटलाई लिएर सरकारलाई दोष दिँदै सामाजिक सञ्जालमा विरोध गर्न थालेपछि सरकारले यो निर्णय लिएको हो ।

श्रीलंकाको विभिन्न ठाउँमा भएका प्रयोगकर्ताले आइतबारदेखि फेसबुक, ट्वीटर, युट्युव, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाल प्रयोग गर्न सकेका छैनन् ।

नेटबलक्स्ले पुष्टि गरेअनुसार आइतबार मध्यरातबाटै विभिन्न इन्टरनेट सेवा प्रदायकले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन थालेका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षले राज्यमा संकटकाल अवस्था घोषणा गरे पश्चात शनिबारदेखि सोमबार बिहानसम्म देशभर कर्फ्यु लागेको थियो ।

त्यस्तै सामाजिक सञ्जालमा आर्थिक सङ्कटका पछाडि राष्ट्रपति जिम्मेवार भएको भन्दै उनको राजीनामा माग गर्दै विरोध प्रर्दशन भइरहेको थियो । यसले गर्दा देशमा सामाजिक सञ्जालबाट चर्को विरोध आइरहेको थियो ।

अत्यावश्यक खाद्यान्न, इन्धन र विद्युत अभावले यस साता जनता आक्रोशित भएका थिए । सोही कुरालाई मध्यनजर गर्दै सर्वसाधारणले चर्को विरोध थालेका हुन् ।

राजापाक्षले गरेको संकटकाल घोषणाले उनलाई सार्वजनिक व्यवस्थाको संरक्षण गर्न, विद्रोह, दंगा वा नागरिक अशान्तिलाई दबाउन वा आवश्यक आपूर्तिहरूको मर्मत सम्भार गर्न व्यापक अधिकार दिन्छ ।

त्यस्तै संकटकालीन अवस्थामा राष्ट्रपतिले जोकसैलाई हिरासतमा राख्ने, सम्पत्ति जफत गर्ने वा परिसर खोज्ने जस्ता अधिकार दिन सक्छन् । त्यस्तै राष्ट्रपतिले संविधान बाहेकका कानूनलाई परिमार्जन वा निलम्बन गर्न पनि सक्नेछन् ।

हाल श्रीलंकाले ठूलो ऋण  दायित्व र घट्दै गएको विदेशी सञ्चितको सामना गरिरहेको छ । खस्किएको आर्थिक सङ्कटले आयातका लागि आधारभूत सामाग्री आपुर्ति समेत गर्न सकेको छैन ।

मानिसहरू ग्यासका लागि लामो लाममा धेरै समय पर्खिरहनु परेको छ । त्यस्तै त्यहाँ इन्धन अभाव र सुख्खा मौसमले पावर प्लान्ट सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा लोडसेडिङ दिनानुदिन बढ्दो छ ।

कोभिड महामारीको दुई वर्षमा श्रीलंका करिब १४ अर्ब डलर नोक्सान गर्‍यो । जसले अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको पुर्‍याएको थियो । श्रीलंकामा अर्बौं ऋण हुनुका पछाडि सरकारले कमाउन नसकिने प्रयोजनमा ठूलो ऋण लिएर लगानी गरेको सर्वसाधारणले आरोप लगाएका छन् ।

यस वर्ष मात्र श्रीलंकाको विदेशी ऋण दायित्व करिव ७ अर्व डलर रहेको छ । प्रायः मध्यम वर्गीय र व्यावसायिक घरानमा व्यक्ति आर्थिक संकटको विषयलई लिएर विरोधका लागि सडकमा निस्किँदैनन् ।

तर, श्रीलंकामा उच्च घरानाका मानिसहरू पनि रातको समयमा क्यान्डिल र पम्पलेट कार्ड बोकेर देशका विभिन्न भागबाट विरोधमा आएका छन् ।

सामाजिक सञ्जालमाथिको रोक अवस्था सामान्य भएपछि फुकुवा हुने अनुमान गर्न सकिन्छ । यद्यपि अहिलेलाई सामाजिक सञ्जालमाथि अनिश्चित कालका लागि रोक लगाइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३