close

पब्जी टिम ‘ज्यानमारा’ को संघर्षको कथा

टेकपाना टेकपाना

असार २, २०७९ १८:५०

पब्जी टिम ‘ज्यानमारा’ को संघर्षको कथा

काठमाडौं । नेपालको ई-गेमिङ क्षेत्रमा ज्यानमारा नाम परिचित छ । यो नाम पब्जी मोबाइल गेमसँग सम्बन्धित छ, जसले व्यावसायिक रूपमा पब्जी खेलेरै देशविदेशमा आफ्नो उपस्थिति जमाइरहेको छ ।

पब्जी माेबाइल गेम विश्वमा पहिलाे पटक २०१७ काे मार्चमा सार्वजनिक भएको थियो । सोही वर्षको अन्त्यतिर नेपालमा पनि याे गेम भित्रियाे । विदेशमा जस्तै नेपालमा पनि पब्जी गेम उत्तिकै लोकप्रिय बन्यो, विशेषगरी युवा जमातमाझ ।

झापाका युगिन सम्बाहाम्फे लिम्बु पनि सुरूका दिनमा साथीभाइसँग पब्जी खेल्ने गर्थे । पब्जी नेपालमा भित्रिएको केही महिनामै उनी एमबीए अध्ययनका लागि अष्ट्रेलिया गए ।

अष्ट्रेलिया पुगेपछि त उनी झनै पब्जी खेल्न थाले । युगिन पढाइ र कामपछिको खाली समय सबै पब्जी खेलमै बिताउँथे ।

देश र आफन्तदेखि टाढा विदेशमा बसिरहेको बेला पब्जीमार्फत दाजुभाइ र साथीसँग जोडिन पाउँदा उनलाई नेपालमै भएको महसुस हुन्थ्यो । पब्जी खेलमा उनी यति धेरै रमाउन थाले कि, काम वा कलेजबाट फर्किरहँदा गाडीमा समेत पब्जी नै खेलिहरेका हुन्थे ।

उनी ‘ज्यानमारा स्पोर्ट्स’ को नामबाट ब्याटल ग्राउण्डमा उत्रिन थाले । पब्जी गेमिङ तथा ईस्पोर्ट्समा रुचि राख्नेहरुका लागि पक्कै पनि यो नाम नौलो होइन ।

२०१८ तिर बनेको टिमलाई युगिनले ‘ज्यानमारा’ नाम दिए । तर पब्जीमा दर्ता गराउन ज्यानमारा नाम एकदमै आक्रामक सुनियो । गेमको प्रकृतिअनुसार नाम त सुहाउँदाे नै थियो ।

तर यसको शाब्दिक अर्थ भने हिंसात्मक थियो । यसैले गर्दा दर्ता प्रक्रियामै अप्ठ्यारो आउने देखेपछि युगिनले टिमको नाम ‘ज्यानमारा’ बाट ‘जेएम स्पोर्ट्स’ मा परिवर्तन गरिदिए ।

पब्जी गेम खेलिरहँदा युगिनको समय रमाइलोमा मात्र बितिरहेको थिएन । उनले आफूजस्तै पब्जी खेलमा लाग्नेहरुको जमात पनि फेला पारेका थिए । र, त्यसभित्रबाटै एउटा बलियो टिम पनि तयार पारिसकेका थिए ।

यही टिमले पब्जीका स्थानीय हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो बलियाे उपस्थिति देखाइरहेकाे छ । आज उनै युगिनले टेकपानासँग सुनाएको ‘ज्यानमारा’ टिमको संघर्षको कथा यो भिडिओमार्फत् प्रस्तुत गर्दैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३