close

उपकुलपतिलाई प्रश्नः नासासँग तुलना गर्न लायक छ कि छैन नास्ट ?

टेकपाना टेकपाना

जेठ २०, २०७९ १५:३०

उपकुलपतिलाई प्रश्नः नासासँग तुलना गर्न लायक छ कि छैन नास्ट ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ४० वर्षको इतिहास तय गरिसकेको छ । विगतमा ईमेल भित्र्याउनेदेखि पछिल्लो समय सानै भएपनि स्याटलाइट प्रक्षेपणसम्मको काममा नास्ट जोडिएको छ । जैविक विविधता, जलवायु परिवर्तन, सौर्य ऊर्जा, वायु ऊर्जा लगायतका थुप्रै विषयमा नास्टले अध्ययन अनुसन्धानकाे काम गर्दै आएको छ । तर नास्टले आफ्नो जिम्मेवारी उचित रूपमा बहन गर्न नसकेकोको भन्दै आलोचना पनि भइरहन्छ । यस्तोमा नास्टको परिकल्पना, यसको औचित्य र सञ्चालनमा रहेका विभिन्न परियोजनासँग सम्बन्धित भएर नास्टका उपकुलपति डा‌. सुनिलबाबु श्रेष्ठसँग टेकपानाका लागि रञ्जन कोइरालाले कुराकानी गरेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले नास्ट के गर्दैछ ?

पछिल्लो समय नास्ट विज्ञान प्रविधिलाई समाजसँग जोड्ने हिसाबले काम गरिरहेको छ । समाजमा विद्यमान समस्यालाई समाधान गर्न विज्ञान र प्रविधिको प्रत्यक्ष भूमिका देखिनुपर्छ भन्ने सोचका साथ ‘समाजका लागि विज्ञान र समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ हामी अघि बढेका छौँ ।

यही आधारमा दश ओटा ‘स’ को सिद्धान्त तय गरेका छौँ । त्यसका लागि पहिलो, ‘समाजका लागि विज्ञान’ हो । यसको अर्थ हाम्रो अध्ययन र विकास समाजको समस्या समाधानमा केन्द्रित हुनुपर्छ भन्ने हो । दोस्रो, सङ्घीयता हाे । जसरी देशमा सङ्घीयता लागू भएको छ ।

त्यसैगरी हामी पनि गाउँ, सहर र प्रदेशसम्म पुग्नुपर्छ भनेर कार्यक्रम अघि बढाएका छौँ । यसअन्तर्गत वैज्ञानिक गाउँ भन्ने कार्यक्रम अघि बढेको छ । सहरमा खाद्य हरियाली सहर भन्ने कार्यक्रम अघि बढेको छ ।

हाम्रो सहरलाई दिगो बनाउन आवश्यक छ । यहाँ हरियाली होस् । आवश्यक खाद्य सहर आफैँले उत्पादन गर्न सकोस् । यसकै आधारमा हामीले हाल १६ ओटा नगरपालिकासँग सहकार्य गरेर काम सुरु गरिसकेका छौँ ।

त्यस्तै प्रदेशस्तरमा त्यहाँका लागि आवश्यक अध्ययन र अनुसन्धानको पहिचान गर्न आवश्यक छ । त्यसमा पनि काम भइरहेको छ । प्रदेश सरकारको सहकार्यमा हरेक प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापनाको काम सुरु भएको छ । यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको प्राज्ञ सभाले हामीलाई अनुमति दिएको छ ।

हामीले अध्ययन अनुसन्धान गरेको कुरा जबसम्म बजारमा पुग्दैन, तबसम्म यसको कुनै औचित्य रहँदैन ।

जसअन्तर्गत प्रदेश नम्बर १ मा कृषि र खाद्यको विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना हुनेछ । मधेश प्रदेशमा चुरे संरक्षणका लागि, बागमती प्रदेशमा सहरीकरणभित्र फोहोर व्यवस्थापन, जनसङ्ख्या व्यवस्थापन जस्ता विषयलाई लिएर सहरी वातावरण र विकासमा अनुसन्धान गर्ने विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्रमा मद्दत पुर्‍याउने विशिष्टीकृत अनुसन्धान केन्द्र र लुम्बिनी प्रदेशमा परम्परागत सीप र कलालाई संरक्षण गर्ने गरी अनुसन्धान केन्द्र स्थापना हुनेछ । कर्णाली प्रदेशमा डिजिटल प्रणालीको तयारी भएको छ ।

सूचना प्रविधिमार्फत कसरी ग्रामीण विकास गर्न सकिन्छ भनेर सूचना सञ्चार प्रविधिसँग सम्बन्धित विशिष्टीकृत अनुसन्धान केन्द्र कर्णालीमा सञ्चालनमा आउने छ । सुदूरपश्चिम प्रदेशमा जडिबुटीको निकै ठूलो सम्भावना भएकाले जडिबुटीको अध्ययन अनुसन्धान गर्नेगरी विशिष्टीकृत अनुसन्धान केन्द्र सञ्चालनमा आउने छ ।

यसरी सञ्चालनमा आएका अनुसन्धान केन्द्रले प्रदेशलाई मात्र नभएर देशभर आफूसँग सम्बन्धित विषयको अध्ययन गर्नेछन् । त्यस्तै अर्को ‘स’ भनेकाे सिर्जनशील हो । हामी आर्थिक रुपमा त्यति सक्षम भइसकेको अवस्था छैन ।

तर, पनि सातदोबाटोदेखि गोदावरीसम्म रहेका विज्ञानसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरेर ११ किलोमिटरलाई वैज्ञानिक सहरको रुपमा विकास गर्ने योजना अघि बढेको छ । यसका लागि यहाँका स्थानीय तह, १०-१२ ओटा वैज्ञानिक संस्थाहरूसँग छलफल गरेर गुरु योजना तयार पारिएको छ ।

यो परियोजना अन्तर्गत नास्टले आफ्नो खाली रहेको जमिनमा ‘साइन्स टेक्नोलोजी एण्ड इनोभेसन पार्क’ निर्माण गर्नेछ, जसमा विद्यार्थीहरूको मनोरञ्जनका साथ सिक्नसक्ने अवसर प्राप्त गर्नेछन् । सीमारहित विज्ञान हाम्रो अर्को विषय हो ।

जसमा हामीले विभिन्न देशसँगको सहकार्यमा अनुसन्धानका काम गरिरहेका छौँ । वैज्ञानिकसँग जानकारी आदानप्रदान गर्ने तथा संयुक्त अनुसन्धानका काम भइरहेका छन् । चीनको एग्रिकल्चर र फरेस्टी विश्वविद्यालयसँग जुनकाओ प्रविधि भित्र्याउने गरी सम्झौता भएको छ ।

कोरियन सरकारले इन्फरमेसन एक्सेस सेन्टर, मोबाइल ट्रेनिङ गाडी निर्माण गरिदिएको छ । स्याटलाइटमा पनि जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्य गरेका छौँ । पाँचौमा ‘समस्या समाधान’ हो । समाजमा व्याप्त समस्या समाधानका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ ।

हामीले गाउँमा वैज्ञानिक संस्कृति पनि सिकाउने र त्यहाँ भएका समस्यालाई समाधान गर्नका लागि प्रविधि प्रयोग गर्न सकियोस् भन्ने हो । त्यसको प्रयोग मधेश र गण्डकी प्रदेशका दुई ओटा गाउँबाट सुरु भएको छ ।

यस अन्तर्गत साइन्टिफिक कोलाब्रेसन कार्यक्रम अघि बढेको छ । ‘समावेशिता’ अर्को आधार हो । हामीले महिला वैज्ञानिकहरूलाई विषेश जोड दिएका छौँ । युवा वैज्ञानिकलाई प्लेटफर्म दिन ‘योङ साइन्टिस्ट फोरम’ र महिलाका लागि ‘महिला वैज्ञानिक फोरम’ बनाएका छौँ ।

हामीले विभिन्न वैज्ञानिकहरूलाई सहयोग गरेका छौँ । कतिपय स्टार्टअप आईडियालाई सहयोग गरेका छौँ । यसका साथै विज्ञान प्रविधिसँग सम्बन्धित विभिन्न कार्यक्रम समेत नास्टले गर्दै आएको छ ।

अर्कोतर्फ यतिबेला नास्टको संरचना परिवर्तन गर्न आवश्यक देखिएको छ । भावी पुस्तालाई समेत लक्षित गरेर नास्टको पुनः संरचना गर्ने तयारीमा हामी छौँ । यसका लागि बनाइएको समितिले प्रतिवेदन तयार गरिरहेको छ ।

अर्को हामीसँग साइन्टिफिक डेटाको निकै कमी छ । विभिन्न स्थानमा अनेक अध्ययन भएका छन् । ती अध्ययन अनुसन्धानलाई एकै ठाउँमा ल्याउन आवश्यक छ । त्यस्ता डेटा संकलन र भण्डारण गरि त्यसमा थप अनुसन्धान गरेर अघि बढ्ने योजनामा नास्ट छ ।

त्यसैअन्तर्गत हामीले देश तथा विदेशमा रहेका वैज्ञानिकहरूलाई समेटेर ‘हु इज हु’ तयार पारेका छौँ । जसमा स्नातकोत्तर गरेका सम्पूर्णलाई समेटिएको छ । त्यसै गरि महिला वैज्ञानिकहरूको पनि सूची तयार गर्ने काम भइरहेको छ ।

‘समुन्नति’ अर्को पाटो हो । नास्ट आफैँ पनि कुनै समय भाडाको घरबाट सुरु भएको थियो । आज तीन ओटा आफ्नै ठूला भवन बनाउन सफल भएको छ ।

अब सात ओटै प्रदेशमा नास्टको कार्यालय स्थापना गर्नुपर्नेछ । हालका लागि हामीले प्रदेश अनुरूप विभिन्न शैक्षिक संस्थासँग सहकार्य गरेर सेवा सुरु गरेको छौँ ।

तपाईँले वैज्ञानिक गाउँको विषय उल्लेख गर्नुभएको छ । यसको परिकल्पना कस्तो हो ?

यो विज्ञान समाजसँग जोडिनुपर्छ भन्ने कार्यक्रम अन्तर्गतकै एउटा परिकल्पना हो । आजको गाउँ भोलिको सहर हो । त्यसो हुँदा विज्ञानमा आधारित भएर त्यो गाउँ अघि बढोस् भन्ने हाम्रो परिकल्पना हो ।

हामीले गाउँमा वैज्ञानिक संस्कृति पनि सिकाउने र त्यहाँ भएका समस्यालाई समाधान गर्नका लागि प्रविधि प्रयोग गर्न सकियोस् भन्ने हो । त्यसको प्रयोग मधेश र गण्डकी प्रदेशका दुई ओटा गाउँबाट सुरु भएको छ ।

यी गाउँमा वैज्ञानिक प्रविधिमार्फत च्याउको बिउ उत्पादनका लागि अनुसन्धान ल्याब स्थापना भएको छ । यसका लागि त्यहाँको स्थानीय तहसँग सहकार्य गरेका छौँ । ल्याब स्थानीय तहले नै सञ्चालन गर्ने हो ।

तर, त्यसका लागि आवश्यक ल्याब निर्माण र अन्य सहयोग नास्टबाट भइरहेको छ । यसको उद्देश्य गाउँलाई आत्मनिर्भर बनाउनु पनि हो । यो कार्यक्रम आगामी आर्थिक वर्षमा सबै प्रदेशमा विस्तार गर्ने योजना छ ।

नास्टको संस्थागत संरचना परिवर्तनको कुरा पनि आएको छ । यसको खास तयारी के हो ?

नास्टको संस्थागत संरचना परिवर्तनका लागि प्राज्ञहरूको समिति बनाइएको छ । त्यसको अन्तिम प्रतिवेदन अझै पनि आइसकेको छैन । ४० वर्ष अघि नास्ट सुरु गर्दा विज्ञानको क्षेत्रमा काम गर्ने अर्को कुनै संस्था थिएनन् ।

तर, अहिले धेरै संस्थाहरू यही क्षेत्रमा काम गरिरहेका छन् । निजी क्षेत्र पनि यसमा जोडिएको छ । यस्तो अवस्थामा नास्टले हरेक किसिमको अध्ययन आफैँ गर्ने भन्दा पनि एउटा विशिष्टीकृत अध्ययन गर्दा बढी केन्द्रित हुने र त्यसले बढी प्रभाव पार्न सक्ने परिकल्पना हो ।

उदाहरणका लागि हाल ‘स्पेस’ अर्थात् अन्तरिक्षको कुरा आएको छ । स्पेस प्रविधिमा अन्य संस्थाले काम गर्नसक्ने अवस्था छैन । यसमा नास्ट नै अघि छ । त्यसैले नास्टलाई नेसनल स्पेस टेक्नोलोजी रिसर्च सेन्टर बनाउन सकिन्छ कि भन्ने छ ।

अर्को बायो टेक्नोलोजीमा हाम्रो अलि राम्रो छ । त्यसमा केन्द्रित हुने कि भन्ने हो । यदि यसो हुन सकेको खण्डमा अध्ययन प्रभावकारी हुने थियो ।

अर्को वैज्ञानिक रुपमा प्रमाणित भएका विषयलाई लिएर नीति बनाउन आवश्यक छ । त्यसका लागि वैज्ञानिकहरूलाई जोडेर काम गर्ने किसिमको संरचना बनाउने उद्देश्य पनि छ ।

यो सबैको उद्देश्य हामीसँग जोडिएका सबै वैज्ञानिकलाई पूर्णरूपमा प्रयोगमा ल्याउन सकियोस् र अन्य विश्वविद्यालयको तुलनामा नास्ट फरक होस् भन्ने पनि हो । विश्वविद्यालयले सिकाउने काम गर्छ भने हामीले त्यसलाई कार्यान्वयनमा ल्याउने काम गर्नुपर्छ भन्ने हो ।

सामान्य रूपमा नास्टलाई नासासँग तुलना गरेर हेरिन्छ, वास्तवमा हामी नासासँग तुलना हुन लायक छौँ त ?

नास्ट नेपालको लागि अमेरिकी अन्तरिक्ष संस्था नासा नै हो । किन भने नेपालको विज्ञान प्रविधिको क्षेत्रका लागि यो नै सर्वोच्च निकाय हो । नासाले पनि विभिन्न किसिमको अनुसन्धान गर्ने हो ।

नासाले जसरी विश्वमा विश्वसनीयता कायम गरेको छ, हाम्रो उद्देश्य पनि नास्टलाई त्यसरी नै विश्वसनीय बनाउनु हो । त्यसका लागि समय, लगानी र अनुसन्धान सबैको आवश्यकता छ । यसका लागि पक्कै पनि समय लाग्छ । नासा बन्नका लागि पनि धेरै समय लागेको थियो ।

पक्कै पनि हामीमा कमी कमजोरी होलान् । त्यसलाई सुधार गर्दै जानुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा लगानी हो । सूचना प्रविधिको क्षेत्रमा जति नासामा लगानी हुन्छ, त्यसको नगन्य मात्रामा पनि हामीले लगानी गर्न सकेका छैनौँ ।

तर, पनि हामी परिणाममा आधारित अनुसन्धानको काम गरिरहेका छौँ । त्यसो हुँदा भोलिका दिनमा नास्टले पनि विस्तारै विश्वसनीयता कायम गर्न सक्छ भन्ने हो ।

अर्कोतर्फ अन्तराष्ट्रिय सहकार्य र सम्बन्ध पनि आवश्यक छ । किन भने हामी अझै पनि सिक्ने क्रममै छौँ । बाहिर सिकेको कुरालाई यहाँ आत्मसाथ गर्न सकियो भने पनि धेरै ठूलो उपलब्धि हुनसक्छ ।

नास्ट अन्तर्गत रहेका दुई ओटा सङ्काय विज्ञान र प्रविधि अन्तर्गत हाल के-कस्ता काम भइरहेका छन् ?

नास्टले प्रविधि सङ्कायमा बायो चार्ज, बायो डिजेल, सौर्य ऊर्जा, सोलार परीक्षण, वायु ऊर्जामा काम गरिरहेको छ । यसै अन्तर्गत कोभिड-१९ को समयदेखि ‘सेन्टर फर इनोभेसन पर्स्पेक्टिभ’ भन्ने छुट्टै संस्था गठन गरिएकाे छ ।

जसले कोभिडको समयमा मोबाइल भ्यान बनायो । जुन सरकारका विभिन्न निकायलाई उपलब्ध गराइएको छ । यसै अन्तर्गत अन्तरिक्षसँग सम्बन्धित काम पनि भइरहेको छ । साना हाइड्रोपावरमा समेत हामीले काम गरिरहेका छौँ ।

विज्ञान सङ्काय अन्तर्गत जैविक ऊर्जामा पनि काम भइरहेको छ । सुन्तलामा लाग्ने रोगको पहिचान गर्ने, डीएनए बार कोडिङको काम पनि हामीले गर्दै आएका छौँ । हिमालयन सिड बैंक हामीसँग छ । चुरे कन्जरभेसनमा काम भइरहेको छ ।

रेडियसनमा काम यसै सङ्कायबाट भइरहेको छ । अस्पताललाई ‘टीएनडी कार्ड’ यहाँबाट उपलब्ध गराइरहेका छौँ । सुगन्धित वनस्पतिको पहिचान गर्ने काम पनि भइरहेको छ । च्याउ र यार्सागुम्बालाई ल्याबमा ल्याएर त्यसलाई प्रशोधन गर्ने विषयमा पनि हामीले काम गरिरहेका छौँ ।

नेपालको झण्डा अंकित पहिलो न्यानो स्याटलाइट स्याट–१ को आयु सकिएको छ । स्याट–२ को तयारी के भइरहेको छ ?

नेपाली स्याट-वानबाट हामी हाम्रो उद्देश्य प्राप्त गर्न सफल भएका छौँ । त्यसको निरन्तरताको रूपमा स्याट-२ लाई अगाडि बढाउन आवश्यक छ । त्यसैले पनि यसलाई संस्थागत रूपमै अघि बढाउने तयारी भएको छ ।

नेसनल स्पेस टेक्नोलोजी रिसर्च सेन्टर बनाउका लागि एउटा समिति गठन भएको छ । त्यसले संस्था कस्तो हुने, कति जना कर्मचारी आवश्यक पर्छ, कति बजेट चाहिन्छ, के-के काम गर्ने भन्ने कुरा निर्धारण गर्नेछ ।

समितिले प्रतिवेदन तयार पारेपश्चात त्यसैका आधारमा स्याटलाइटको काम अघि बढ्ने छ । यसै बीच हाम्रा दुईजना वैज्ञानिकहरू विदेशमा गएर पढेर आउनुभएको छ । उहाँहरू हाल ‘डाँफे’ र ‘मुनाल’ भन्ने दुई परियोजनामा काम गरिरहनुभएको छ । जुन नेपालमै स्याटलाइट निर्माण गरेर प्रक्षेपण गर्ने परियोजना हुन् ।

नास्टले अपेक्षाकृत रुपमा  काम गर्न नसेको भनी यसको औचित्यमाथि नै प्रश्न उठिरहेको छ नि ?

तपाईंले सोधेको यो प्रश्नलाई म सहज रुपमा लिन्छु । पक्कै पनि नास्टको औचित्य अनुरूप काम हुन सकेको छैन । किनभने नास्टबाट भएका अध्ययन अनुसन्धान हालसम्म भिजिबल हुन सकेका छैनन् । त्यसैले पनि हामीले १० ‘स’ को परिकल्पना अघि बढाएका हौं । संस्थाको संरचनागत परिवर्तनको कामलाई अघि बढाएका हौं ।

हामीले परिणाममुखी काम गर्न आवश्यक छ । समाजका समस्यालाई समाधान गर्ने किसिमका काम गर्न जरुरी छ । यसैलाई मध्यनजर गर्दै हालका परियोजना अघि बढेका हुन् । यसले भोलिका दिनमा पक्कै पनि नास्टको औचित्यलाई दर्शाउन मद्दत पुर्‍याउने छ ।

नास्टले आफ्नो काम गर्न नसक्दा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा आएको दाबी गरिएको छ । यसलाई कसरी प्रस्ट्याउनु हुन्छ ? 

यदि त्यसो हो भने पनि हामी खुशी नै हुन्छौँ । तर, राष्ट्रिय आविष्कार केन्द्र र नास्टलाई दाँज्न मिल्दैन । हामी राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहित गर्ने संस्था हौँ । हामीले गत वर्ष राष्ट्रिय आविष्कार केन्द्रले गरेको कामलाई कदर गर्दै सम्मान समेत गरेका थियौँ ।

हामी वैज्ञानिकहरूलाई प्रोत्साहित गर्छौँ । किनभने हामी समग्र देशलाई हेर्छौँ । होला हामीमा कमी कमजोरी छन् । तर, त्यसो भन्दैमा नास्टको औचित्य र राष्ट्रिय आविष्कार केन्द्रको औचित्य एउटै हो भन्न मिल्दैन ।

नास्टले अनुसन्धानमात्रै गर्ने, तर उक्त अनुसन्धानले बजारमा जाने अवसर नपाउने अवस्था छ । यसको कारण कतै व्यवसायीसँगको सहकार्यमा कमी त हाेइन ?

पहिलो कुरा त नास्ट नै अध्ययन अनुसन्धान गर्ने संस्था हो । हाम्रो काम व्यावसायिक रुपमा बजारमा उत्पादन ल्याउने होइन । तर, एउटा कुरा के हो भने हामीले अध्ययन अनुसन्धान गरेको कुरा जबसम्म बजारमा पुग्दैन, तबसम्म यसको कुनै औचित्य रहँदैन ।

हामीले ‘इनोभेसन ग्यालरी’ को परिकल्पना गरेका छौँ । जहाँ हामीले गरेको अध्ययन अनुसन्धानलाई व्यवस्थित र संरक्षित रुपमा राखिने छ ।

त्यस हिसाबले हाम्रो अध्ययनलाई उद्योगसँग जोड्न आवश्यक छ । त्यसका लागि उद्योग र हामीबीचमा सहकार्य हुन आवश्यक छ । उद्योगले के खोजिरहेको छ भन्ने कुराका आधारमा अध्ययन गर्न सकियो भने बढी प्रभावकारी हुन्छ ।

त्यसका लागि उद्योग मन्त्रालयसँग सहकार्य गरिरहेका छौँ । जसमार्फत उद्योगसँग छलफल गरेर अघि बढ्ने योजना रहेको छ । अर्कोतर्फ पेटेन्ट दर्ताको पनि समस्या छ । धेरैले पेटेन्टको महत्त्व नै बुझिरहेका छैनन् ।

महत्त्व बुझाएर पेटेन्ट दर्ताका लागि पनि उद्योग मन्त्रालयसँग सहकार्य गरिरहेका छौँ । यसले भोलिका दिनमा उद्योगलाई नास्टसँग र नास्टलाई उद्योगसँग जोड्न थप मद्दत पुर्‍याउने छ । 

नास्ट आफैँले बनाएका प्रोडक्ट विस्तारै गुमनाम हुँदैछन् । उदाहरणका लागि नास्टले बनाएको रोबोटकै कुरा गरौँ । आफैँले बनाएर आफ्नै कार्यालयमा राखेको उक्त रोबोटको संरक्षण र विकास हुन सकेन । कतै नास्ट आफूले अध्ययन गरेर निर्माण गरेका परियोजना संरक्षणमै चुकेको त हैन ?

पक्कै पनि यो प्रश्न जायज छ । हामीले गरेका कतिपय अध्ययनलाई व्यवस्थित गर्न नसक्दा हराउने अवस्था देखिएकाे हाे । त्यसैले पनि हामीले ‘इनोभेसन ग्यालरी’ को परिकल्पना गरेका छौँ । जहाँ हामीले गरेको अध्ययन अनुसन्धानलाई व्यवस्थित र संरक्षित रुपमा राखिने छ ।

जसमा बाहिरबाट आएर भ्रमण समेत गर्न सकिने व्यवस्था हामीले मिलाउने छौँ । हाम्रो प्रविधि सङ्कायको नयाँ भवनमा रहेको केही ठाउँमा यो ग्यालरी निर्माण हुनेछ ।

साथै यहाँ भित्रै एउटा इनोभेसन क्याफेको परिकल्पना पनि भएको छ । जहाँ बसेर कफी खाँदै आविष्कारका कुरा हुनेछन् । वैज्ञानिकहरूले कफी खाँदै सोचेर काम गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३