इन्टरनेट कम्पनीले प्रयोगकर्तालाई कति मात्रामा दिइरहेका छन् अन्तर्राष्ट्रिय ब्यान्डविथ ?
जेठ २०, २०७९ १४:२५
काठमाडौं । नियमनकारी निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूको सक्रिय ग्राहक सङ्ख्याको विषयमा गरेको अध्ययन प्रतिवेदन टेकपानाले हात पारेको छ । सेवाप्रदायकले देखाउने ग्राहक सङ्ख्याभन्दा वास्तविक ग्राहक सङ्ख्या भिन्न रहेको भन्दै टेकपानाले समाचार प्रकाशित गरेपछि प्राधिकरणले कार्यटोली नै गठन गरेर उक्त अध्ययन प्रतिवेदन तयार पारेको थियो ।
प्रतिवेदनले फागुन महिनामा सक्रिय रहेका सेवाप्रदायकको ग्राहक सङ्ख्यासँगै उनीहरूले आयात तथा प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथको विवरण समेत समावेश गरेको छ । जसअनुसार सेवाप्रदायकका सक्रिय ग्राहक सङ्ख्या र आयात भएको अन्तर्राष्ट्रिय ब्यान्डविथलाई आधार बनाएर प्रति प्रयोगकर्तालाई उपलब्ध हुने ब्यान्डविथ समेत उल्लेख छ ।
जसमा सेवाप्रदायकअनुसार एक जना प्रयोगकर्ताका लागि ०.३० एमबीपीएसदेखि १.१८ एमबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ छुट्याउने गरेको देखिन्छ । प्राधिकरणको अध्ययन प्रतिवेदन अनुसार ग्राहकलाई सबैभन्दा थोरै अन्तर्राष्ट्रिय ब्यान्डविथ दिनेमा नेटम्याक्स रहेको छ ।
आठ हजार ३२८ ग्राहक रहेको यो कम्पनीले एक जना प्रयोगकर्ताका लागि औषत ०.३० एमबीपीएस मात्रै छुट्याउने गरेको छ । यसैगरी प्रति प्रयोगकर्तालाई सबैभन्दा बढी ब्यान्डविथ दिनेमा ब्रोडलिङ्क अगाडि देखिएको छ । उसले औसतमा एक जनालाई १.१८ एमबीपीएस ब्यान्डविथ छुट्याएको प्रतिवेदनमा देखिन्छ ।

यस बाहेक ठूला इन्टरनेट सेवाप्रदायकहरूमा वर्ल्डलिङ्कले ०.५८ एमबीपीएस, सुबिसुले ०.५० एमबीपीएस, भायनेटले ०.७३ एमबीपीएस, क्लासिक टेकले ०.५५ एमबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ औसत एक जना प्रयोगकर्तालाई उपलब्ध गराएको देखिन्छ ।
यसैगरी डिश होम फाइबरनेटले ०.६० एमबीपीएस, मर्कन्टाइलले १.१६ एमबीपीएस, वेबसर्फरले १.०६ एमबीपीएस र टेकमाइन्ड्सले ०.८५ एमबीपीएस ब्यान्डविथ प्रति प्रयोगकर्ता छुट्याएका छन् । यस बाहेक सिजीनेटले ०.६० एमबीपीएस, फाइबर वर्ल्डले १.१४ र फर्स्टलिङ्कले ०.५१ एमबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ दिइरहेका छन् ।
प्रति प्रयोगकर्ताका लागि छुट्याइएको अन्तर्राष्ट्रिय ब्यान्डविथ न्यून देखिए पनि सेवाप्रदायकहरूले उच्च गतिका इन्टरनेट प्याकेजहरू उपलब्ध गराइरहेका छन् । घरायसी प्रयोगकर्ताका लागि उपलब्ध हुने इन्टरनेट शेयरिङमा दिइने र बढी मात्रामा स्थानीय सीडीएनमार्फत लोकल ब्यान्डविथ प्रदान गरिने भएकाले प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट अनुभव गर्न पाइरहेका हुन्छन् ।
कूल लोकल ब्याण्डविथको रुपमा वर्ल्डलिङ्कले ११३५ जीबीपीएस, सुबिसुले ४५० जीबीपीएस, भायनेटले ३१५.४१ जीबीपीएस, क्लासिक टेकले १५३ जीबीपीएस, वेब सर्फरले ३७६ जीबीपीएस, टेकमाइन्ड्सले १७३ जीबीपीएस र ब्रोडलिङ्कले १८४ जीबीपीएस ट्राफिक खपत गरिरहेका छन् ।
यसैगरी लोकल ब्यान्डविथ तथा ट्राफिक खपतमा एरोनेट १७.५ जीबीपीएस, डिशमिडिया १०७.५ जीबीपीएस, सिजीनेट २१.३९ जीबीपीएस, कोननेक्ट नेपाल ४० जीबीपीएस, फाइबर वर्ल्ड ४४ जीबीपीएस, नेटम्याक्स ९ जीबीपीएस र फर्स्टलिङ्कले ४५ जीबीपीएस रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
