काठमाडौं । प्रयाेगकर्ताकाे हिसाबले क्राेम विश्वकै नम्बर एक ब्राउजर हाे । तर धेरैलाई याे ब्राउजरमा हुने एक्सटेन्सनबारे जानकारी छैन । आज हामी तपाईंका लागि उपयाेगी केही एक्सटेन्सनका बारेमा जानकारी दिँदैछाैं ।
वास्तवमा ब्राउजर एक्सटेन्सन भनेको ब्राउजरको प्रयोगलाई अझ सुमधुर बनाउन यसमा थप गर्न मिल्ने सफ्टवेयर फिचर हुन् । यी एक्सटेन्सनले तपाईंलाई अतिरिक्त सुविधा र फिचर प्रदान गर्छन् ।
यदि तपाईं आफ्नो ब्राउजरलाई एड्भान्स लेभलको बनाउन चाहनुहुन्छ भने एक्सटेन्सन प्रयाेग गर्न सक्नुहुन्छ ।
स्क्राइब एउटा त्यस्तो एक्सटेन्सन हो, जसकाे माध्यमबाट तपाईंले निःशुल्क स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ । यो एक्सटेन्सनले स्वतः तपाईंले रेकर्ड गरेको भिडिओलाई स्टेप-बाई-स्टेप गाइड गरेर राख्ने गर्छ ।
यसलाई कुनै पनि भिडिओको ट्युटोरियल बनाउन, वा कसैलाई कुनै कुराको जानकारी भिडिओमार्फत् दिन छ भने यो एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।
सिमिलर साइट एउटा त्यस्तो एक्सटेन्सन हो, जसका माध्यमबाट तपाईंले उस्तै किसिमका विभिन्न साइटहरू देख्न सकिन्छ । उदाहरणका लागि तपाईंले क्रोममा टेकपाना सर्च गर्नुभयो भने यो एक्सटेन्सनका माध्यमबाट प्रविधिसँग सम्बन्धित अन्य वेबसाइटहरू पनि देख्न सक्नुहुन्छ ।
यो एक्सटेन्सन विशेषगरी कुनै कुराको अध्ययन गर्दा प्रयोग गर्न सकिन्छ । जसले गर्दा कुनै वेबसाइटमा तपाईंले फेला पार्नुभएका अपुग सामग्री उस्तै वेबसाइटमार्फत फेला पार्न सकिन्छ ।
अनलाइन खरिद गर्दा, कुनै कन्टेन्ट तयार पार्दा, यात्रा गर्दा वा केही कुराको खोज गर्दा यो एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।
कुनै पनि वेबपेजको पूरा स्क्रिनशट लिनु छ भने गो फुलपेज एक्सटेन्सन प्रयोग गर्न सकिन्छ । स्क्रिनशट लिएको फोटोलाई इडिट गर्न, पीडीएफ र पीएनजी वा जेपीजीका रूपमा डाउनलोड गर्न सकिन्छ ।
यो एउटा त्यस्तो एक्सटेन्सन हो, जुन लेखकका लागि निकै उपयुक्त हुनसक्छ । यसकाे माध्यमबाट कुनै पनि लेखको हेडलाइन तुरुन्तै निर्माण गर्न सकिन्छ ।
यसले तपाईंले राखेको हेडलाइनभन्दा केही उपयोगी र आकर्षक हेडलाइन सुझावका रूपमा देखाउँछ । साथै कुनै पनि लेख लेख्दा आकर्षक शब्दहरू सुझावका रूपमा उपलब्ध गराउँछ ।
कलर जिल्ला एउटा त्यस्तो एक्सटेन्सन हो, जसकाे माध्यमबाट कुनै पनि वेबसाइटमा भएको पिक्सेलको कलर पिक गर्न सकिन्छ ।
पिक गरेको कलर कोडलाई आफ्नो आवश्यकता अनुसार फोटोशप वा सीएसएस कोड कपी गरेर वेबसाइटमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै यसमा आफ्नो आवश्यकता अनुसार ग्रेडियन्ट (विभिन्न कलरको मिश्रण) निर्माण गर्न सकिन्छ ।
तपाईंलाई कुनै पनि वेबसाइटमा प्रयोग भएको फन्ट कुन हो भन्ने जान्न मन लागेको छ भने फन्ट्स निन्जा एक्सटेन्सन प्रयोग गर्न सक्नुहुन्छ ।
यसले सो वेबसाइटमा भएका शब्दको फन्ट कुन हो, उनीहरूको आकार कति छ, शब्द-शब्दको दूरी कति छ, लाइनको आकार कति छ र त्यसको कलर कुन हो भन्ने कुरा जानकारी पाउन सकिन्छ । त्यस्तै त्यहाँ भएका फन्ट विभिन्न एप्लिकेसनमा प्रयोग गर्न सकिन्छ ।
ग्रामर्ली धेरैले जानेको वा सुनेको एप हुनसक्छ । के तपाईंलाई थाहा छ? ग्रामर्लीको ब्राउजर पनि रहेको छ । यसका माध्यमबाट कुनै पनि पेजमा सोझै अङ्ग्रेजी शब्दको व्याकरण, स्पेलिङ आदि सच्याउन सकिन्छ ।
साथै यसकाे माध्यमबाट व्याकरण शुद्ध भएको, तर अस्पष्ट वाक्यलाई स्पष्ट बनाउन सकिन्छ ।
रेस्पोन्सिभ भ्युअर डेभलपरका लागि उपयुक्त एक्सटेन्सन हो । यसका माध्यमबाट कुनै पनि वेबसाइटको डिजाइन परीक्षण गर्न सकिन्छ । यसको प्रयोग गरी कुनै वेबपेजलाई एउटै स्क्रिनमा फरक-फरक आकारमा हेर्न सकिन्छ ।
त्यस्तै यो एक्सटेन्सन बग (सुरक्षा कमजोरी) पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । यदि तपाईं वेबसाइट वा ल्यान्डिङ पेज बनाउनु हुन्छ भने यो एक्सटेन्सन तपाईंका लागि उपयोगी हुनसक्छ ।
बिट्ली एउटा त्यस्तो एक्सटेन्सन हो, जसकाे माध्यमबाट कुनै पनि लिङ्कलाई छोटो बनाउन सकिन्छ । यदि कुनै पनि समाचार वा कुनै पोस्टको लिङ्क लामो छ भने त्यसलाई बढी ठाउँ आवश्यक पर्छ वा भनौँ प्रोफेसनल देखिँदैन ।
त्यस्ता लिङ्क सम्झन पनि गाह्रो नै हुन्छ । त्यसैले कुनै पनि लिङ्कलाई छोटो बनाउनु छ भने तपाईंले बिट्लीको प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईंले यसको पेड भर्जन प्रयोग गर्नुभयो भने आफ्नो डोमेन नेम पनि एड गर्न सक्नुहुन्छ ।