काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘एम टु एम’ अर्थात् एउटा मसिनबाट अर्काे मसिनबीच सम्पर्क कायम गर्न प्रयोग हुने सिमकार्ड बिक्रीमा रोक लगाएको छ । दूरसञ्चार सेवा प्रदायकलाई पत्र पठाउँदै प्राधिकरणले तत्कालका लागि ‘एम टु एम’ सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको हो ।
पछिल्लो समय मोबाइल नम्बर भेहिकल ट्र्याकिङ, डेटा लगर, इन्टरनेट नभएको ठाउँमा जीपीआरएस वा थ्रीजी सेवाबाट डेटा पठाउन पनि प्रयोग हुन थालेको छ । यसकाे एक उदाहरणका रूपमा नेपाल विद्युत प्राधिकरणले प्रयोगमा ल्याएको स्मार्ट मिटरलाई लिन सकिन्छ ।
विद्युत प्राधिकरणले हाल प्रयोगमा ल्याएको स्मार्ट मिटरलाई कोर सिस्टमसँग सम्पर्क गराउन सिमकार्ड प्रयोग गर्दै आएको छ । त्यसका लागि हाल नेपाल टेलिकमले प्राधिकरणलाई सिमकार्ड उपलब्ध गराएको छ ।
यसरी दूरसञ्चार सेवा प्रदायकको आम्दानीको स्रोतको रुपमा विकास हुँदै आएको नयाँ प्रविधिलाई नियामक दूरसञ्चार प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणले ‘एम टु एम’ र मसिन लर्निङका लागि नम्बरिङ प्लान तय नभएको भन्दै तत्कालका लागि सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको हाे ।
पछिल्लाे समय ‘एम टु एम’ रिमकार्डका लागि आवेदन आउँदासमेत सिमकार्ड बिक्री गर्न नसकेको टेलिकमले जनाएको छ ।
‘हामीले विगत अढाई महिनादेखि ‘एम टु एम’ सिमकार्ड उपलब्ध गराउन सकेका छैनौं,’ नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘प्राधिकरणले सिमकार्ड बिक्रीमा रोक लगाउँदा सम्भावना बाेकेकाे व्यवसायमा असर परिरहेको छ ।’
अर्कोतर्फ प्राधिकरणले भने नम्बर प्लान तय नहुँदा तत्कालका लागि सिमकार्ड बिक्रीमा राेक लगाइएकाे स्पष्टीकरण दिएकाे छ ।
‘हामी नयाँ नम्बरिङ प्लान तयार गर्दै छौं,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘आईओटी र एम टु एमका लागि नयाँ नम्बर हुन्छ कि भनेर अध्ययन भइरहेको छ । यस्तोमा प्राधिकरणले सिमकार्ड बिक्री भएपनि आवश्यक परेको खण्डमा परिवर्तन गर्नसक्ने गरी सिमकार्ड उपलब्ध गराउने सेवा प्रदायकलाई भनेको थियो ।’
स्थापितले अगाडि भने, ‘हाल उपलब्ध रेन्जको नम्बर भोलिका दिनमा सामान्य ग्राहकलाई नै नपुग्नसक्छ । सँगै एम टु एम सिमकार्डलाई फरक बनाउन सकियो भने सहज पनि हुन्छ भन्ने हाम्रो योजना हो । तर, सेवा प्रदायकले दिइसकेको नम्बर परिवर्तन गर्ने प्रक्रिया झन्झटिलो हुने भन्दै त्यसलाई मानेनन् ।’
सेवा प्रदायकले नमानेपछि प्राधिकरणले अर्को व्यवस्था नहुँदासम्म एम टु एम सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको उनकाे भनाइ छ ।
तर, उक्त निर्देशन व्यवहारिक देखिएकाे छैन । किनभने सेवाग्राही ‘एम टु एम’ को लागि सिमकार्ड माग गरिरहेका छन् ।
त्यो हुँदा हामीले यदि सेवा प्रदायकले सेवाग्राहीलाई सिमकार्ड परिवर्तन हुनसक्ने विषयमा हामी आफैं राजी गराउँछौ भनेर सेवाग्राहीसँग कुरा पनि गरेको स्थापितले बताए ।
त्यसरी कुरा गर्दा मान्ने कम्पनीको हकमा हामीले सेवा प्रदायकलाई ‘एम टु एम’ सिमकार्ड उपलब्ध गराउन दिएका छौं ।
प्राधिकरणले यस्तो बताइरहँदा सेवा प्रदायकले भने विगत अढाई महिनादेखि ‘एम टु एम’ सिमकार्डका लागि आवेदन आउँदासमेत सिमकार्ड बिक्री गर्न नसकेको बताएका छन् ।
टेलिकम प्रवक्ता अधिकारीले भने, ‘प्राधिकरणले सिमकार्ड बिक्रीमा रोक लगाएको छ । सिमकार्ड बिक्री गर्नका लागि प्राधिकरणबाट स्वीकृति लिनुपर्ने अवस्था छ । हामीले हाम्रोमा आएको आवदेनका आधारमा प्राधिकरणलाई जानकारी गराएको भएपनि सिमकार्ड बिक्री गर्न सकेका छैनौं ।’
यसअघि प्राधिकरणले ‘एम टु एम’ तथा आईओटी (इन्टरनेट अफ थिंङ्स) लाई नियमन गर्ने प्रक्रिया थालेकाे थियाे । त्यसका लागि प्राधिकरणले नम्बरिङ योजना सहितको ‘आईओटी/एमटुएम नियमन सम्बन्धी कार्यविधि, २०७८’ को मस्यौदा तयार पारेको थियो । उक्त मस्यौदामा हालससम्म पनि अध्ययनको काम भइरहेको जनाइएको छ ।