close

इन्टरनेट कम्पनीले प्रयोगकर्तालाई कति मात्रामा दिइरहेका छन् अन्तर्राष्ट्रिय ब्यान्डविथ ?

टेकपाना टेकपाना

जेठ २०, २०७९ १४:२५

इन्टरनेट कम्पनीले प्रयोगकर्तालाई कति मात्रामा दिइरहेका छन् अन्तर्राष्ट्रिय ब्यान्डविथ ?

काठमाडौं । नियमनकारी निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूको सक्रिय ग्राहक सङ्ख्याको विषयमा गरेको अध्ययन प्रतिवेदन टेकपानाले हात पारेको छ । सेवाप्रदायकले देखाउने ग्राहक सङ्ख्याभन्दा वास्तविक ग्राहक सङ्ख्या भिन्न रहेको भन्दै टेकपानाले समाचार प्रकाशित गरेपछि प्राधिकरणले कार्यटोली नै गठन गरेर उक्त अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनले फागुन महिनामा सक्रिय रहेका सेवाप्रदायकको ग्राहक सङ्ख्यासँगै उनीहरूले आयात तथा प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथको विवरण समेत समावेश गरेको छ । जसअनुसार सेवाप्रदायकका सक्रिय ग्राहक सङ्ख्या र आयात भएको अन्तर्राष्ट्रिय ब्यान्डविथलाई आधार बनाएर प्रति प्रयोगकर्तालाई उपलब्ध हुने ब्यान्डविथ समेत उल्लेख छ ।

जसमा सेवाप्रदायकअनुसार एक जना प्रयोगकर्ताका लागि ०.३० एमबीपीएसदेखि   १.१८ एमबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ छुट्याउने गरेको देखिन्छ । प्राधिकरणको अध्ययन प्रतिवेदन अनुसार ग्राहकलाई सबैभन्दा थोरै अन्तर्राष्ट्रिय ब्यान्डविथ दिनेमा नेटम्याक्स रहेको छ ।

आठ हजार ३२८ ग्राहक रहेको यो कम्पनीले एक जना प्रयोगकर्ताका लागि औषत ०.३० एमबीपीएस मात्रै छुट्याउने गरेको छ । यसैगरी प्रति प्रयोगकर्तालाई सबैभन्दा बढी ब्यान्डविथ दिनेमा ब्रोडलिङ्क अगाडि देखिएको छ । उसले औसतमा एक जनालाई १.१८ एमबीपीएस ब्यान्डविथ छुट्याएको प्रतिवेदनमा देखिन्छ ।

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

यस बाहेक ठूला इन्टरनेट सेवाप्रदायकहरूमा वर्ल्डलिङ्कले ०.५८ एमबीपीएस, सुबिसुले ०.५० एमबीपीएस, भायनेटले ०.७३ एमबीपीएस, क्लासिक टेकले ०.५५ एमबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ औसत एक जना प्रयोगकर्तालाई उपलब्ध गराएको देखिन्छ ।

यसैगरी डिश होम फाइबरनेटले ०.६० एमबीपीएस, मर्कन्टाइलले १.१६ एमबीपीएस, वेबसर्फरले १.०६ एमबीपीएस र टेकमाइन्ड्सले ०.८५ एमबीपीएस ब्यान्डविथ प्रति प्रयोगकर्ता छुट्याएका छन् । यस बाहेक सिजीनेटले ०.६० एमबीपीएस, फाइबर  वर्ल्डले १.१४ र फर्स्टलिङ्कले ०.५१ एमबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ दिइरहेका छन् । 

प्रति प्रयोगकर्ताका लागि छुट्याइएको अन्तर्राष्ट्रिय ब्यान्डविथ न्यून देखिए पनि सेवाप्रदायकहरूले उच्च गतिका इन्टरनेट प्याकेजहरू उपलब्ध गराइरहेका छन् । घरायसी प्रयोगकर्ताका लागि उपलब्ध हुने इन्टरनेट शेयरिङमा दिइने र बढी मात्रामा स्थानीय सीडीएनमार्फत लोकल ब्यान्डविथ प्रदान गरिने भएकाले प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट अनुभव गर्न पाइरहेका हुन्छन् ।

कूल लोकल ब्याण्डविथको रुपमा वर्ल्डलिङ्कले ११३५ जीबीपीएस, सुबिसुले ४५० जीबीपीएस, भायनेटले ३१५.४१ जीबीपीएस, क्लासिक टेकले १५३ जीबीपीएस, वेब सर्फरले ३७६ जीबीपीएस, टेकमाइन्ड्सले १७३ जीबीपीएस र ब्रोडलिङ्कले १८४ जीबीपीएस ट्राफिक खपत गरिरहेका छन् ।

यसैगरी लोकल ब्यान्डविथ तथा ट्राफिक खपतमा एरोनेट १७.५ जीबीपीएस, डिशमिडिया १०७.५ जीबीपीएस, सिजीनेट २१.३९ जीबीपीएस, कोननेक्ट नेपाल ४० जीबीपीएस, फाइबर वर्ल्ड ४४ जीबीपीएस, नेटम्याक्स ९ जीबीपीएस र फर्स्टलिङ्कले ४५ जीबीपीएस रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३