close

बनाउने होइन त आफ्नै स्याटलाइट ?

टेकपाना टेकपाना

चैत २७, २०७८ १५:५२

बनाउने होइन त आफ्नै स्याटलाइट ?

काठमाडौं । आजको दिनमा ‘स्याटलाइट’ अर्थात भू-उपग्रह शब्द सामान्य बनिसकेको छ । ठूला देशले आफ्नो स्याटलाइट अन्तरिक्षमा पठाइरहँदा दुई वर्षअगाडि नेपालले पनि आफ्नो प्रयास गरेको थियो ।

सानै भएपनि नेपाली स्याटलाइट पृथ्वीको कक्षको परिक्रमा गरेर फर्केको थियो । यो घटनापछि धेरै नेपालीहरूको बीचमा स्याटलाइट चर्चाकाे विषय बन्याे ।

स्याटलाइट के हो र स्याटलाइट कसरी बन्छ भन्ने कुरामा धेरै जनाको जिज्ञासा बढ्दै गएपछि अन्तरिक्ष प्रतिष्ठान नेपालले आफ्नो व्यक्तिगत स्याटलाइट बनाउन सकिने तालिमको व्यवस्था गरेको छ ।

स्याटलाइटको विषयमा जान्न चाहने व्यक्ति आफैंले स्याटलाइट बनाएर सिक्ने मौका यो संस्थाले दिन लागेको हो ।

विशेषगरी विद्यार्थीहरूलाई लक्षित गरिएको यो कार्यक्रम अन्तर्गत संस्थाले ‘सस्तो क्युब’ सार्वजनिक गरेकाे छ, जसमा एउटा स्याटलाइट बनाउनका लागि विभिन्न सामग्रीहरू उपलब्ध हुन्छन् ।

उपलब्ध सामग्री प्रयोग गरेर विद्यार्थीहरूले आफ्नै छुट्टै स्याटलाइट तयार गर्न सक्नेछन् । स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरुले ‘सस्तो क्युब’ मा भएको सामग्रीहरू प्रयोग गरेर  स्याटलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भन्ने कुरा सिक्न सक्नेछन् ।

सस्तो क्युबबाट बन्ने स्याटलाइट अन्तरिक्षमा पठाइएको नेपाली भू-उपग्रह ‘नेपालीस्याट-१’  को नमुना हो ।

यो सामग्री ६ कक्षादेखि माथिका विज्ञान विषयमा रुचि हुने विद्यार्थीहरुले स्याटलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भनेर सिक्नको लागि प्रयोग गर्न सकिने प्रतिष्ठानको भनाइ छ ।

यसको पहिलो नमुना राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४