काठमाडौं । अहिले स्मार्टफोन अत्यावश्यक वस्तु भएको छ, जुन केही वर्षअघि विरलै आवश्यक पर्थ्यो । फोन गर्नका लागि मात्र नभई आफन्त तथा साथीभाइलाई टेक्स्ट गर्न, फोटो खिच्न, कतिपय कार्यालयका काम गर्नसमेत फोनको प्रयोग गरिन्छ ।
झन् इन्टरनेट जोडिएको छ भने त, फोन सिँगारिएकी बेहुलीजस्तै देखिन्छ । सामान्य अर्थमा भन्दा त्यसको प्रयोग झन् बढ्छ ।
उदाहरणका लागि मानौं तपाईंसँग चार्ज कम टिक्ने फोन छ । तपाईं त्यही फोन साथमा लिएर आफ्ना कोही साथीसँग बाहिर घुम्न निस्कनुभयो । फर्किँदा त्यहीँ रात पर्यो । बस्नलाई उपयुक्त ठाउँ छैन । फोनमा चार्ज पनि २५ प्रतिशत मात्र बाँकी छ । त्यहाँ भएका साथीहरू कसैसँग पनि पावर बैङ्क छैन ।
त्यसैमा तपाईंले फोनलाई लाइटका रूपमा प्रयोग गरिरहनु भएको छ, जसले गर्दा फोनको चार्ज तीव्र रूपमा घटिरहेको छ । घर फोन गर्ने वा एप खोलेर राइडरलाई बोलाउने चार्ज पनि छैन ।
अनुमान लगाउनु त यस्तो बेला तपाईंको हालत के होला ? हामीले सिकाएको यो टिप्स पालना गर्नुभयो भने तपाईंले ब्याट्री चाँडै सकिने सकिने कुराको तनाव लिइरहनु पर्दैन ।
एपहरू फोर्स क्लोज गर्ने
तपाईंले कुनै पनि एप प्रयोग गरेर अर्को एपमा शिफ्ट हुँदा पहिले पहिले प्रयोग गरेको एप पूर्ण रूपमा बन्द गर्नु हुँदैन होला । हामी प्रायः कुनै अर्को एपमा सिफ्ट हुँदा पहिले प्रयोग एपका बारेमा खासै वास्ता गर्दैनौं ।
कुनै पनि एप बन्द नगर्दा त्यसले ब्याकग्राउन्डमा बढी चार्ज खपत गरेको हुन्छ । तपाईंले कुनै पनि एप एकपटक प्रयोग गरेर अर्कोपटक प्रयोग नगर्नु पर्ने अवस्था आयो भने सो एपलाई क्लोज गर्न सक्नुहुन्छ ।
त्यस्तै तपाईंले ब्याकग्राउन्डमा चलिरहेका हुनै पनि एपलाई फोर्स क्लोज गर्नका लागि बीचको की (मल्टिटास्किङ की) मा थिची क्रस मार्कमा ट्याप गर्नुभयो भने ब्याकग्राउन्डमा भएका सबै एप हराउँछन् ।
फोनको ब्राइटनेस घटाउनुहोस्
ब्याट्री खपत गर्ने अर्को प्रमुख कारक हाे, ब्राइटनेस । फोनको चार्ज लामो समयसम्म टिकाइरहन तपाईंले ब्राइटनेस घटाएर प्रयोग गर्ने बानी बसाउनुपर्ने हुन्छ । झन् बाहिर कतै गएको छ र चार्ज छिटो घटिरहेको छ भने बुझ्नुस्, तपाईंको ब्राइटनेस आवश्यकभन्दा बढी छ ।
अनावश्यक फिचरहरू बन्द गर्नुहोस्
ब्याट्री खपत हुनुमा केही भूमिका फोनको फिचरको पनि हुने गर्छ । तपाईंले फोनका केही फिचरहरू आवश्यक नहुँदा पनि अञ्जानमा प्रयोग गरिरहनु भएको हुनसक्छ । विशेषगरी वाई-फाई, ब्लुटुथ, मोबाइल डेटा, लोकेसन, अटो सिंकजस्ता फिचरले पनि ब्याट्री निकै खपत गरिरहेका हुन्छन् ।
वाई-फाई, ब्लुटुथ, मोबाइल डेटा, लोकेसनलाई अन राखेको खण्डमा यिनीहरूले आफ्नै तरिकाले काम गरिरहेका हुन्छन् । जुन तपाईंलाई त्यसबेला केही आवश्यक नभएका हुन् । त्यसैले तपाईं कतै जानुभयो र त्यहाँ ब्याट्री बचाउनुपर्ने अवस्था आयो भने तपाईंले यी फिचरहरू बन्द गर्नुहोला ।
अल्ट्रा पावर सेभिङ मोडको प्रयोग
तपाईंको चार्ज कम हुँदै गइरहेको छ । वा मानौं १० देखि १५ प्रतिशतको बीचमा छ । तपाईंलाई सो फोन केही अति आवश्यक कामका लागि मात्र प्रयोग गर्नु छ । यस्तो अवस्थामा तपाईंले अल्ट्रा पावर सेभिङ मोडको प्रयोग गर्न सक्नुहुन्छ ।
यसले तोकिएका केही एपबाहेक अन्यलाई ब्याकग्राउन्ड वा फोरग्राउण्डमा चल्न प्रतिबन्ध नै लगाइदिएको हुन्छ । तपाईंले अल्ट्रा पावर सेभिङ मोड प्रयोग गरिसकेपछि केही आधारभूत फिचरहरू प्रयोग गर्न सक्नुहुन्छ ।
यसमा तपाईंले ६ वटा अन्य विभिन्न एपहरू छान्न सक्नुहुन्छ । तपाईंले छानेका एप वाई-फाईबाट वा डेटा जुन प्रयोग गरेर पनि एप चलाउन सक्नुहुन्छ ।