close

सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताको शक्तिः अकुपाई बालुवाटारदेखि बालेनको विजयसम्म

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १२, २०७९ १७:३

सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताको शक्तिः अकुपाई बालुवाटारदेखि बालेनको विजयसम्म

काठमाडौं । अहिले सामाजिक सञ्जालको प्रयोग निकै विस्तार भएको छ । ओबेर्लोका अनुसार २०२२ को सुरुसम्ममा सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या तीन अर्ब ९६ कराेड पुगेको छ । बेला बखतमा आइरहने महामारीले मानिसहरूलाई सामाजिक सञ्जालतर्फ बढी आकर्षित गरेको पाइन्छ ।

कोभिड-१९ को महामारीपछि मात्र करिब तीन वर्षको अवधिमा सामाजिक सञ्जालका प्रयोगकर्ता १६.४७ प्रतिशतले बढ्न पुगेका छन् । विश्वमा कतिपय ठूलाठूला आन्दोलन पनि सामाजिक सञ्जालबाटै सुरु भएका कयौँ दृष्टान्त हामीमाझ छन् । सामाजिक सञ्जालबाटै एकजुट भएर प्रयोगकर्ताहरूले अनेक किसिमका अभियान सञ्चालन गरेका र परिवर्तन ल्याएका तथ्य छन् ।

त्यसको एउटा ज्वलन्त उदाहरण हो, ह्याशट्याग ब्ल्याक लाइभ्स म्याटर (#Blacklivesmatter) । सन् २०१३ मा तीनजना अश्वेत जातिका महिलाले अश्वेत केन्द्रित राजनैतिक इच्छाशक्ति र आन्दोलन थाल्ने परियोजना बनाए । जसलाई ‘ब्ल्याक लाइभ्स म्याटर’ भनियो । यो आन्दोलन सामाजिक सञ्जालमा ‘ह्याशट्याग ब्ल्याक लाइभ्स म्याटर’बाट सुरु भयो ।

यसका पछाडि विकसित अमेरिकाको कुरूप उदाङ्गो पार्ने मनसाय लुकेको थियो । सन् २०१२ मा अमेरिकामा बस्ने अफ्रिकी मूलका १७ वर्षीय ट्रायभोन मार्टिनलाई जर्ज जिम्मेर्मानले गोली हानी हत्या गरे । मिस्सौरीमा माइकल मार्टिन र न्यू योर्कमा एरिक गार्नर मारिएको घटनाले गर्दा सन् २०१४ पछि आन्दोलनले उग्र रूप लियाे ।

मारिने तीनैजना अश्वेत जातिका थिए । त्यसपछि यो आन्दोलन विश्वव्यापी रूपमा फैलियो । घटनाले विशेषगरी अमेरिकामा रहेका अश्वेत जातिप्रति भएको जातीय विभेद छर्लङ्ग भयो । सामाजिक सञ्जालमा विश्वभरबाट ‘ह्याशट्याग ब्ल्याक लाइभ्स म्याटर’ अभियान चल्न थाल्यो । सामाजिक सञ्जालमा चर्चित व्यक्तित्वले त्यसलाई समर्थन गरे ।

आन्दोलनकै कारण सन २०२० मा अश्वेत जातिको मतदाता दर्ता प्रवर्द्धन गर्न सहयोग पुर्‍यायो । त्यस्तै जातीय अन्याय, प्रहरीको क्रूरता, आपराधिक न्याय सुधार, अश्वेत आप्रवासन लगायतका विभिन्न मुद्दाहरूको बारेमा मतदाताहरूलाई शिक्षा दिने काम भयो । ‘ब्ल्याक लाइभ्स म्याटर’ का विभिन्न सामग्री अहिले पनि इन्टरनेटमा फेला पार्न सकिन्छ ।

अश्वेत जाती विरुद्ध कुनै घटना भएका छन् भने अहिले पनि सो समूह सक्रिय हुनेगर्छ । नेपालको हकमा पनि सामाजिक सञ्जालका माध्यमबाट उदाएका आन्दोलनले धेरै परिवर्तन ल्याएका छन् । कसैलाई आर्थिक सहयोग सङ्कलन गर्दा होस् वा कसैका कुनै सामान हराउँदा नै किन नहोस्, सामाजिक सञ्जालमा सहयोगी मनहरू जोडिने गर्दछन् ।

जसमा धुर्मुस सुन्तलीको ‘निर्माण अभियान’ र महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र अग्रपङ्तिमा आउने गर्दछन् । नेपालमा पनि केही वर्षदेखि सामाजिक सञ्जालको शक्ति देखिन थालेको छ । सामाजिक सञ्जालबाटै उठेको आन्दोलनको पहिलो दृष्टान्त हो, सन् २०१२ को ‘अकुपाई बालुवाटार आन्दोलन’ ।

विदेशबाट फर्किएकी एक महिलालाई अध्यागमन विभागका अधिकारीले लुटेर उनलाई बलात्कार गरेका थिए । त्यसबेला नेपालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई एक्लै विदेश पठाउन नमिल्ने नियम थियो । तर महिलाहरू नक्कली पासपोर्ट बनाएर विदेश जाने गर्थे । घटनामा पूर्व भोजपुरकी सीता राई (नाम परिवर्तन) परेकी थिइन् ।

उनका परिवारले न्यायका लागि खुबै हारगुहार गरे । तर, उनीहरूको केही सीप लागेन । त्यसपछि उनीहरूलाई साथ दिन भर्खरभर्खर उदाइरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अकुपाइ बालुवाटार’ आन्दोलन सुरु गरे ।

देश तथा विदेशमा बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट एकीकृत हुँदै महिला हिंसा कम गर्न आवाज उठाउन थाले । बलात्कारीलाई विभिन्न सजायको माग राख्दै उनीहरू फेसबुक र ट्वीटरमा पोस्टहरू राख्न थाले । देशमा त्यस्ता अनेकौँ घटना गुपचुप थिए ।

तर, सीता राईको घटना सामाजिक सञ्जालको दबाबले गर्दा मन्त्रिपरिषद्को बैठकसम्म पुग्यो । सरकारले उनलाई क्षतिपूर्ति स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गर्‍यो ।  तर उनको परिवारले उक्त रकम अस्वीकार गर्‍यो । सीताले न्याय पाउनु पर्छ भन्ने हिसाबले मानिसहरूले बालुवाटार घेराउ गरे ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकार परिवर्तन भयो । त्यसपछि खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन भयो । तर आन्दोलन भने चलिरह्यो । सन् २०१८ मा कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो ।

उनको परिवारले निर्मला बेपत्ता भएको खबर गर्दा समेत प्रहरीले बेवास्ता गरेको थियो । त्यसपछि उक्त घटना सामाजिक सञ्जालमा प्रवेश गर्‍यो । देश विदेशबाट विभिन्न मानिसहरूले सामाजिक सञ्जालमा ‘ह्याशट्याग जस्टिस फर निर्मला’ अभियान चलाउन थाले ।

घटनाले देशमा ठूलै आन्दोलन नै निम्त्यायो । थुप्रै न्याय प्रेमी मानिसहरू आन्दोलित बने । न्यायका लागि चर्को दबाब दिन थाले । जुन विषय सरकारका लागि ठूलो टाउको दुखाईको विषय बन्यो । यद्यपि निर्मला पन्त र उनको परिवारले अझै न्याय पाएका छैनन् ।

सन् २०१९ मा विश्वभर कोभिड महामारी फैलियो । नेपालमा भने यसको असर २०२० पछि देखिन थाल्यो । देशमा कोभिड महामारी तीब्र गतिले फैलिँदो थियो । तर, मानिसहरूमा असुरक्षित क्वारेन्टिनकै जोखिम बढी थियो । त्यस्तै पीसीआर पनि न्यून दरमा भइरहेको थियो ।

सरकारको लापरवाहीले क्वारेन्टिनबाटै कोरोना संक्रमण हुने र मानिसहरूको ज्यान जाने अवस्था उत्पन्न भएको थियो । ‘अति भयो’ भन्दै युवाहरूले सामाजिक सञ्जाल मार्फत ‘इनफ इज इनफ’ अभियान चलाए । त्यसबेला मानिसहरू लामो समयसम्मको निषेधाज्ञा, असुरक्षित क्वारेन्टिन, न्यून पीसीआर परीक्षण र देशका विभिन्न ठाउँमा भएको खाध्यान्न सङ्कटको विरोध गर्दै मानिसहरू सामाजिक सञ्जाल हुँदै मैदानमै उत्रिए ।

कोरोनाको भन्दा सरकारको लापरबाही धेरैका लागि असह्य भयो । त्यसैले त मानिसहरू संक्रमित हुनसक्ने जोखिमलाई बेवास्ता गर्दै बालुवाटार घेर्न पुगे । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता सम्झौता विषयलाई लिएर पनि सामाजिक सञ्जाल गर्मायो ।

सम्झौता संसद्‌बाट पारित हुनुभन्दा एक महिना अघिबाट त्यसलाई अनुमोदन हुनबाट रोक्न सामाजिक सञ्जालबाट चर्को विरोध सिर्जना गरियो । सामाजिक सञ्जाल हुँदै मानिसहरू संसद् भवन घेराउ गर्न जुटे । जसलाई चिर्न सरकार र राजनीतिक दलहरूलाई निकै माथापच्छी गर्नु पर्‍यो ।  

भर्खरै सम्पन्न यस पटकको स्थानीय तहको चुनावमा पनि सामाजिक सञ्जालले ठूलो भूमिका खेल्यो । विशेषगरी स्वतन्त्र उम्मेदवार बालेन साहले सामाजिक सञ्जालकै बलमा काठमाडौं महानगरपालिकाको मेयर बने । उनको  पक्षमा सामाजिक सञ्जालमा मानिसहरूले अनेक अभियान चलाए ।

बालेन साहले काठमाडौंको मेयरका लागि उम्मेदवारीको घोषणा समेत सामाजिक सञ्जालबाटै गरेका थिए । देशको राजनीतिक अवस्थालाई देखेर आक्रोशित जनताले सामाजिक सञ्जालबाटै उनको समर्थन जनाए । बालेनलाई हौसला दिए । चुनावी प्रचार प्रसारमा घरदैलो अभियानभन्दा बढी सामाजिक सञ्जाललाई नै हतियार बनाए । 

पछिल्लो समयमा सामाजिक सञ्जालको शक्ति उपयोग गर्दै एक युवतीले आठ वर्ष अघि आफूमाथि भएको बलात्कार र यौन शोषण विरुद्ध खुल्ने साहस गरिन् । उनले सौन्दर्य प्रतियोगिताका भएको यौन शोषणको वास्तविकता सार्वजनिक गर्न सामाजिक सञ्जाल टिकटकलाई माध्यम बनाइन् ।

उनको २० ओटा टिकटक भिडिओको श्रृङ्खलाले चुनावी माहोललाई नै आफूतिर मोडिदियो । भिडिओ हेर्ने प्रायः सबै सामाजिक सञ्जालबाटै उनको न्यायको पक्षमा आवाज बुलन्द गर्न थाले ।  माइती घरमा प्रदर्शन सुरु भयो । यो विषय संसद्‌सम्म पनि पुग्यो । सभामुख अग्नि सापकोटाले  छानविन गरी कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिए ।

त्यसपछि गत शनिबार प्रहरीले उक्त घटनाका मुख्य आरोपी मनोज पाण्डेलाई स्वयम्भूबाट पक्राउ गर्‍यो । अहिले उक्त घटनाको अनुसन्धान भइरहेको छ । यो घटनासँगै सामाजिक सञ्जालमा बलात्कारको उजुरी गर्न पाउने हदम्यादको विद्यमान कानूनी व्यवस्था परिवर्तन गर्नुपर्ने आवाज समेत उठ्न सुरु भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२