close

ह्वाट्सएप, भाइबर वा कलसेन्टरमा नाम टिपाउँदा नर्भिकको युरोलोजी ओपीडी निःशुल्क

टेकपाना टेकपाना

असार २३, २०७९ १७:२४

ह्वाट्सएप, भाइबर वा कलसेन्टरमा नाम टिपाउँदा नर्भिकको युरोलोजी ओपीडी निःशुल्क

काठमाडौं । ह्वाट्सएप, भाइबर वा कल सेन्टरमा नाम टिपाएकै भरमा नर्भिक अस्पतालमा युरोलोजीको ओपीडी सेवा निःशुल्क प्राप्त गर्न सकिने भएको छ । अस्पतालले विशेष अभियान अन्तर्गत यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ सम्पर्क गर्न तथा ९८८०८८८००० नम्बरको ह्वाट्स वा भाइबरबाट आफ्नो नाम अग्रिम रूपमा टिपाउनुपर्ने छ । यद्यपि यो निःशुल्क सेवा आउँदो  शनिवार अर्थात असार २५ गतेका लागि मात्र उपलब्ध हुने बताइएको छ ।

नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी सेवा यसमै केन्द्रित गरेको हो । यूरोसर्जरी विशेषज्ञ द्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा दिनेछ ।

यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ ।

शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञ द्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको व्यवस्था समेत गरिएको उल्लेख छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, यो अस्पतालमा दूरबिनको माध्यमबाट घाउ बनाइकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्युमरको समेत उपचार हुने गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३