close

पाइथनबाट इथिकल ह्याकिङ सिक्न चाहनुहुन्छ ? यस्ता छन् उत्कृष्ट १० प्लेटफर्म

टेकपाना टेकपाना

साउन ७, २०७९ १८:३४

पाइथनबाट इथिकल ह्याकिङ सिक्न चाहनुहुन्छ ? यस्ता छन् उत्कृष्ट १० प्लेटफर्म

काठमाडौं । इथिकल ह्याकिङ भनेको पनि एक प्रकारको साइबर आक्रमण हो, जसले प्रणालीमा भएको समस्या पत्ता लगाएर त्यसलाई सुधार्ने काम गर्छ । धेरै देशमा राज्यकै संरक्षणमा इथिकल ह्याकिङका गतिविधिलाई प्रोत्साहन दिने गरेको पाइन्छ ।

सरकारी, निजी कार्यालयहरूमा पनि कार्यालयको प्रणालीको संरक्षणका लागि इथिकल ह्याकिङको अभ्यास गर्ने चलन छ । यस्ता विविध कारणले गर्दा पछिल्लो समय युवावर्गमाझ इथिकल ह्याकिङ निकै नै चर्चित बन्दै गइरहेको छ । अनि इथिकल ह्याकिङको लागि सबैभन्दा बढी प्रयोग हुने प्रोग्रामिङ ल्याङ्ग्वेज हो ‘पाइथन’ ।

कर्पोरेट सर्भर परीक्षण गर्ने देखि लिएर सम्भावित चुनौतीहरू पहिचान गर्ने र स्वत रुपमा ह्याकिङ प्रक्रियालाई अगाडि बढाउने लगायत विविध कामहरू गर्नको लागि पाइथन प्रयोग गरिन्छ ।

बजारमा पाइथन सिक्नका लागि धेरै भिडिओ, लेखलगायत अन्य सामग्रीहरू छन् । यहाँ पाइथन सिक्न उत्कृष्ट १० अनलाइन प्लेटफर्मको बारेमा उल्लेख गरिएको छ । 

१. युडेमी (Udemy) – पाइथन र इथिकल ह्याकिङ सिक्ने प्लेटफर्म

युडेमीमा १७० भन्दा बढी पाइथन प्रोग्रामिङ र इथिकल ह्याकिङसँग सम्बन्धित भिडिओहरू उपलब्ध छन् ।

ह्याकिङको विषयमा केही पनि नजानेको ‍व्यक्तिको लागि पनि यहाँ सुरुदेखि पढ्न सकिनेगरी सामग्रीहरू भेट्न सकिन्छ । यसमा ह्याकिङ के हो देखि लिएर कसरी प्रयोग गर्नेसम्मका सामग्रीहरू भेट्न सकिन्छ ।

२. स्टेसन एक्स (StationX) – ह्याकिङ र साइबर सेक्युरिटिको विषयमा एकैठाउँमा सिक्ने प्लेटफर्म 

स्टेसन एक्सले एकैपटकमा तीनवटा कोर्षहरू डिजाइन गरेको छ, जसले पाइथन सिकेर साइबर सुरक्षाको क्षेत्रमा काम  गर्न सक्ने सम्मको ज्ञान र सिप सिकाउन मद्दत गर्छ ।

यो प्लेटफर्ममा ३६ घण्टाको भिडिओ लेक्चरहरू छन् । प्लेटफर्ममा सैद्धान्तिक र व्यावहारिक दुवै कोर्ष भेट्न सकिन्छ, जसले सैद्धान्तिक रुपमा बुझेर व्यावहारिक रुपमा काम गर्न सिकाउँछ ।

अन्य विविध अनावश्यक सामग्री भन्दा यसमा ठ्याक्कै आवश्यक सामग्रीमात्र समावेश गरिएको छ । 

३. साइब्ररी (Cybrary Python) – पाइथन सिक्ने प्लेटफर्म 

यदि तपाईलाई कोडिङको विषयमा केही पनि थाहा छैन र तपाईंमात्र पाइथन भनेको के हो भनेर जान्न चाहनुहुन्छ भने यो प्लेटफर्म तपाईंको लागि सहयोगी हुनसक्छ ।

साइब्ररीमा पाइथनमा मात्र केन्द्रित भएर तयार पारिएका सामग्री उपलब्ध छन् । प्रशिक्षक  जो पेरीले सामान्य भाषामा पाइथनको परिचयात्मक कोर्ष तयार गरेको छ, जसले पाइथनको विषयमा विशिष्टिकृत भएर सिक्न मद्दत गर्छ । 

४. साइब्ररी (Cybrary) – पाइथन प्रयोग गरेर इथिकल ह्याकिङ सिक्ने प्लेटफर्म 

साइब्ररीकै अर्को कोर्षमा भने इथिकल ह्याकिङको लागि पाइथन कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारीहरू समेटेर एउटा कोर्ष तयार गरिएको छ ।

यसमा पाइथन प्रयोग गरेर इथिकल ह्याकिङको टुलहरू कसरी विकास गर्न सकिन्छ भनेर पनि सिकाइएको छ ।

केही सीमित भिडिओहरू मात्र भएका कारण यो कोर्ष धेरै लामो छैन । पाइथन बुझिसकेकाहरूको लागि यो कोर्ष निकै नै उपयोगी हुन्छ । 

५. साइबर ट्रेनिङ ३६५ (cyber training 365) – पाइथन र इथिकल ह्याकिङ सिक्ने प्लेटफर्म

यो प्लेटफर्ममा मात्र ८ घण्टाको भिडिओ उपलब्ध छ, जसमा पाइथन र इथिकल ह्याकिङको विषयमा सिक्न सकिन्छ ।

यसमा पाइथनको आधारभूत कुराहरू जस्तो कि भेरियबल, स्टेटमेन्ट तथा डिक्सनरी प्रयोग गरेर कोडिङ गर्ने कुराहरू सिकाइएको छ ।

साथै इथिकल ह्याकिङसँग सम्बन्धित ट्युटोरियल कोर्ष पनि उपलब्ध छ ।

६. युडेमी: पाइथन थ्री फर अफेन्सिभ पेनटेस्ट (Udemy: Python 3 for offensive pentest)- प्राक्टिकल कोर्ष 

यो युडेमीमा नै उपलब्ध फरक कोर्ष हो, जसमा प्राक्टिकल कोर्षहरू मात्र उपलब्ध छन् । यो एड्भान्स प्रयोगकर्ताका लागि मात्र हो ।

पाइथन र कोडिङको विषयमा केही थाहा पाइसकेका प्रयोगकर्ताहरूको लागि यो कोर्ष तयार गरिएको हो । यसमा आफूले गर्नुपर्ने काम दिइएको छ । 

७. युडेमी (udemy): पाइथन नेटवर्क प्रोग्रामिङ 

नेट एप र ह्याकिङ टुलसँग मात्र सम्बन्धित भएर युडेमीको अर्को कोर्ष पाइथन नेटवर्क पनि उपलब्ध छ । यो पनि पाइथन केही नजानेका सुरुवातीकर्ताका लागि तयार गरिएको कोर्ष हो ।

यो कोर्ष धेरै लामो छ । यसले पाइथन, कोडिङ, प्रोग्रामिङ लगायतका कुराहरू विस्तारमा एक/एक गरेर सिकाउँछ । यो कोर्ष सिकेपछि पाइथन थ्रीको कोर्षमा अपग्रेड हुन पनि सहज हुन्छ । 

८. माइन्डस्म्याप्ड (MindsMapped) – इथिकल ह्याकिङको लागि पाइथन 

यो प्लेटफर्ममा दुईवटा भागमा कोर्सलाई विभाजन गरेर प्रस्तुत गरिएको छ । ह्याकर्सप्लोइट नामक साइबरसुरक्षा कम्पनीका संस्थापक यस प्लेटफर्मका प्रशिक्षक हुन् ।

यो प्लेटफर्ममा पहिलो भागमा पाइथनको विषयमा जानकारी दिइएको छ भने दोस्रो भागमा सकेट बुझ्ने देखि लिएर अन्य एडभान्स कुराहरू सिकाइएको छ  । 

९. कोर्सेरा (Coursera) – विशिष्टिकृत पाइथन 

कोर्सेरामा उपलब्ध यो कोर्समा प्रोग्रामिङको आधाभूत अवधारणा, डेटा स्ट्रक्चर, नेटवर्क एप्लिकेसन प्रोग्राम इन्टरफेर, डेटाबेस लगायतका विषयहरू पाइथन प्रयोग गरेर कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतको कुराहरू सिकाइएको छ । 

१०. युडेसिटी (Udacity) – पाइथन प्रयोग गरेर एप निर्माण 

यो प्लेटफर्ममा हजारौं मानिसले प्रयोग गर्ने एप्लिकेसनहरू कसरी विकास गर्न सकिन्छ भनेर सिकाइएको छ । एप इन्जिन लगायतका विषयहरूमा जानकारी भएको यो प्लेटफर्म डेभलपर बन्न इच्छुक व्यक्तिहरूका लागि निकै उपयोगी हुन्छ । 

एनलाइटिक् इनसाइटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३